a presentation of Dreams & Ideas

         
     
   

नयाँ कथा

चौँरीखर्कमा ऊँट

- विनय कसजू

"दसैंमा घर आउँदा ऊँटका एक जोडी पाठापाठी तपाईंसँगै हवाइजहाजमा राखेर लिएर आउनू है," विकासले बालाई फोनबाट आफ्नो माग सुनायो। बाले हाँस्दै भने, "पहाडमा पनि ऊँट बाँच्छ र छोरा? खेलौना ऊँट ल्याउने भए ल्याइदिन्छु।"
बाको कुरा विकासले के मान्थ्यो? "हाम्रो चौँरी गोठमा बस्छ, चौँरीले खाने घाँस कुँडो त्यसले पनि खान्छ," उसले ऊँट जसरी पनि लिएर आउन भन्यो। आफूले कसैलाई दुःख नदिने र चौरीखर्कका ऊँट चराउने कुरा पनि बतायो। ऊँट नल्याइदिए आफू स्कुल नजाने र बासँग पनि नबोल्ने भन्दै जिद्दी पो गर्न थाल्यो।
विकासका बालाई फसाद पर्‍यो। तैपनि उनले सम्झाउँदै भने, "तिम्रो स्कुलको भूगोल पढाउने मिससँग सोध त बाबु  ऊँट कस्तो ठाउँमा बस्छ? के खान्छ? अनि मिसले पनि ल्याउन भन्नुभयो भने म ल्याइदिन्छु।" मिसलाई त जसै मनाउँछु भन्दै विकास गदगद भो।
म्याग्दीको खोप्रालेकछेउ बस्ने विकासका बा समर सारू खाडी देशमा गएको चार वर्षभन्दा धेरै भइसकेको थियो। त्यहाँ उनी एक जना धनी शेखको ऊँटगोठमा काम गर्थे। साहुका विश्वासपात्र थिए उनी। आम्दानी राम्रै थियो। त्यसैले अरबको मरुभूमिको उखर्माउलो गर्मी पनि उनले सहेर बसेका थिए। उनले चाहे अरबबाट दुईचार जोडी ऊँट ल्याउन नसक्ने थिएनन्।
यता भूगोल पढाउने मिसको पढाउने पालो कुर्दै थियो विकास। मिस आउनेबित्तिकै उसले मिससँग सोध्यो, "ऊँट कहाँ पाइन्छ मिस?"
"मरुभूमिमा," मिसले उत्तर फर्काउनुभयो। "मरुभूमि भनेको के हो नि?" विकासले फेरि सोध्यो।
"त्यस्तो ठाउँ जहाँ बालुवा मात्रै हुन्छ। पानी हुँदैन। यसैले रुख, पात, हरियाली केही पनि हुँदैन," मिसले जवाफ दिनुभयो। "त्यस्को घाँटीचाहिँ किन लामो नि मिस?" विकासले जान्न खोज्यो।
मिसले ऊँटको चित्र देखाउँदै भन्नुभयो, "यता राम्ररी हेर त, ऊँटको घाँटी कति लामो छ हेर। ऊँटले घाँस खान्छ। मरुभूमिमा सजिलोसँग घाँस पाइँदैन। कतैकतै काँडा भएका अग्ला रुख हुन्छन्। अग्ला रुखको पात खानु परेको हुनाले त्यसको घाँटी लामो भएको हो।"
विकासले ऊँटको खुट्टाको पाइतला देखाउँदै सोध्यो, "ऊँटको खुट्टाको पाइतला किन त्यस्तो बाक्लो गद्दाजस्तो भएको, मिस?"
"मरुभूमिमा बालुवा हुन्छ। घोडा वा गाईजस्ता जानवरका खुट्टा बालुवामा गड्छ र हिँड्न मिल्दैन। ऊँटको पाइतला बाक्लो, चाक्लो र नरम गद्दाजस्तो हुन्छ। भुइँमा थिचिँदा त्यो झन् फुकेर चाक्लो हुन्छ अनि बालुवामाथि हिँड्न सजिलो हुन्छ। मरुभूमिमा धेरै दिनसम्म भारी बोकेर हिँड्न सक्ने भएको हुनाले ऊँटलाई मरुभूमिको जहाज पनि भनिन्छ," मिसले व्याख्या गर्नुभयो।
"मरुभूमिमा त पानी नै पाइँदैन भन्नुभयो नि, मिस। धेरै दिनसम्म हिँड्दा उसलाई पानी खानु पर्दैन?" विकासले सोध्यो।
"हो, वास्तवमा ऊँटको विशेष गुण भनेको नै यही हो। त्यसको जिउमा पानी र चिल्लो कुरा संगालेर राख्ने विशेष अंग हुन्छ। यसैले ऊँट एक सातासम्म पानी र खानेकुरा नखाई मरुभूमिमा हिँड्न सक्छ," मिसले यसो भन्दा विकास दंग पर्‍यो।
"त्यसो भए मिस चौँरीलाई जसरी दिनदिनै खर्कमा चराउन लैजानुपर्ने रहेनछ। शनिबार छुट्टीको दिन चरायो भने एक सातालाई पुग्ने रहेछ। होइन त, मिस?"
विकासको कुरा सुनेर मिस छक्क पर्नुभयो। "के कुरा गरेको? चौँरीखर्कमा पनि कहीँ ऊँट चर्न सक्छ र? न त उसलाई खानेकुरा मिल्छ। न बस्ने ठाउँ। न यहाँको हावापानी नै मिल्छ।"
"मलाई बुवाले दसैंमा घर आउँदा अरबबाट एक जोडी ऊँटको पाठापाठी ल्याइदिन्छु भन्नुभएको छ, मिस," विकासले स्पष्ट पार्न खोज्यो।
"खेलौना ऊँट होला," मिसले अपत्यारिलो स्वरमा भन्नुभयो।

"साँच्चै हो के। तपाईँले यहाँ बाँच्छ भन्नुभयो भने बुवाले ऊँट ल्याइदिनुहुन्छ रे। हुन्छ भन्नुस् है, मिस। म राम्ररी पढ्छु के," विकासले जिद्दी स्वरमा भन्यो।
अनि मिसले सम्झाउँदै भन्नुभयो, "हेर विकास, हाम्रो पहाड मरुभूमिमा फेरियो भने मात्रै यहाँ ऊँट बस्न सक्छ नत्र सक्तैन।"
"अनि हाम्रो पहाड मरुभूमि हुन्छ कि हुँदैन? भयो भने कहिले हुन्छ, मिस?" विकासले उत्सुकतापूर्वक सोध्यो।
"हिमालमा हिउँ जम्न र पहाडबाट पानीका मूल रसाउन छाडेर डाँडापाखा नांगा भएपछि पहाड मरुभूमि बन्छ। अनि यहाँ न त अन्न फल्छ न फलफूल। अनि यहाँ मानिसको के कुरा पशुपंछी पनि बस्न सक्तैन," मिसले भन्नुभयो।
"त्यस्तो कहिलेसम्ममा हुन्छ, मिस?" विकासले जान्न खोज्यो।
"त्यो त भन्न सकिन्न विकास। अडकल मात्रै गर्न सकिन्छ। तर हामीले हाम्रो हावापानीलाई बिगार्ने काम गर्‍यौँ भने चाँडै नै हिमाल र पहाड मरुभूमि बन्नसक्छ," मिसले स्पष्ट पार्नुभयो।
"धेरै वर्ष लाग्ने हो कि मिस! मलाई त चाँडै नै चौँरीखर्कमा ऊँट चराउन मन लागेथ्यो," विकासले ढुक्क हुँदै भन्यो।
"यस्तो रहर नगर विकास," विकासका कुराले अक्क न वक्क पर्नुभएको मिस कक्षाकोठाबाट बाहिरिनुभयो।
राती विकास सपनाको चौँरीखर्कमा ऊँट चढेर घुम्दै थियो। त्यहाँ ऊँटको बथान थियो तर चौँरी एउटा पनि थिएन। भोक लागेर ऊ चौँरीगोठमा गयो। तर अगेनुमा न त चौँरीको दूध उम्लिरहेको थियो न घ्यु र छुर्पी नै थियो। उवाको सातु राख्ने ढुंग्रोसमेत रित्तो थियो। डरले आत्तिएर ऊ सपनामै चिच्यायो, "बा! चौँरीखर्कमा ऊँट नल्याउनुस्।"

 

ढड्डु मुसाको बकबक
- विनय कसजू

कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउँथेँः "राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो ।  ......."

ऊ यस्तै कथा सुन्न रुचाउँथी । तर कथा टुंगिन नपाउँदै माया निदाइसक्थी । उसले पूरै कथा कहिल्यै सुन्न भ्याउन्नथी । माया निदाए पनि मैले कथा बीचैमा रोक्दिनथेँ । कोठामा मेरो कथा सुन्ने अरु पनि हुन्थे ।
मायालाई कथा सुनाउन म कोठामा पस्दा मेरो पछिपछि टाटे कुकुर र पाटे बिरालो पनि आउँथे । टाटे भुइँमा बस्थ्यो । मैले कथा सुनाउँदा ऊ मतिर र्फकन्थ्यो र बडो ध्यान दिएर सुन्थ्यो । पाटे भने कहिले ओछ्यानमाथि मायासँगै बस्थ्यो भने कहिले खाटमुनि गएर मुसालाई ढुकेर बस्थ्यो । तर कथा सुनाउन थालेपछि ऊ पनि हल्ला नगरी बस्थ्यो ।

एक दिन पानी परिरहेको थियो । अलिअलि जाडो थियो । मैले राजकुमार भ्यागुताको कथा सुनाउन थालेँ । तर कथा सुरु हुने बित्तिकै माया निदाइहाली । मलाई कथा सुनाउन अल्छी लाग्यो । मलाई पनि निँद लाग्यो ।

सपनामा पनि टाटे र पाटे दुबैले बडो ध्यान दिएर मेरो कथा सुनिरहेका थिए । मैले कथा भन्न छाडेको देखेर टाटे 'कुइँ कुइँ' करायो । पाटे पनि खाटमुनिबाट निस्केर 'म्याउँ म्याउँ' गर्न थाल्यो ।

"हुन्छ, हुन्छ । म कथा सुनाउँछु ।" मैले भनेँ । ती दुबै खुशी भए, र मतिर ध्यान दिएर हर्न थाले । मैले सुनाउन लागेको कथा तिनीहरुकै कथा थियोः

"यो घरमा आउँदा सुरुमा टाटे र पाटे खुबै झगडा गर्थे । एक अर्कालाई देखी सहँदैनथे । एक दिन टाटेको भागमा राखेको मासु पाटेले चोरेर खाइदियो । ...."

"होइन यो कुरा झुटा हो । त्यो दिन मैले मासु चोरेको थिइन । मेरो भागमा पनि मासु थिएन । दुबैको भागको मासु ढड्डु मुसाले खाएको थियो । फ्वाक्कैमा ममाथि शंका गरेर टाटेले मलाई झम्टेको हो । यस्तो झुठो आरोप लाग्यो भने टाटेलाई पनि रिस उठ्छ । उठ्दैन त टाटे ?" अचानक पाटेले आफू निर्दोष भएको कुरा सुनायो ।

"मलाई त तिमीमाथि नै शंका लागेको थियो । अहिलेसम्म पनि त्यो शंका मेटिएको छैन बुझ्यौ ।" टाटे कुकुरले पाटेको कुरा पूरै पत्याएको थिएन ।

"त्यसो भए त्यो ढड्डु मुसालाई सोध । सबै कुरा थाहा भइहाल्छ ।" पाटे बिरालोले भन्यो ।

उसको कुरा टुँगिन नपाउँदै दुलोबाट ढड्डु मुसा फुत्रुक्क बाहिर निस्क्यो । ऊ बिरालोसँग सतर्क हुँदै टेबुलमाथि पुग्यो र भन्न थाल्यो, "हो, हो । त्यो दिन तिमीहरुको भागको मासु सुटुक्क खाइदिएर तिमीहरुलाई लडाएको मैले नै हो ।" यति भन्दै ऊ मज्जाले हाँस्यो ।

"कस्तो बदमास रहेछ यो । आफूले मासु खाएर हामीलाई लडाउने ?" कुकुरले ठूलाठूला आँखाले ढड्डुतिर हेर्दै भन्यो । "त्यो दिन झण्डै हामी दुबैलाई घरपेटीले घरबाट निकालेको । रातभरि बाहिर बस्नुपर्यो । किन यस्तो बदामासी गरेको ?"

मुसा फेरि जोडले हाँस्यो । उसले कम्मरमा हात राख्दै भन्यो, "तिमीहरुलाई घरपेटीले यो घरबाट निकालेको भए त मलाई हाइसँचै हुन्थ्यो नि !"

मुसाको कुरा सुनेर मलाई रिस उठ्यो । "मेरो घरमा बसेर मेरै साथीहरुलाई तैँले धम्की दिने ? पख तँलाई ।" मैले भनेँ ।
मेरो कुरा सुनेर ढड्डु मुसा फेरि हाँस्यो । उसले भन्यो, "यो घर तिम्रो हो भन्ने भ्रममा रहेछौ तिमी । तिमी यो घरमा आएको कति वर्ष भयो भन त ? हामी त यहाँ पुस्तौँ पुस्तादेखि बस्दै आएका छौँ । वास्तवमा यो घरको मालिक हामी पो हौँ । तिमी त किराया तिरेर बसेका हौ ।"

उसको कुरा सुनेर कसलाई रिस नउठला ? मैले भनेँ, "मेरै भान्छाको खानेकुरा, माछामासु चोरर मोटाएका छौ अझै मलाई नै आँखा तर्र्छौ ? धेरै फुर्ती लायौ भने तिम्रो पूरै वंशलाई धपाइ दिन्छु ।" 

"भो भो धेरै धक्कु नलाऊ । सक्ने भए गरिसक्थ्यौ । बिरालो र कुकुरको मदत लिनु पर्दैनथ्यो ।" यति भनेर ढड्डु मुसा टेबुलबाट बुरुक्क उफ्रेर दुलोभित्र पस्यो । पाटेले झम्टन खोज्यो तर भेट्टाउन सकेन । 'ङ्यार्रर्र' गरेर रिस पोख्यो ।

कोठाभित्र धेरै हल्ला भएकोले मायाको निद्रा खुल्यो । उसले आँखा मिच्दै आफ्नो वरिपरि हेरी । मलाई कुर्सीमा बसेको देखेर उसले सोधी, "अनि त्यो राजकुमारीले भ्यागुतोलाई के गरी ? पूरै कथा सुनाउनुस् न ।"

"जहिले पनि त्यही भ्यागुतो राजकुमारको कथा कति सुन्ने ? नयाँ कथा छैन ?" दुलोभित्रबाट आवाज उही ढड्डु मुसाको आवाज आयो ।

ढड्डु मुसाको कुरा सुनेर माया छक्क परी । उसले भनी, "कस्तो बाठो मुसा रहेछ ! दुलोभित्र बसेर कथा सुन्दो रहेछ ।"

"मेरो छिमेकमा बस्ने मुसाहरुले टेलिभिजन हेर्छन् । यहाँ त कथा सुनेर चित्त बुझाउनु पर्छ । तर ठिकैछ । तिम्रा बालाई धेरै कथा भन्न आउने रहेछ । कथाले टेलिभिजनको धित मार्छ भने किन टेलिभिजन नै हेर्नु पर्यो र ? होइन त माया ?"

ढड्डु मुसाको चिप्लो कुरा सुनेर माया हाँसी । मेरो पनि रिस मर्यो । "तिमीलाई कस्तो कथा मनपर्छ ?" मायाले ढड्डु मुसासँग सोधी ।

"मलाई त मेरै कथा मन पर्छ नि । एउटा मुसाले कसरी जंगलको राजा सिंहलाई जोगायो भन्ने कथा तिमीले सुनेकी छौ ? अहिलेसम्म हामीले बिरालोको घाँटीमा घण्टी झुण्ड्याउन सकेका थिएनौँ । तर तिम्रो बुबाले त एक दिन मुसाहरु मिलेर कसरी बिरालोको घाँटीमा घण्टी बाँध्न सफल भयो भन्ने कथाहरु पनि सुनाउनु भयो । साँच्चै तिम्रो बुबाले मुसा राजा भएको अनि मुसाको छोरा युवराज भएको कथा सुनाउनु हुन्न ?"

ढड्डु मुसाको बठ्याइँ बल्ल मैले बुझेँ । मैले भनेँ, "अब तिमी राजा भएको, तिम्रो छोरा युवराज भएको सपना नदेख । त्यो जमाना गयो । अब सबै जना मिलेर बस्न'पर्छ बुझ्यौ ?"

"त्यसो भए मुसाले गल्ती गरेको र बिरालोले मुसालाई सजाय दिएको कथा पनि लेख्न छाड ।" डढ्डु मुसाले भन्यो ।

उसको कुरा सुनेर मलाई रिस उठ्यो, "कस्तो कथा लेख्ने कस्तो नलेख्ने भनेर तिमीले मलाई सिकाउने ? म त स्वाभिमानी लेखक हुँ । मनमा लागेको कथा लेख्छु । तिमीले अह्राएको कुरा लेख्छु र ?"

"ठिकै छ । तिमीले बाघ, भालु, चितुवाको कथा लेख्छौ भने हामीलाई पनि सुन्न कर छैन । जसको कथा हो उसैलाई सुनाऊ ।" भन्दै ढड्डु मुसा दुलोभित्र हरायो ।

हाम्रो कुरा मायाले मात्रै होइन टाटे र पाटेले पनि ध्यान दिएर सुनिरहेका थिए । मुसा हराएपछि मायाले भनी, "मुसाको कुरा ठिकै त हो नि बुवा । टाटेलाई कुकुरको कथा मन पर्छ, पाटेलाई बिरालोको कथा मनपर्छ । होइन त पाटे ?"

"त्यो त हो । तर मलाई मुसाले बिरालोलाई जितेको कथा पटक्कै मन पर्दैन ।" पाटेले भन्यो ।
उसको कुरा टुंगिन नपाउँदै टाटेले थप्यो, "हो । मलाई पनि अरु पशुपंछीले कुकुरलाई हेपेको, कुकुरलाई मुर्ख बनाएको कथा मनै पर्दैन ।"

तिनीहरुको कुराले मलाई गम्भीर बनायो । मैले भने, "हेर, सबै जना आफू बाठो र बहादुर भएको कथा सुन्न चाहन्छन् । अहिलेसम्म लेखिएका कथाहरुमा यस्तै छ । एउटा पक्षले अर्को पक्षलाई जितेको, मारेको, दास बनाएका कथाहरु धरै छन् । कुराकानी र मेलमिलाप गरेर लडाइँ झगडाको समाधान गरेको कथा लेख्न बाकी नै छ ।"

"भो, भो । धेरै अर्ति उपदेश दिनु पर्दैन । लडाइँ, झगडा, ढिस्युँढिस्युँ भएन भने कसले सुन्छ तिम्रो कथा?" दुलोबाट निस्केर ढड्डु मुसाले फेरि बकबक गर्न थाल्यो । उसलाई देख्ने बित्तिकै पाटे बिरालोको कन्सिरी तातिहाल्यो । रिसले उसले आँखा देखेन । झ्वाम्म झम्टिहाल्यो । बिजुली चम्केझैँ ढड्डु मुसा दुलोभित्र लुकिहाल्यो । बिचरा पाटे भित्तामा नराम्ररी ठोक्कियो । उसको मुखमा घाउ भयो ।
"हाऊ.. हाऊ ।" पाटेको समर्थनमा टाटे जोडले भुक्न थाल्यो । माया रमाइलो मानेर हाँसिरही ।

२४ मई २००७ (२०६४ जेठ १०), विहीबार ।

Posted on October 18, 2007

 
विरालोको सम्मान

विनय कसजू

"विरालोको घाँटीमा घण्टी बाँध्ने समस्याले हामीलाई कहिल्यै छोडेन । अब यो कुरामा समय खेर नफालौँ । बरु सकिन्छ भने अरु कुनै उपाय निकालौँ ।" दाह्रीवाल मुसाले जुँगा मुसार्दै भन्यो ।

"यो हामी मुसा जातिको जीवनमरणको समस्या हो । यस्तो महत्वपूर्ण समस्यालाई त्यत्तिकै छाडन कहाँ हुन्छ ?" तन्नेरी मुसाले कुरा काट्यो ।

"हामीभन्दा पहिले पनि यो विषयमा धेरै छलफल भइसकेको छ । बिरालोको घाँटीमा घण्टी बाँध्ने कोसिस गर्दा धेरै मुसा सहिद भइसकेका छन् । कथंकदाचित कोही सफल भए पनि बिरालोले धेरै दिनसम्म घाँटीमा घण्टी बाँधेर बस्दैन । चुँडालेर फालिहाल्छ । यसैले अब बिरालोको घाँटीमा घण्टी बाँध्ने योजना छाडिदिउँ भनेको हो ।" दाह्रीवाल मुसाले आफ्नो कुरा मनाउन खोज्दै भन्यो ।

यसैबीच एउटा दुब्ले मुसाले बिरालोको नक्कल गर्दै जोडले "म्याउँ" गर्यो । सबै मुसाका कान ठाडा भए । बिरालो आयो कि भनेर सबै मुसा चनाखा भए । अनि दुब्ले मुसाले ताली बजाउँदै सबैको ध्यान आफूतिर तान्यो र बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने नयाँ उपाय सुनायो ।

दुब्ले मुसाको कुरा सुनेर धेरैजसो मुसाहरू हाँसे । उसको कुरा धेरैले पत्याएनन् । तर दुईचार मुसाहरूले उसको र्समर्थन गर्दै भने, "दुब्लेले भनेको उपाय एक पल्ट प्रयास गरे के बिग्र्यो र ?"

अनि एक दिन दुब्लेको योजना अनुसार मुसाहरूले ठूलो सभाको आयोजना गरे । सभाको प्रमुख अतिथिको रूपमा ढाडे बिरालोलाई निम्ता गरियो । टोलका अरु बिरालाहरूलाई पनि निम्तो पठाइयो ।

खिर खाने लोभले टोलका सबै बिरालाहरू मुसाहरूको सभामा भाग लिन आए । सभामा आएका बिरालाहरूलाई आयोजक मुसाहरूले स्वागत गर्दै मंचमा राखे । ढाडे बिरालोलाई प्रमुख अतिथिको आसनमा बसाले भने अरु बिरालाहरूलाई उनीहरूको बल र उमेर अनुसार मेलैसँग मंचमा आसन ग्रहण गर्न लगाए । मुसाहरूले गरेको सम्मान र सभाको प्रवन्ध देखेर बिरालाहरू मख्ख परे । दाह्रीवाल मुसाको सभापतित्वमा सभाको कार्यक्रम सुरु भयो ।

र्सवप्रथम दाह्रीवाल मुसाले ढाडे बिरालोलाई माला लाएर सम्मान गर्यो । त्यसपछि मेलैसँग अरु बिरालाहरूको सम्मान गरियो । यसैबीच दुब्ले मुसाले स्वागत भाषण गर्दै भन्यो, "यो एक्काइसौँ शताब्दी शान्ति र मित्रताको शताब्दी हो । शत्रुलाई मारेर खाने र पेट भर्ने जमाना गयो । मासु खान मन लाग्यो भने मानिसहरूले आफैले काटमार गर्दैनन् । होटलबाट झिकाएर खान्छन् । अब मुसा र बिरालोले पनि पुस्तौँको शत्रुता त्यागेर मिलेर बस्नर्ुपर्छ । यसैले हामी मुसा जातिले हाम्रा मित्र बिरालाहरूलाई मेलमिलापको आह्वान गर्दै यो सम्मानको कार्यक्रमको आयोजना गरेका हौँ ।"

दुब्ले मुसाको कुरा सुनेर मुसाहरू खुशी भए । बिरालाहरूले पनि ताली बजाएर र्समर्थन गरे । त्यसपछि मंचमा टेबुलमाथि किस्तीमा विभिन्न आकार प्रकार र रंगका घण्टीहरू सजाएर ल्याइयो । अनि सभापति दाह्रीवाद मुसाले उभिएर बिरालाहरूलाई अनुरोध गर्दै भाषण गर्न थाल्यो ।

उसले भन्यो, "एउटै घरमा बसे पनि आजसम्म हामी मुसा र बिरालाहरू आपसमा शत्रुता गरेर बसेका थियौँ । आजदेखि हामी मुसा जाति बिरालाहरूलाई परम मित्र सम्झने र सम्मान गर्ने घोषणा गछौँ र मित्र बिरालाहरूले पनि हाम्रो मित्रताको प्रस्तावलाई सम्मान गर्नु हुनेछ भन्ने हामीलाई विश्वास छ ।"

त्यहाँ उपस्थिति मुसा र बिराला सबैले ताली बजाएर मुसाहरूको घोषणाको स्वागत र र्समर्थन गरे । त्यसपछि दाह्रीवाल मुसाले बडो विनम्र भएर बिरालाहरूसँग अनुरोध गर्यो, "सम्माननीय मित्र बिरालाहरू हो । हामी मुसा जातिको यो घोषणाको चिनो र मित्रताको प्रतीकको रूपमा हामीले तपार्इँहरूका लागि सानो उपहार टक्र्याउन चाहन्छौँ । विश्वास छ यहाँहरूले हाम्रो यो प्रेमको चिनोलाई सँधै आफ्नो घाँटीमा सुशोभित गरेर हाम्रो मित्रतालाई सम्मानित र दिगो बनाउनु हुनेछ ।"

दह्रीवाल मुसाको कुरा टुँगिन नपाउँदै चिटिक्क सजिएका राम्रीराम्री मुसीहरूले एकएक वटा घण्टी लिएर अतिथि बिरालाहरूको घाँटीमा बाँधिदिए । पाहुना बिराला र उपस्थित मुसाहरू सबै प्रशन्न देखिए ।

त्यसपछि प्रमुख अतिथि ढाडे बिरालोले उभिएर भाषण गर्न थाल्यो । उसले भन्यो, "मित्र मुसाहरूले व्यक्त गर्नु भएको भावनाबाट हाम्रो पनि आँखा खुलेको छ । अब मित्रताको युग सुरु हुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ । मित्र मुसाहरूले दिनुभएको यो सम्मान र उपहारको हामीले सम्मान गर्नेछौँ । यसलाई जीवनभरि आफ्नो घाँटीमा धारण गर्नेछौँ । बिरालो र मुसाबीचको मित्रतालाई दिगो बनाउन हामीले पनि कोशिस गर्नेछौँ ।"

ढाडे बिरालोको कुरा सुनेर मुसाहरूले घेरै बेरसम्म ताली बजाए र खुशी जनाए । कार्यक्रमको आखिरमा मुसाहरूले बिरालाहरूलाई पेटभरि खिर ख्वाएर बिदा गरे ।
दुब्ले मुसाको बुद्धि देखेर सबै मुसा दंग परे । उनीहरूले दुब्लेलाई काँधमा बोकेर टोलभरि घुमाए र मिठामिठा कुरा खान दिए । त्यस दिनदेखि बिरालाहरूले जहाँ जाँदा पनि घाँटीमा घण्टी झुण्ड्याएर जान थाले र मुसाहरू पनि निर्धक्क भएर घुम्न थाले ।

खेलाडी गुफी र रोबोट

डिज्नेल्याण्ड कार्टुन कथाका पात्रहरूमा आधारित

अनुवादकः विनय कसजू


दौड सुरु भइसकेको थियो । खेलाडीहरूलाई उत्साहित गर्न दर्शकहरूले ताली बजाएर हल्ला गरिरहका थिए । दौड सकिने अन्तिम रेखामा फोटो पत्रकारहरू फोटो खिच्न तयार थिए ।

खेलाडी गुफी बेतोडसँग दौडँदै लाइनमा आइपुग्यो । उसले दौड प्रतियोगिता जित्यो ।
"गुफी साँच्चै महान खेलाडी हुन् ।" गुफीलाई रुचाउने दर्शक चिच्यायो ।

"ऊ बतासझैँ दगुर्छ ।" अर्को करायो ।

तर त्यहाँ गुफीले जितेकोमा खुशी नहुने एक जना थियो । त्यसको नाम पिटे थियो । ऊ दुष्ट थियो ।

मेयरले गुफीलाई पुरस्कार दिएको पिटेले हेरिरहेको थियो । मेयरले गुफीलाई पदकसँगै ठूलै रकमको चेक पनि दियो ।

"गुफीले पाउने त्यो अन्तिम रकम हो ।" पिटेले मनमनै भन्यो, "अब हुने दौडमा यो चेक मैले पाउनेछु ।" भन्दै पिटेले खुट्टा बजार्यो ।

पुरस्कार बाँडेपछि मेयरले लामो भाषण गर्न लागेका थिए । तर गुफीले "मेरो अलिकति काम बाकी छ ।" भन्दै त्यहाँबाट हिँड्यो ।

सबैभन्दा पहिले ऊ बैँकमा गयो । उसले चेक साटेर नगद लियो । त्यसपछि ऊ खेलकुदका सामान बेच्ने पसलमा गयो । त्यहाँ उसले रकेट, व्याट, बल र खेलका थुप्रै सामान किन्यो । ती सामानको भारी बोकेर त्यहाँबाट ऊ दगर्ुर्दै एउटा घरमा पुग्यो ।

त्यो घरमा आमाबा नभएका टुहुरा केटाकेटीहरू बस्थे । "हेर त केटा हो मैले तिमीहरूको लागि के ल्याएको छु ।"उसले ती केटाकेटीहरूलाई भन्यो ।

खेलाडी गुफी उनीहरूकहाँ जहिले आए पनि उनीहरू खुशीले उफ्रन्थे । गुफी उनीहरूको सबैभन्दा असल साथी थियो ।

गुफीले सबै केटाकेटीलाई खेलकुदका सामान वाँड्यो । उनीहरूले गुफीलाई धन्यवाद दिए । टुहुरा घरका व्यवस्थापकले पनि उसलाई धन्यवाद दियो ।

"अर्को साता फेरि दौड प्रतियोगिता हुँदैछ ।" खेलाडी गुफीले भन्यो, "त्यसमा जितेँ भने पुरस्कारको रकमले केटाकेटीलाई खेल्नको लागि अगाडिको चौर किनिदिन्छु । त्यति भएपछि उनीहरूलाई उफ्रन खेल्न ठाउँ पुग्छ ।"

तर दुष्ट पिटेले अर्कै चाल चल्ने तयारी गर्दै थियो । उसले एउटा रोबोट बनाउँदै थियो । रोबोट तयार भएपछि त्यसलाई गुफीसँग दौडाउने उसको बिचार थियो ।

"मेरो रोबोट साँच्चैको खेलाडीजस्तै देखिने छ । त्यसले सबैलाई झुक्याउने छ ।" पिटे मनमनै हाँस्यो ।

अर्को साता खेलाडीहरू मैदानमा भेला भए । खेलाडी गुफीलाई हेर्न त्यहाँ दर्शकहरूको भीड लाग्यो । उनीहरू गुफी दौडेको हेर्न यति आत्तिएका थिए कि दुष्ट पिटेले ल्याएको नयाँ खेलाडीतिर उनीहरूको ध्यानै गएन ।

"उसको नाम जिप्पी हो ।" पिटेले दौड प्रतियोगिताका निर्ण्ाायकहरूलाई भन्यो ।
खेलाडीहरू दौडने तयारीमा लाइनमा उभिएको बेलामा पिटे पर्खालको आडमा लुक्यो । ऊ रोबोटलाई टाढैबाट चलाउने रिमोट कन्ट्रोलको बटन थिच्न तयार भएर बस्यो । उसलाई कसैले नदेखोस् भन्ने कुरामा ऊ र्सतर्क थियो ।

"एक, दुइ, तीन" को आवाजसँगै खेलाडीहरू बेतोडले दगुर्न थाले ।
खेलाडी गुफी दौड जित्ने कुरामा ढुक्क देखिन्थ्यो । उसले टुहुरा केटाकेटीको बारेमा सोच्दै थियो । टुहुराहरूको लागि खेल्ने चौर किन्न यो दौड जित्नैपर्छ भन्ने उसको मनमा थियो ।

उता पिटे पर्खालको कुनाबाट बाहिर निस्केर रोबोटलाई दौडाउने प्रयास गर्दैथियो । हरेक कदममा जिप्पी रोबोटभन्दा गुफी अगाडि दगुर्दैथियो ।

खेलाडीहरू अन्तिम रेखामा पुग्नै लागेका थिए । पिटे करायो, "तैँले जित्न पाउन्नस् गुफी ।" यति भन्दै पिटेले रोबोटलाई अझै बेतोडले दौडाउन कन्ट्रोलरको एक्ट्रा फास्ट बटन थिच्यो । अचानक जिप्पी रोबोट हावाजस्तै सुइँइँइँय दौडँदै अन्तिम रेखा नाध्यो र दौड जित्यो ।

खेलाडी गुफी दुःखी भयो । दौड हारेपछि टुहुरा केटाकेटीका लागि खेल्ने चौर किन्न सकिन्नथ्यो । तैपनि सच्चा खेलाडी भएको हुनाले उसले जिप्पीलाई बधाइ दियो ।

मेयरले पनि जिप्पीसँग हात मिलाउँदै भन्यो, "लौ लेऊ त्रि्रो पदक र चेक ।"

मेयरले जिप्पीलाई पदक र चेक दिनै लागेको बेलामा पिटे आइपुग्यो । उसले बीचैमा पदक र चेक लिँदै चिच्यायो, "यो म लिन्छु । म उसको म्यानेजर हुँ ।"

पिटेले रोबोटलाई यति जोडले दौडन लगाएको थियो कि त्यसका पर्ुजाहरू भाँचिएर टुक्राटुक्र होला भन्ने उसलाई डर थियो । यसैले उसले पुरस्कार लिन यस्तो हतार गरेको थियो ।

चेक र पदक हात पारेपछि पिटेले जिप्पीलाई लिएर दगुर्न थाल्यो ।

अचानक रोबोटको कानबाट धुवाँ निस्कन थाल्यो । अनि त्यसभित्रको स्प्रिङ उछिटि्टयो । त्यसपछि रोबोटको टाउको खस्यो ।

"त्यो त खेलाडी होइन रोबोट हो ।" मेयरले भने ।

टुक्रिएको रोबोटलाई त्यहीँ छाडेर पदक र चेक लिएर पिटे त्यहाँबाट भाग्न खोज्यो ।

मेयरले उसको बाटो छेक्दै भन्यो, "तँ बेइमान भाग्न पाउन्नस् । रोबोटलाई खेलाडीसँग भिडाउन पाइन्न । तैँले बेइमानी गरिस् ।"

अनि मेयरले उसको हातबाट पदक र चेक खोसेर लिए । उनले खेलाडी गुफीलाई चेक र पदक दिँदै घोषणा गरे, "वास्तविक विजेता तिमी हौ ।"

"जहिले टि्रक गरे पनि म समातिन्छु ।" भन्दै पिटेले रिसले भुइँमा खुट्टा बजार्यो ।

दौड जितेपछि खेलाडी गुफीले आफ्नो वचन पूरा गर्यो । उसले पुरस्कारको रकमले खेल्ने चौर किन्यो । अनि उसले टुहुरा घरका व्यवस्थापकलाई भन्यो, "अब बल्ल केटाकेटीले मन फुकाएर खेल्न पाउने भए ।"

व्यवस्थापकले उसको कुरामा सहमति जनाउँदै भन्यो, "गुफी, तिमी साँच्चै नै केटाकेटीका सबैभन्दा असल साथी हौ । तिमीजस्तो साथी पाउनु ठूलो भाग्य हो ।"

राजुको होमवर्क कसले गरिदियो ?

क्यारोल मूर
अनु. विनय कसजू


राजुले आफ्नो होमवर्क कहिल्यै गर्दैनथ्यो । "कस्तो बोर लाग्छ ।" उसले भन्थ्यो । ऊ जहिले पनि खेलिरहन्थ्यो । उसका शिक्षकहरूले भन्नुहुन्थ्यो, "होमवर्क गरेनौ भने तिमीले केही पनि सिक्ने छैनौ ।" हुन पनि हो, उसलाई केही पनि आउँन्नथ्यो ।

तर उसले के गरोस् ? उसलाई होमवर्क भन्ने बित्तिकै दिक्क लाग्थ्यो ।
एक दिन राजु कोठामा एक्लै खेलिरहेको थियो । कोठाको कुनामा उसको बिरालो खेलौनासँग खेलिरहेको थियो । उसलाई पनि त्यो खेलौनासँग खेल्न मनलाग्यो । उसले अचानक त्यो खेलौनालाई च्याप्प समात्यो । तर त्यो त खेलौना होइन रहेछ । त्यो त खेलौनाजत्रो ख्याक पो रहेछ । उसको जिउ भालुको जस्तो कालो रौँले ढाकिएको थियो ।

राजुको मुठ्ठीमा परेको सानो ख्याक आत्तियो । उसले राजुसँग निहोरा गर्दै भन्यो, "मलाई त्यो बिरालोबाट जोगाऊ । तिमीले जे भन्छौ म मान्छु ।"

उसको कुरा सुनेर राजु छक्कै पर्यो । सेतो भूतलाई मुठ्ठीमा पार्नसक्यो भने भाग्यमानी भइन्छ भन्ने उसले हजुरआमाबाट सुनेको थियो । उसलाई आफ्नो मुठ्ठीमा ठूलो भाग्य परेजस्तो लाग्यो ।

"मेरो सबै होमवर्क यही ख्याकबाट गराउन पाए त सन्चै हुन्थ्यो । होमवर्कमा सबैभन्दा धेरै नम्बर ल्याउन पाए त जाँचमा पहिला हुने थिएँ ।" राजुले बिचार गर्यो । उसको जाँच आउन एक महिनाजति बाकी थियो । उसले ख्याकलाई भन्यो, "लौ मेरो सबै होमवर्क गरिदियौ भने म तिमीलाई छाडिदिन्छु ।"

राजुको कुरा सुनेर त्यो सानो ख्याक आत्तियो । उसले खुट्टा बजार्दै भन्यो, "हे भगवान ! कस्तो आपत आइलाग्यो । जे भए पनि बोलेको कुरा त पूरा गर्नैपर्यो ।"

ख्याकको कुरा सुनेर राजु दंग पर्यो ।

बचनको पक्का त्यो सानो ख्याक राजुको होमवर्क गर्न कस्सियो । उसले राजुको किताब र नोटहरू पढ्न थाल्यो । एकछिन पढेपछि उसलाई समस्या पर्यो । किताबमा उसले नजानेका धेरै शब्दहरू थिए । उसले राजुसँग भन्यो, "तिम्रो होमवर्क त म गर्छु तर तिमीले मदत नगरी हुँदैन । किनभने मलाई कतिपय शब्द थाहा छैन । तिनको अर्थ तिमीले बताइदिनुपर्छ ।"

राजुले पनि खुशीसँग उसलाई मदत गर्छु भुन्यो ।

ख्याकले पढदै जान्थ्यो र बेलाबेलामा राजुसँग शब्दको अर्थ सोध्थ्यो । कुनै शब्दको अर्थ राजुलाई थाहा नभए ख्याकले उसलाई डिक्सनेरी हेर्न लगाउँथ्यो । आधुनिक ज्ञानविज्ञानका शब्दहरू उच्चारण गर्न उसलाई गाह्रो हुन्थ्यो । त्यस्ता विषय राजुले उसलाई सिकाउँथ्यो । कुनैकुनै विषयमा त राजुले पूरै पाठ पढेर उसलाई सुनाउनुपर्थ्र्यो । जे होस् सानो ख्याक आफ्नो काममा इमानदारीसाथ लागेको थियो ।

तर गणितको होमवर्क गर्ने बेलामा सानो ख्याकलाई ठूलै समस्या पर्यो । उसलाई सामान्य जोडघटाउ र गुणाभाग मात्रै आउँथ्यो । गणितका फर्मुुलाहरू उसलाई थाहै थिएन । उसले राजुसँग मदत माग्यो । "मेरो छेउमा बसेर मलाई गणित सिकाउ त । अलिअलि गाइड गर्यौ भने मैले टिपिहाल्छु ।" उसले भन्यो ।

इतिहासको होमवर्क गर्ने बेलामा त्यो सानो ख्याक साह्रै दिक्क भयो । किनकि उसलाई भूतप्रेतको इतिहासमात्रै थाहा थियो । मानिसको इतिहास कत्ति पनि थाहा थिएन । यसैले उसले राजुलाई पुस्तकालयमा गएर इतिहासका किताब ल्याउन लगायो । उसले भन्यो, "यी सबै किताब मैले मात्रै पढ्न सक्दिन । तिमीले पनि पढन सघाउनुपर्यो ।"

यसरी दिनदिनै त्यो सानो ख्याकले राजुको होमवर्क गर्न मेहनत गर्यो । उसले राजुलाई पनि फुर्सत दिएन । नजानेको कुरा सोधिहाल्थो । राती अबेससम्म पढ्थ्यो र राजुलाई पनि सुत्न दिँदैनथ्यो । बिचरा राजु आँखा मिच्दै स्कुल जान्थ्यो । स्कुलबाट र्फकने बित्तिकै सानो ख्याकलाई मदत गर्न बस्थ्यो ।

आखिरमा स्कुलको अन्तिम दिन पनि आयो । होमवर्क पनि सकियो । सानो ख्याकलाई बिदा दिन करै लाग्यो ।

राजुले सबै विषयमा पहिलो श्रेणीको नम्बर पायो । उसका सबै साथीहरू छक्कै परे । उसका शिक्षकहरू पनि दंग भए र उसको तारिफ गरे । उसका आमाबालाई पनि अचम्म लाग्यो । राजुले कसरी यस्तो राम्रो नम्बर ल्यायो भन्ने उनीहरूले थाहै पाएनन् ।

राजुको व्यवहार फेरिएको देखेर पनि उनीहरू छक्क परे । किनकि राजुले आफ्नो कोठा सफा गर्ने, कापी किताब मिलाउने, लुगा स्याहार्ने आदि सबै काम आफैले गर्न थालेको थियो । उसको बोलीबचन पनि नम्र भएको थियो । ऊ अर्कै मानिस भएको थियो ।

सानो ख्याक विदा भएर गइसकेपछि पनि राजुलाई सबै होमवर्क ख्याकले नै गरेको हो भन्ने लागिरह्यो । तर वास्तवमा सानो ख्याकले होइन राजुले नै आफ्नो होमवर्क गरेको थियो ।

 

जुरेलीको पछुतो
विनय कसजू

जुरेली चरी मीठो गीत गाउन नामी थिई । ऊ मेहनती पनि थिई । ऊ दिनभरि खेतबारीमा डुल्थी र बालीनालीलाई नोक्सान पुर्याउने किरा फट्यांग्राहरू खान्थी । किसानले खेत बारी जोतेको बेलामा जुरेली किसानको पछिपछि उडिरहन्थी र माटोबाट निस्केका किरा खान्थी । यसैले किसानहरू जुरेलीलाई माया गर्थे ।

एक दिन एक जना किसानको छोरा राजुले खेतबाट निस्केका किराफट्यांग्रा एउटा बट्टामा बटुल्यो । उसले बट्टाभरिको किरा जुरेलीलाई दिँदै जुरेलीसँग एउटा प्वाँख माग्यो । बट्टाभरि किरा देखेर जुरेली दंग परी । मेहनत नगरीकन यति धेरै किरा खान पाएकोले उसले खुशीसँग आफ्नो एउटा प्वाँख झिकेर राजुलाई दिई ।

भोलि पल्ट पनि राजुले बारीबाट किरा बटुल्यो र जुरेलीलाई बट्टाभरि किरा खान दियो र अर्को प्वाँख लियो । यसरी राजुले दिनदिनै किरा बटुलेर जुरेलीलाई दिन थाल्यो र जुरेलीले पनि आफ्नो प्वाँख राजुलाई दिनथाली ।

मेहनत नगरीकन किरा खान पाएपछि जुरेलीले बारीमा उडन र किरा बटुल्न छाडी । ऊ बिस्तारै अल्छी हुँदै गई । किरा खान बारीमा नआएपछि किसानहरूले पनि जुरेलीलाई माया गर्न छाडे । दिनदिनै राजुलाई प्वाँख दिन थालेकोले उसको प्वाँख पनि सकिँदै गयो । उसले पखेटाको प्वाँख पनि दिई । त्यसपछि ऊ राम्ररी उडन पनि सकिन ।

जाडो याम आयो । राजुले किरा बटुलेर ल्याउन पनि छाड्यो । जुरेलीको पखेटामा थोरै मात्र प्वाँख बाकी रहेकोले ऊ बेगले हावामा उडेर किरा समात्न पनि नसक्ने भई । बिस्तारै ऊ कमजोर हुँदै गई । उसको जिउमा उसलाई न्यानो दिन चाहिनेजति प्वाँख पनि बाकी थिएन । उसलाई जाडो लाग्यो । ऊ बिरामी परी । मेहनत नगरी सजिलोसँग बाँच्न खोजेकोमा पछुताउँदै ऊ मरी ।

बनको दमकल

विनय कसजू

कालु कौवाले आफूलाई निक्कै चलाख ठान्थ्यो । उसले बनको माझमा अग्लो रुखमा गुँड बनाएको थियो । त्यो रुखमा ढुकुर, चिबे, सारौँ, टोकटोकेजस्ता चराहरूले पनि गुँड बनाएका थिए । काले कौवाको गुँड सबैभन्दा माथि रुखको टुप्पामा थियो । कसैले गुँडमा भर्खर फुल पार्न थालेका थिए भने कसैले कोरल्दै थिए । काले कौवाको फुलबाट भने चल्लाहरू निस्किसकेका थिए ।

बनको नजिकै गाउँ थियो । गाउँमा मन्दिर पनि थियो । काले कौवा दिनदिनै मन्दिरमा जान्थ्यो । मन्दिरको पेटीमा लस्करै मूर्तिहरू र तुलसीको महिरो थियो । मानिसहरू मन्दिरमा जाँदा ती मूर्तिहरू र तुलसीको पनि पूजा गर्थे । उनीहरूले महिरोमा धुप बत्ती बालेर फलफूल, रोटी र मिठाई प्रसाद चढाउँथे ।

काले मन्दिरमा गएर प्रसाद खान पल्केको थियो । ऊ सबेरै मन्दिर जान्थ्यो । मन्दिरमा आउने भक्तहरूले कौवालाई देख्दा शुभशुभ बोल भन्थे । मानिसहरू कौवा करायो भने कुनै न कुनै समाचार आउँछ भन्ने ठान्थे । यसैले उनीहरूले शुभ समाचार आओस् भनेर कौवालाई त्यसो भन्ने गर्थे ।

तर कालेको ध्यान मानिसको भनाइमा भन्दा उनीहरूले चढाएको प्रसादमाथि पुग्थ्यो । उसले मानिसहरू अलि टाढा भएको बेलामा बेगले उडेर ठोँडले प्रसाद टिप्थ्यो र परखाल वा नजिकैको रुखमाथि बसेर खान्थ्यो । कहिलेकाहीँ उसले दुना बहुतामा राखेको प्रसाद भाँडैसँग उचालेर पनि लैजान्थ्यो । गुँडमा चल्ला निस्केपछि भने उसले मन्दिरमा भेटाएको प्रसाद गुँडमै लैजान थालेको थियो ।

एक दिन काले कौवा मन्दिरमा पुग्दा मानिसहरूको निक्कै भिड देख्यो । त्यो दिन मन्दिरको वरिपरि लाखबत्ती बालेको रहेछ । तुलसीको महिरो माथि पनि बहुतामा बत्ती बलिरहेको थियो । बहुतमा हलुवा प्रसाद देखेर काले लोभियो । आफ्ना चल्लाहरूलाई हलुवा ख्वाउन उसलाई मन लाग्यो । उसले भिडलाई बेवास्ता गरेर महिरोमाथि बसेर हलुवा टिप्न खोज्यो । तर उसको मुखमा थोरै हलुवा आयो । यसैले उसले हलुवाको बहुतालाई ठोँडले च्याँप्यो र गुँडतिर उड्यो ।

बत्ती बलिरहेको बहुता कौवाले लगेको देखेर मानिसहरू डराए । गाउँमा धेरै घर र गोठहरू खरले छाएका थिए । घर वा गोठको छानामाथि बसेर कौवाले प्रसाद खाँदा खरको छानामा आगो लाग्नसक्थ्यो । यसैले मानिसहरूले हाहा भन्दै कौवालाई केही परसम्म लखेटे । तर कौवा बनतिर लागेपछि उनीहरू फर्के ।

काले कौवा बहुता बोकेर सोझै बनतिर लाग्यो । हावाको बेगले गर्दा बहुताको बत्ती निभिसकेको थियो । तर त्यसमा आगोको फिलिंगो बाकी थियो । कालेले बहुता गुँडमा बिस्तारै बिसायो । चल्लाहरू भोकाएका थिए । तिनीहरूले मुख बाउँदै खानेकुरा माग्न थाले । कालेले हतारहतार तिनीहरूलाई हलुवा ख्वाउन थाल्यो ।

चल्लाहरूलाई हलुवा ख्वाउने सुरमा उसले बहुताको बत्तीको फिलिंगो गुँडमा खसेको चालै पाएन । उसको गुँड सुकेका घाँसपात र झिँजाहरूले बनेको थियो । फिँलिँगोले ती सुकेका घाँस र झिँजालाई टिप्यो । गुँडबाट धुवाँ निस्कन थालेपछि कालेकौवा आत्तियो । उसले का का गर्दै चिच्याउँदै वरपरका चराहरूसँग गुहार माग्न थाल्यो ।

त्यो रुख र वरिपरिका अरु रुखमा गुँड बनाएर बसेका चराहरू उडदै कौवालाई मदत गर्न आए । उनीहरू कौवाको गुँडमा आगो लागेको देखेर आत्तिए । आगो फैलियो भने त्यो रुखमा मात्रै होइन वरपरका रुखमा गुँड बनाएर बसेका चराहरूको फुल र चल्लाहरू पनि डढथे । यसैले सबै चराहरू आत्तिए । उनीहरू रुन कराउन थाले ।

त्यो रुखको फेँदको टोड्कामा न्याउरीमुसाको परिवार बस्थ्यो । चराहरूको हल्ला सुनेर न्याउरीमुसा बाहिर आयो । उसले रुखमाथि धुवाँ देख्यो । उसले कुरा बुझिहाल्यो । ऊ दगुर्दै गुण्टे हात्तीकहाँ पुग्यो । गुन्टे पोखरीमा खेल्दै थियो । उसले सुँडमा पानी भरेर आफ्नो जिउमाथि छम्किरहेको थियो । न्याउरीमुसाले गुन्टेलाई बनमा आगो लाग्नै आँटेको कुरा सुनायो र मदत माग्यो ।

बनमा आगो लाग्यो भने गुन्टेको परिवारको पनि ललहबिलह हुने थियो । बनमा आगो लाग्ने कुरा सुनेर ऊ पनि आत्तियो । उसले तुरुन्तै आफ्नो सुँडमा सकेसम्म धेरै पानी भर्यो र कौवाको गुँडतिर दगुर्यो ।

कौवा बस्ने रुखमा पुग्दा गुन्टे हात्तीले कौवाको गुँडमा आगो बलिरहेको र चल्लाहरू भुइँमा चीँ चीँ गरिरहेको देख्यो । उसले आफ्नो सुँड गुँडतिर फर्काएर सकेसम्म बल गरेर पानीको फोहोराले आगो निभाउन खोज्यो । उसको सुँडमा भएको सबै पानी रित्तिँदा पनि गुँडबाट धुवाँ आउन छाडेन । ऊ फेरि दगुर्दै पोखरीमा पुग्यो र सुँडमा पानी भरेर ल्यायो । यसरी धेरै पटक पानी ल्याउँदै उसले आगो निभायो ।

गुन्टे हात्तीले बनलाई आगोबाट जोगाएकोमा बनका चराहरूमात्रै होइन अरु जानवरहरूले पनि हात्तीको ठूलो गुन माने । उनीहरूले गुन्टेलाई फुलमाला लगाइदिए । गुन्टेलाई मन पर्ने उखु, केरा, मेवा आदि फलफूल उपहार दिए । गुन्टे पनि दंग पर्यो ।

सानेपा, २०६२ मंसिर २० गते ।


जन्मदिनको उपहार
विनय कसजू

भोलि मेरो जन्म दिन हो । मलाई भोलि मेरो स्कुलका साथीहरूले अचम्मको उपहार दिन्छु भनेका छन् । त्यो अनौठो उपहार के होला भनेर जान्न मलाई निक्कै खुल्दुली लागेको छ । कहिले भोलि होला भनेर म आत्तिएको छु ।

मेरो नाम शैली हो । तर मलाई साथीहरूले मिस स्लो भन्छन् । म जहिले पनि स्कुलमा ढिलो पुग्छु । यसैले होला स्कुलमा सर र मिसहरूले पनि मलाई स्लो भनेर बोलाउन थाल्नु भएको छ । तर मलाई स्लो भनेको कत्ति पनि मन पर्दैन ।

म सानो कछुवा हुँ । मेरो घर फेवातालको छेउमा छ । मेरो स्कुल तालको पाल्लो छेउमा छ । स्कुलबाट फर्कने बित्तिकै मलाई तालमा पौडी खेल्दै सानासाना माछा समातेर खान मन लाग्छ । तर आमाले मलाई खेल्न जान दिनुहुन्न सँधै पढ पढ भनिराख्नुहुन्छ ।

म सबै साथीहरूभन्दा पहिले स्कुलमा पुग्न चाहन्छु । तर मेरा हातगोडा छोटाछोटा छन् । जति छिटो दगुर्न खोजे पनि साथीहरूले मलाई उछिन्छन् । पहिलो पिरियडको अंग्रेजी कक्षामा म सँधैजसो ढिलो पुग्छु । त्यसैले अंग्रेजी विषयको जाँचमा थोरै नम्बर पाउँछु ।

म जाँचमा कहिले पनि फेल भएको छैन । सबै विषयमा राम्रै नम्बर ल्याउँछु । तर अंग्रेजीमा धेरै कमजोर भएको हुनाले कक्षामा राम्रो पोजिसन ल्याउन सक्तिन । जति मेहनत गरे पनि कक्षामा राम्रो पोजिसन ल्याउन सकेन भनेर आमा सँधै पिर मान्नु हुन्छ । मलाई खेल्न पनि जान दिनु हुन्न । मलाई ठीक समयमा स्कुल पठाउन कोसिस गर्नुहुन्छ । सबेरै खानेकुरा पकाउनु हुन्छ । मिठोमिठो खाजा राखेर स्कुल पठाउनु हुन्छ ।

मेरो जन्मदिनमा मैले मेरो कक्षाका सबै साथीहरूलाई निम्तो गरेको छु । आमाले मेरा सबै साथीहरूलाई पुग्ने सेल रोटी र अचार बनाउनु भएको छ ।

मेरा साथीहरूले मलाई जन्मदिनको उपलक्ष्यमा अनौठो र निक्कै कामलाग्ने उपहार दिए । म उनीहरूको गुन कहिल्यै बिर्सन सक्तिन । उनीहरूले मलाई पाँग्रा भएको जुत्ता उपहार दिएका छन् । त्यो जुत्ता लाएर अब म खरायोलाई पनि भेट्टाउन सक्छु । अब म सबैभन्दा पहिले स्कुल पुग्छु । कुनै पनि कक्षा छुटाउँदिन । सबै विषयमा राम्रो गर्छु अब आउने जाँचमा फस्ट पोजिसन ल्याउने कोशिस गर्छु । म फस्ट भएँ भने मलाई कम्प्युटर किनिदिन्छु भनेर आमाले भन्नु भएको छ ।

२०६२ मंसिर १५ गते ।

 

 

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of