बाल पढाइको मन्त्र
कनक दीक्षित

सञ्चारकर्मी विनय कसजूले भर्खरै बालबालिकामा पढ्ने बानीको विकास भन्ने पुस्तिका निकालेका छन्। बाल साहित्यका हस्ती, इन्फर्मेशन टेक्नोलजीका जुझारु र हाल राष्ट्रिय सूचना आयोगका अध्यक्ष हुन्― पाल्पाली पत्रकार विनय कसजू। भर्खरै मात्र प्रकाशित कृतिमा उनले आफ्नो कहलिएको सरल प्रस्तुतिमा थोरै पानामा मुलुकको लागि अति महत्वपूर्ण विषयमाथि अनुसन्धान गरेर लेखेका छन्।

किताबको विषयवस्तु साधारण छ― बालबालिकाको मस्तिष्क विकासको लागि पढ्ने बानीको प्रोत्साहन गर्नुको महत्व। बाल शिक्षा नीतिको अत्यन्त महत्वपूर्ण पाटो हो यो, जसबारे शिक्षाविद्हरूले धेरै अघिदेखि भन्दै आएका छन्, तर नेपाली अभिभावक तथा गुरुआमा र गुरुबाहरूसामु पुगेको छैन। बालकका लागि आमाको दूध खाने बेलादेखि नै पढाइको आवाज उसको कानमा पारेको र तस्बीर हेर्न सक्ने भएपछि तस्बीर देखाउँदै आमाबाबुले टेक्स्ट पढेर सुनाएको राम्रो। यसरी काखे बच्चादेखि नै किताब पढेको सुनेर विकास हुने उत्सुकता र अभ्यासले बालकमा पढ्ने बानी बस्दछ, उसको संसार फराकिलो हुन्छ र दिमाग सिर्जनशील बन्छ।

एउटा बालकमा सानैदेखि पढेर सुनाउने र पढ्ने बानी लगाउने हो भने उसले स्कूलमा राम्रो गर्छ, कमजोर शिक्षण बावजूद आफूलाई स्व-पढैया भएर माथि उठाउँछ। किताब पढ्ने बानीले कुनै पनि बालकलाई लाइफ लङ लर्नर्स अर्थात् जिन्दगीभर जिज्ञासु बनाइदिन्छ। बाल मस्तिष्कको विकाससँग सम्बन्धित यी सबै अत्याधुनिक विचारलाई विनय कसजूले सरल शैलीमा पेश गरेका छन्। यति महत्वपूर्ण प्रस्तुतिमा पढैयाको बढप्पन र क्लिष्टता होइन, मात्र सर्वसुलभ लेखन पाइन्छ।

शिशुका बाआमालाई कसजू गुहार्दछन्, पसल या पुस्तकालयबाट उमेर अनुसारको सामग्री ल्याउन र बच्चा स्वयं पढ्न सक्ने नभएसम्म आफैंले पढिदिन। बच्चाले पढेको कुरा बुझने नहुँदै पनि पढेको सुनेको राम्रो भन्ने वैज्ञानिक रूपले प्रमाणित तरिका हो। यसबारे कसजू लेख्छन्: “शब्दहरू केटाकेटीका दिमागभित्र घुसाउने र उसको दिमागमा शब्दभण्डार भर्ने दुइटा मात्रै बाटा छन्: १. आँखाबाट र २. कानबाट। केटाकेटीले अक्षर पढ्न जान्नका लागि झ्ण्डै चार वर्ष लाग्ने हुनाले आँखाबाट शब्द घुसाउन चार वर्ष पर्खनुपर्छ। यसैले केटाकेटीको दिमागमा शब्दभण्डार भर्ने सबैभन्दा राम्रो तरिका कानबाट घुसाउने हो। शिशुले नयाँ शब्द सुन्दा उसले सुनेको शब्दको अर्थ नबुझे पनि सुनेको शब्द उसको दिमागको शब्दभण्डारमा जम्मा भइरहन्छ। यसरी कानबाट भित्र घुसाइएका शब्दहरू केटाकेटीको दिमागमा बुझाइ र बोलाइका आधारभूत जग बन्छन्। पछि स्कूलमा पढ्दा पहिले सुनेका र दिमागमा बसेका शब्दहरू सहज र परिचित लाग्छन्। पुस्तक पढ्दा तिनै शब्दहरूले मद्दत गर्छन्। दिमागमा जमेर बसेका शब्दहरूले उनीहरूलाई पछिसम्म शब्द बुझन र पढ्न सघाउँदछन्। ...आमाबाबुले काखमा राखेर शिशुलाई पुस्तक पढेर सुनाउँदा उसले आमाबाबुको माया, सुरक्षा, खुशी जस्ता अनुभूतिहरू गर्नुका साथै उसको बौद्धिक, संवेदनात्मक तथा सिकाइ क्षमताको विकास हुन्छ।”

यसरी लेखक कसजूले सर्वश्रेष्ठ आधुनिक बाल मानसिकताको विज्ञानमा टेकेर नेपाली पाठकलाई एउटा मन्त्र सुनाएका छन्, “बाबुआमाले आफ्नो शिशुको भविष्य बनाउने सबैभन्दा राम्रो उपाय हो बच्चैदेखि पढेर सुनाउने र पढ्ने बानी बसाल्ने।”

लेखकको चिन्ता छ, आजभोलि धेरै परिवारमा हजुरआमा र हजुरबाबाट नातिनातिनाले कथा सुन्ने चलन हराउँदैछ। उता बाबुआमामध्ये कतिको आफ्नै पढ्ने बानी हुँदैन भने पढ्ने क्षमता भएकाको पनि बालबच्चालाई पढिदिने समय र धैर्य छैन। उता टेलिभिजन, फिल्म, फेसबूक, एसएमएस र भिडियो गेमले बालबच्चाको दिमागलाई किताब पढ्नबाट हरबखत अन्यत्र लहस्याइरहेको हुन्छ। यस्तो प्रतिकूल अवस्थामा पनि कसजूको भनाइ छ, आफ्ना छोरी या छोरालाई एक सफल जीवन दिलाउन चाहने अभिभावकको सबैभन्दा राम्रो सौगात नै हो बालकलाई पढेर सुनाउने र पढ्ने बनाउने।

यस्तो महत्वपूर्ण पुस्तिकाको तयारीमा धन्न प्रकाशकले चिप्लो कागज प्रयोग गरेनछन्। गरेको भए शायद विकासे ठानेर पाठकले किन्न मन गर्दैनथे। अनि समाजलाई आज चाहिएको एउटा महत्वपूर्ण ज्ञानको पाटो खेर जान्थ्यो।

(साभारः हिमाल खबर पत्रिका, मिति: १६-३० चैत २०६८)