a presentation of Dreams & Ideas

         
     
   

बौद्ध जातककथा

घमण्डी बँदेल

एउटा सिंह हिमालयको गुफामा बस्थ्यो । गुफा नजिकैको वनमा बँदेलको बथान पनि बस्थ्यो । एक दिन सिंह जानवर मारेर पेट भरिएपछि नजिकैको पोखरीमा पानी खान गयो । पोखरीको नजिकै एउटा मोटो बँदेल चरिरहेको उसले देख्यो । पेट भरिएको हुनाले सिंहलाई त्यो दिन सिकार खेल्ने मन थिएन । भोलि त्यो बँदेललाई मार्ने बिचार गर्दै ऊ त्यहाँबाट बँदेलले थाहा नपाउने गरी चाल मारेर बनतिर गयो ।

तर बँदेलले सिंहलाई लुसुक्क बनतिर लागेको देखेको थियो । सिंह आफूसँग डराएर भागेको भन्ने उसलाई लाग्यो । त्यसैले उसले सिंहलाई आफूसँग लड्ने हाँक दियो । सिंहले ऊसँग लड्न इन्कार गर्दै एक सातापछि लड्ने कुरा गर्यो । सिंहको कुरा सुनेर बँदेल खुशी भयो ।

त्यसपछि बँदेलले आफ्नो बथानका अरु बँदेलहरूलाई सिंह आफूसँग डराएर भाग्न खोजेको र एक सातापछि मात्रै लड्न मानेको कुरा दंग पर्दै सुनाउन थाल्यो । उसको कुरा सुनेर उसको बथानका बँदेलहरू दुःखी भए । उनीहरूलाई सिंह कति बलियो हुन्छ भन्ने थाहा थियो । त्यसपछि सिंहले अरु बँदेललाई पनि बाकी राख्ने छैन भन्ने उनीहरूलाई डर थियो । त्यसैले उनीहरूले त्यो घमण्डी बँदेललाई भने, "बँदेल र सिंहको तुलना कहिल्यै पनि हुनसक्तैन । सिंहले तिमीलाई दया गरेर हो वा भोक नलागेर हो एक साताको म्याद दिएको रहेछ । अब तिमीलाई मर्न मन छैन भने हामीले भनेझैँ गर ।"

उनीहरूले त्यो बँदेललाई हरेक दिन सकेसम्म गन्हाउने ढल र हिलोमा लडिबुडी खेलेर आफ्नो जिउमा हिलोको पत्रैपत्र थुपार्ने सल्लाह दिए । उनीहरूको सल्लाहबमोजिम घमण्डी बँदेलले पनि दिनदिनै हिलोमा गएर जिउमा हिलो जम्मा गर्ने र घाममा सुकाउने गर्न थाल्यो । यसरी छ दिनसम्म हिलोमा लडिबुडी खेल्दै सुकाउँदै गर्दा उसको जिउमा बाक्लो हिलो जम्मा भयो ।

सिंहसँग लडाइ गर्ने दिन बँदेलले आफ्नो जिउ पानीले भिजायो । यसले गर्दा उसको जिउको हिलो सहनै नसकिनै गरी गन्हाउन थाल्यो । ऊसँग लड्न भनेर आएको सिंहले त्यो गन्ध सहनै सकेन । सिंहलाई उसको जिउमा हमला गर्ने त के कुरा उसको नजिक जान पनि गाह्रो भयो । उसले भन्यो, "ए, फोहोरी गन्हाउने बँदेल ! तेरो छालाबाट आएको दुर्गन्धले मेरो नाकै फुट्लाजस्तो भयो । तंसँग लड्नुभन्दा त बरु हार स्वीकार गर्छु ।"

त्यस दिनदेखि तयो बँदेल झन घमण्डी भयो । तर उसको बथानका अरु बँदेलहरले भने सिंहले कुनै दिन आएर हमला गर्ला भन्ने डरले त्यो ठाउँ छाडेर अन्तै बसाइ सरे ।

माथि

 

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of