a presentation of Dreams & Ideas

         
     
   

नेपाल बालसाहित्य समाज
नेवासास NESCHIL

स्थापनाः विक्रम संवत २०४४ साल दशैँ ।
संस्थाको विधानअनुसार बाल भन्नाले १५ वर्षसम्मका बालबालिकालाई जनाउँछ ।
बालसाहित्य भन्नाले "बालबालिकाहरूका निम्ति उपयुक्त भाषा र शैलीमा प्रस्तुत भएका र श्रव्य, दृश्य तथा र्स्पर्शग्राह्य रूपमा तयार गरिएका कुनै पनि विषयका कृति" लाई जनाउँछ ।

उद्देश्यः
बालसाहित्यका लेखक, चित्रकार, सम्पादक, अनुवादक, समीक्षक, शिक्षक, ग्रन्थपाल र प्रकाशक तथा बालविशेषज्ञ, तथा बालकार्यक्रमसँग सम्बद्ध व्यक्तिहरूका बीच सहयोग सौहार्द र सद्भावनाको विकास गर्दै नेपालमा बालसाहित्यको सिर्जना, प्रकाशन, वितरण र पठन कार्यको अभिवृद्धि गर्नु ।

उद्देश्य प्राप्तिका लागि संस्थाले गर्ने कार्यक्रमहरूः
क) समयसमयमा प्रवचन, गोष्ठी र कार्यशालाहरू आयोजना गर्ने ।
ख) वर्षमा एक पल्ट वाषिर्क सम्मेलन गर्ने ।
ग) बालसाहित्यको सम्बर्द्धनका निम्ति प्रतियोगिताहरू गराई पुरस्कृत गर्ने ।
घ) स्तरीय बालपुस्तकहरू प्रकाशित गर्ने ।
ङ) बालसाहित्य र पठनसम्बन्धी अनुसन्धानात्मक पत्रिका र बुलेटिन प्रकाशित गर्ने ।
च) बालबालिकाहरूलाई पठन कार्यमा जागरुक तुल्याउने कार्यक्रमहरूको आयोजना गर्ने ।
छ) विश्वका सर्वश्रेष्ठ बालसाहित्यको नेपाली तथा संभव भएसम्म नेपालका अन्य राष्ट्रिय भाषामा अनुवाद गर्ने र नेपालका बालसाहित्यको विदेशी भाषामा अनुवाद गर्ने ।
ज) नेपालको बालसाहित्यको विकासका सम्बन्धमा बालसाहित्य तथा बालहित सम्बन्धी स्वदेशी तथा विदेशी संस्थाहरूसँग पारस्परिक सहयोग र जानकारीको आदान प्रदान गर्ने ।

सदस्यता
वार्षिक तथा आजीवन सदस्यः बालबालिकाका निम्ति तयार गरिएको कुनै पनि विषयका कृतिका लेखक, अनुवादक, चित्रकार र सम्पादकका साथै बालसाहित्यका समीक्षक, बाल पुस्तकालयका ग्रन्थपाल, बालसाहित्यका शिक्षक, बाल विशेषज्ञ तथा बाल कार्यक्रमसँग सम्बद्ध व्यक्ति संस्थाका आजीवन र बाषिर्क सदस्य बन्नसक्छन् ।

समर्थक सदस्यः बालसाहित्यको सर्म्बर्द्धनमा अभिरुचि लिने कुनै पनि व्यक्ति आजीवन सदस्यका लागि सिफारिसमा निर्धारित शुल्क तिरी समर्थक सदस्य बन्नसक्छ ।

संस्थागत सदस्यः विद्यालय, पुस्तकालय र साहित्यिक, सांस्कृतिक वा प्राज्ञिक संस्थाहरू निर्धारित शुल्क तिरी संस्थागत सदस्य बन्नसक्छन् ।

सम्मानित सदस्यः कार्यसमितिको सिफारिसमा साधारण सभाले सम्मानित सदस्यता प्रदान गर्छ ।

बाषिर्क, आजीवन, र्समर्थक र संस्थागत सदस्यता शुल्क कार्यसमितिले निर्धारण गर्छ ।
कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ६ जना सदस्य गरी जम्मा ११ जना हुन्छन् । कार्यसमिति तीन वर्षका लागि चुनिन्छ । वर्तमान कार्यसमितिको चुनाव २०६१ चैतमा भएको थियो ।

NESCHIL New Executive Committee
नेपाल बालसाहित्य समाजको नयाँ कार्यसमिति गठन

श्री भोला श्रेष्ठ सदस्य, श्री यशु श्रेष्ठ सचिव, श्री शैलेन्दुप्रकाश नेपाल सदस्य, श्री रमेश भट्टराइ उपाध्यक्ष, श्री भिक्टर प्रधान अध्यक्ष, श्री शाश्वत पराजुली महासचिव, श्री कार्तिकेय घिमिरे कोषाध्यक्ष, श्रीमती गंगा कसजू सदस्य र श्री ध्रुव घिमिरे सदस्य । दुइ जना अनुपस्थित ।

नेपाल बालसाहित्य समाजको नयाँ कार्यसमितिले २०७० जेठ ४ गतेदेखि विधिवत कार्यभार सँभालेको छ ।
वि.सं. २०४४ सालमा स्थापना भएको नेपाल बालसाहित्य समाजले विगत २५ वर्षदेखि नेपाली बालसाहित्यका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ । आर्थिक विवाद र असमझदारीका कारणले झण्डै वर्ष दिनसम्म समाज निष्क्रिय रहेको थियो । नयाँ समितिको निर्वाचन पनि हुन पाएको थिएन ।
नेपाली बालसाहित्यका सरोकारवाला विभिन्न पक्षको सहभागिता र सक्रियता रहेको यो समाजलाई पुनः विधिवत संचालनमा ल्याउनका मिति २०६९ चैत्र १० गते विशेष साधारण सभा आयोजना गरिएको थियो । सो विशेष साधारण सभाले श्री रामबाबु सुवेदीको अध्यक्षतामा गठित कार्यसमिति विघटन गरी नयाँ कार्यसमितिको निर्वाचन गराउने दायित्वका साथ श्री मातृका पोखरेलको अध्यक्षतामा श्री गंगा कसजू, श्री हरिप्रसाद भण्डारी, श्री राधेश्याम लेकाली सदस्य र श्री विजयराज आचार्य सदस्य सचिव भएको पाँच सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।
तीन महिनाको कार्यकाल भएको तदर्थ समितिले दुई महिनाभन्दा थोरै समयमा नेपाल बालसाहित्य समाजलाई दुर्घटनाबाट जोगाएर नयाँ तथा सबैको समर्थनप्राप्त नेतृत्व निर्माण गर्ने उल्लेखनीय काम गरेको छ । यसले निर्वाचन समिति गठन गरेर लोकतान्त्रिक तरिकाले तथा सबैको सहमति गराएर निर्विरोध रुपमा सबै पक्षको प्रतिनिधित्व हुने गरी निर्वाचन कार्य सम्पन्न गरेको छ ।
तदर्थ समितिले अन्तराष्ट्रिय बाल पुस्तक दिवसको उपलक्षमा २०६९ चैत्र २० गते नेपाली बालपुस्तक प्रकाशनको अवस्था र चुनौतिबारे विचार गोष्ठीको अयोजना पनि गरेको थियो ।
कामको मेसोमा तदर्थ समितिले केही प्राविधिक तथा मानवीय समस्या पनि भोग्नु परेको थियो । कार्यालय सचिवले जानकारी नदिई काम गर्न छाडेको र कार्यालयको कम्प्युटरमा भएका सबे फाइलहरु नष्ट (डिलिट) भएका थिए ।  साथै  लेखा परीक्षण प्रतिवेदन तथा संस्थाको प्रगति प्रतिवेदन लगायतका कागजात प्राप्त नभएकोले संस्था नवीकरण ग र्ने काम पनि तदर्थ समितिले पूरा गर्न सकेन । 
विषम परिस्थितिमा फसेको संस्थालाई लोकतान्त्रिक तरिकाले निर्वाचनको माध्यमबाट पुनर्गठन गरी नेपाल बालसाहित्य समाजलाई सबै सदस्यका विश्वासपात्र व्यक्तिहरुको हातमा दिन तदर्थ समिति सफल भएको छ ।
नोपल बालसाहित्य समाजको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको नाम यस प्रकार छः
अध्यक्षः श्री भिक्टर प्रधान,
उपाध्यक्षः श्री रमेश भट्टराई,
महासचिवः श्री शाश्वत पराजुली,
सचिवः श्री यशु श्रेष्ठ,
कोषाध्यक्षः श्री कार्तिकेय घिमिरे,
सदस्यहरुः श्री भोला श्रेष्ठ, श्री ध्रुव घिमिरे, श्री शैलेन्दुप्रकाश नेपाल, श्रीमती गंगा कसजू,  श्री एकाराम सिं र श्रीमती अनुराधारा शर्मा

नवनिर्वाचित समितिलाइ पदस्थापन गर्ने कार्यक्रममा तदर्थ समिति र सल्लाहकारहरूका साथमा नयाँ कार्यसमिति ।

प्रकाशनः
नेवासासले बालसाहित्य वार्षिक पत्रिका प्रकाशित गर्दै आएको छ ।
समाजले नेबासास समाचार बुलेटिन बेलाबेलामा प्रकाशित गर्छ ।
समाजले बालसाहित्यका पुस्तक र बालपुस्तक सूची पनि प्रकाशित गर्छ ।
नेपाली बाल विश्वकोशः समाजले युनेस्कोको सहयोगमा नेपाली बाल विश्वकोश प्रकाशित गरेको छ । कोशमा नेपालको भूगोल, इतिहास, साहित्य, कृषि आदि विषय समेटिएका छन् । यसमा ७२० पृष्ठ छन् ।

नेबासास पुरस्कारः
नेबासासले वि.सं. २०४५ देखि प्रत्येक वर्षअघिल्लो वर्षभरि प्रकाशित पुस्तकमध्ये एउटालाई सर्वश्रेष्ठ लेखन तथा चित्रांकनका लागि दुइटा पुरस्कार घोषणा गर्दै आएको छ । तर २०६० सालदेखि लक्षित बालपाठकको उमेरको आधारमा दुइटा पुरस्कार दिन थालिएको छ ।
२०६० सालको चारदेखि सात वर्ष उमेर समूहका लागि लेखिएका पुस्तकमध्येबाट लेखन पुरस्कार "मिलीजुली घर" पुस्तकका लागि शारदा अधिकारीलाई दिइएको थियो भने आठदेखि चौध वर्ष उमेर समूहका लागि लेखिएका पुस्तकमध्ये "चम्किला चौध कोपिला" पुस्तकका लागि विजयराज आचार्यलाई पुरस्कृत गरिएको थियो । चित्रांकन पुरस्कार "कथाकुल" पुस्तकका कलाकार किशोर जोशीलाई प्रदान गरिएको थियो ।

२०६१ सालको चारदेखि सात वर्ष उमेर समूहका लागि नेवासास बालपुस्तक लेखन पुरस्कार "सानी र सुरी" चित्रपुस्तकका लागि शिल्पी प्रधानलाई र आठदेखि १६ वर्ष उमेर समूहका लागि लेखन पुरस्कार "झ्यापुल्लेको विजोग" बालकथा संग्रहका लागि विनयकुमार कसजूलाई तथा चित्रांकन पुरस्कार "सानी र सुरी" चित्रपुस्तकका कलाकार युवक श्रेष्ठलाई दिइएको थियो ।

२०६२ सालको नेवासास बालपुस्तक लेखन पुरस्कार ४ देखि ७ वर्ष उमेर समूहका लागि ध्रुव घिमिरेलाई "खुट्टा गन्ने खेल" चित्रकथा पुस्तकका लागि र आठदेखि १६ वर्ष उमेर समूहका लागि शान्तदास मानन्धरलाई "कमिलाले सुनाएको मुसाको दुलाको कथा" तथा चित्रांकन पुरस्कार "मिलिजुली" चित्रपुस्तकका कलाकार देवेन्द्र पाण्डे 'देवेन' लाई दिइएको छ ।

२०६३ सालको नेवासास बालपुस्तक लेखन पुरस्कार ४ देखि ७ वर्ष उमेर समूहका लागि विनयकुमार कसजूलाई "घडीहरूको जमघट" चित्रकथा पुस्तकका लागि र आठदेखि १६ वर्ष उमेर समूहका लागि अनिल पौडेललाई "आमाचरी" बालउपन्यासका लागि तथा चित्रांकन पुरस्कार "मनुको मने" बालचित्रकथा पुस्तकका कलाकार कीर्तिकिशोर जोशीलाई दिइएको छ ।

सम्मान
नेबासासले बालसाहित्यमा विशेष योगदान दिनेहरूलाई मानार्थ सदस्यता दिने गरेको छ । अहिलेसम्म मानार्थ सदस्यता पाउनु भएका बालसाहित्यकार हरूः
देवकुमारी थापा
कृष्णप्रकाश श्रेष्ठ
शान्तदाश मानन्धर

राष्ट्रिय बालसाहित्य सम्मेलन सम्पन्न
उत्कृष्ट बालसाहित्य लेखन पुरस्कार वितरण

नेपाल बालसाहित्य समाजको १९ औँ वार्षिकोत्सव राष्ट्रिय बालसाहित्य सम्मेनको रूपमा २०६३ फागुन १० र ११ गते विभिन्न कार्यक्रम गरी मनाइयो ।

सो अवसरमा २०६३ मा प्रकाशित बालसाहित्यका पुस्तकहरूमध्ये नेबासास उत्कृष्ट बालपुस्तक लेखन तथा चित्रांकन पुरस्कार वितरण, बालसाहित्य सम्बन्धी विभिन्न विषयका कार्यपत्रमा छलफल, बालसाहित्य पठनसम्बन्धी अन्तर्‍किया, निवन्ध, चित्रकला र सुलेखन प्रतियोगिता गरिएको थियो ।

२०६३ सालको नेबासास उत्कृष्ट बालपुस्तक लेखन पुरस्कार 'घडीहरूको जमघट' चित्रकथा (४-७ उमेर समूह) का लागि विनयकुमार कसजूलाई र 'आमाचरी' बालउपन्यास (८-१६ उमेर समूह) का लागि अनिल पौडेललाई तथा उत्कृष्ट बालपुस्तक चित्रांकन पुरस्कार 'मनुको मने' चित्रकथाका लागि चित्रकार कीर्तिकिशोर जोशीलाई प्रदान गरिएको थियो ।

नेपाल बालसाहित्य समाजका गतिविधिहरू चित्रमा  


नेपाल बालसाहित्य समाजद्वारा २०६३ चैत १६ र १७ गते नुवाकोटमा आयोजित बालसाहित्य सम्मेलन


चितवन जंलग लजको आतिथ्यमा नेपाल बालसाहित्य समाजद्वारा २०६४ बैशाख १० – १२ गते आयोजित बीसौँ साहित्य बनमहोत्सव र लेखन चित्रांकन कार्यशालाका सहभागीहरू

नेपाल बालसाहित्य समाजको २०६४ साउन १२ गते सम्पन्न साधारणसभा

 

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of