a presentation of Dreams & Ideas

         
     
   

प्रसिद्ध प्राचिन कथाहरू

पण्डोराको बाकस
युनानी पौराणिक कथा


अनुवादकः विनय कसजू

संसारको सृष्टिका सुरुका दिनहरूमा मानिसहरू निक्कै खुशी थिए । जताततै उज्यालो र हाँसो मात्रै थियो । दुःख कष्ट भन्ने थिएन । घाम दिनदिनै लाग्थ्यो । देवताहरू मानिससँग कुराकानी गर्न र रमाइलो गर्न पृथ्वीमा आउँथे ।

एक दिन इपिमिथस र उनकी पत्नी पण्डोरा घर बाहिर फूलबारीमा फूलका बोटबिरुवाहरूको हेरबिचार गर्दै थिए । उनीहरूले सन्देशबाहक देवता मर्करी आकाशबाट विस्तारै उनीहरूकहाँ आउन लागेको देखे । उनले आफ्नो काँधमा एउटा गह्रुँगो बाकस बोकेका थिए । बाकसको भारीले गर्दा उनी झुकेका थिए । उनी निक्कै थाकेका देखिन्थे ।

इपिमिथसले मर्करीलाई भारी भुइँमा बिसाउन सघाए । थाकेका मर्करीलाई पण्डोराले चिसो सर्बत खान दिइन् । मर्करीले ल्याएको काठको बाकसमा अनौठा बुट्टा कुँदिएका थिए । बाकसलाई चारैतिरबाट सुनौला डोरीले बाँधिएको थियो ।

मर्करीले लामो सास फेर्दै भने, "मेरा प्रिय साथीहरू ! तपाईँहरूले मलाई एउटा काममा मदत गर्नुपर्यो । आज चर्को घाम लागेको छ । यो बाकस निक्कै गह्रुँगो छ । मलाई एउटा जरुरी काममा नगई भएको छैन । यसैले म नर्फकँदासम्म यो बाकस यहीँ छाडे कसो होला ?"

"भैहाल्छ नि । यसमा हामीले गर्नुपर्ने कुरै के छ र !" इपिमिथसले हाँस्दै जवाफ दिए ।
इपिमिथस र मर्करी मिलेर बाकसलाई उचालेर घरभित्र लगे ।

"यो बाकस यहाँ ल्याएको कसैले पनि देखेको छैन भन्ने कुरामा तपाईँहरू ढुक्क हुनुहुन्छ कि हुनुहुन्न ?" मर्करीले गम्भीर भएर सोधे, "कुनै पनि अवस्थामा कसैले पनि यो बाकस खोल्नु हुँदैन । बुझ्नुभयो ?"

"यो कुराको कत्ति पनि चिन्ता नलिनुस् ।" इपिमिथस र पण्डोरा दुबैले भने र मर्करीलाई विदा गरे ।

मर्करी गइसकेपछि अचानक पण्डोरा टक्क अडिइन् । उनले निधार खुम्च्याउँदै सासैसासले कुरा गर्दै भनिन्, "सुन त इपिमिथस ! कसैले हाम्रो नाम लिएर बोलाइरहेको जस्तो मलाई लाग्यो ।"

इपिमिथस र पण्डोरा दुबैजनाले बडो ध्यान दिएर सुने । सुरुमा त उनीहरूले बाहिर उज्यालोमा चरा कराएको र रुखका पात सुसाएको बाहेक केही पनि सुनेनन् । त्यसपछि उनीहरूले निक्कै पर बाहिर "इपिमिथस ! पण्डोरा !" भनेर बोलाएको सुने ।

"हाम्रा साथीहरूले बोलाएजस्तो छ !" इपिमिथसले दंग पर्दै भने ।

तर पण्डोरा अल्मलिएजस्ती देखिइन् । उनले टाउको हल्लाउँदै ढुक्कसँग भनिन्, "होइन, मैले सुनेका स्वर त्यो होइन ।"

"मलाई त साथीहरूले डाकेजस्तै लागेको छ । जाउँ बाहिर गएर सबैसँग भेटौँ ।" इपिमिथसले हाँस्दै भने ।

पण्डोराले अलि गम्भीर हुँदै भनिन्, "तिमी जाऊ । म एक छिन यहीँ बस्छु ।"

"हुन्छ । म त गएँ ।" भन्दै इपिमिथस बाहिर गए ।

उनी बाहिर जाने बित्तिकै पण्डोरा त्यो अनौठो बाकसनेर गइन् र पर्खिरहिन् । केही सेकेन्ड नबित्दै फेरि उनले अघिको जस्तै स्वर सुनिन् । टाढा कताकताबाट आएजस्तो अवाजले उनलाई "पण्डोरा ! पण्डोरा !" भनेर बोलाउँदैथियो । त्यो स्वर बतासले कानमा साउती गरेजस्तो साह्रै मसिनो थियो । पण्डोरालाई त त्यो साँच्चैको स्वर नभएर उनको आफ्नै कल्पना हो कि जस्तो पनि लाग्यो ।

पण्डोरा निहुरिन् र बाकसको ढक्कन नजिकै कान थापेर सुनिन् । यस पटक भने उनले स्पष्ट स्वर सुनिन् । त्यो बाकसले उनलाई नै बोलाइरहको रहेछ । "पण्डोरा !" भित्रबाट बडो टिठलाग्दो स्वरले उनलाई केही काम गर्न विनम्रता पूर्वक अनुरोध गरिरहेको थियो ।
"पण्डोरा ! हामीलाई बाहिर निकाल । हामी यहाँ अंध्यारोमा थुनिएका छौँ । हामीलाई मुक्त हुन मदत गर ।"

यो सुनेर पण्डोर झसँग झस्किन् र बाकसदेखि केही पर गएर उभिइन् । मर्करीले कसैलाई पनि बाकस खोल्न नदिनू भनेर कडा चेतावनी दिएका थिए । तर त्यो स्वर साह्रै टिठलाग्दो र दुखी थियो !

"पण्डोरा ! हामीलाई मदत गर, बिन्ती छ हामीलाई मदत गर ।" बाकसभित्रबाट बारंबार अनुरोध आइरहेको थियो ।

पण्डोराले उनीहरूको अनुरोध पूरा नगरी बस्न सकिनन् । उनी भुइँमा घुँडाले टेकेर बसिन् र बाकसलाई कसेर बँधेको सुनौला डोरीको गाँठो हतारहतार फुकाउन थालिन् । डोरी फुकाउँदाफुकाउँदै पनि उनले कानेखुसीका स्वर र टिठलाग्दो अनुरोध निरन्तर सुनिरहिन् । आखिरमा गाँठाहरू फुस्किए । टल्कने सुनौला डोरीहरू भुइँमा झरे । उनले लामो सास फेरिन् । अनि बाकसको बिर्को उघारिन् ।

उत्तिखेरै पण्डोराले आफूले ठूलो गल्ती गरेको थाहा पाइन् । त्यो बाकसभित्र संसार भरिका खराब जीवहरूलाई कोचेर राखिएको रहेछ । त्यसभित्र मानिसहरूलाई दुःख दिने डस्ने, थुङने, चिल्ने, टोक्ने घिनलाग्दा पुतलीजस्ता पखेटा भएका किराहरू थिए । उनीहरू जहाँ जान्थे त्यहाँका मानिसहरूलाई दुःख सास्ती दिन्थे । पण्डोराको गल्तीले गर्दा अब ती दुच्छर जीवहरू मुक्त भएका थिए । तिनीहरू बाकसबाट हुलकाहुल निस्के र पण्डोराको वरिपरि र उनको जिउमाथि उडनथाले ।

जीवनमा पहिलो पटक पण्डोराले पीडा र दुःख भनेको के हो भन्ने थाहा पाइन् । उनी निराश भएर डाँको छाडेर रुन थालिन् । अनि उनले जोडले बाकसको बिर्को बन्द गरिन् । तर बन्द गर्न ढिला भइसकेको थियो ।

आफ्नी पत्नी रोए कराएको सुने र बाहिर बसेका इपिमिथस दगुर्दै भित्र आए । बाकसबाट निस्केका किराहरू उड्दै झ्याल र ढोकाबाट बाहिर जाँदाजाँदै थिए । तिनले इपिमिथसलाई पनि टोके । जीवनमा पहिलो पटक उनी आफ्नी पत्नीसँग रिसाए र गाली गर्न थाले । पण्डोरा पनि रिसाएर कराउन थालिन् । उनीहरूले आफूहरू आपसमा झगडा गरिरहेछन् भन्ने कुरा पहिलो पटक थाहा पाए । अनि उनीहरू निक्कै डराए ।

"मलाई बाहिर आउन देऊ !" एउटा तीखो आवाज आयो । त्यो आवाज सुनेर दुबै जना तर्से र एकअर्कासँग टाँसिए । आवाज बाकसभित्रबाट आएको थियो । "मसँग डराउनु पर्दैन ! मलाई बाहिर निस्कन देऊ । म तिमीहरूलाई मदत गर्छु ।" भित्रबाट आएको आवाजले भन्यो ।

"अब के गर्ने ?" पण्डोराले डराउँदै र अचम्म मान्दै इपिमिथससँग सासैसासले सोधिन् ।

"तिमीले गर्न नहुने गल्ती गरिसक्यौ । अब त्योभन्दा ठूलो गल्ती के होला र !" इपिमिथसले रिसाउँदै भने । पण्डोराले आँखा चिम्लिन् र फेरि मर्करीको बाकसको बिर्को उघारिन् ।

बाकसको अँध्यारो कुनाबाट पुतलीजस्तो चम्किलो सेतो जीव निस्क्यो । त्यो आशा थियो । त्यो जीवले पण्डोरा र इपिमिथसको जिउमा लागेको घाउहरूलाई शितल पारिदियो । उनीहरूले आफ्नो दुखाइ केही हल्का भएको अनुभव गरे । अनि त्यो जीव हान्निएर झ्लालबाट बाहिर दुःख र पीडाहरूको पछिपछि गयो । भाग्यवश त्यस बेला देखि आशा मानिसहरूसँग बस्न थाल्यो । साँच्चै, आशा नभएको भए यो संसारमा बाँच्न कति गाह्रो हुन्थ्यो होला !

 

माथि

मूल पृष्ठमा जाउँ

   
   
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of