a presentation of Dreams & Ideas

         
     
   

बौद्ध जातककथा

मूर्ख मित्र

धनपति नाम गरेको जना धनी मानिसले बाँदर पालेको थियो । बाँदरलाई उसले साथीजस्तै व्यवहार गर्थ्यो । धनी मानिसको ठूलो बगैँचा र फूलबारी थियो । उसले आफ्नोफूलबारीलाई निक्कै माया गर्थ्यो । फूलका बोटहरूलाई आफ्नै हातले गोडमेल गर्थ्यो र पानी हाल्थ्यो ।

एक पल्ट धनपति आफ्नो परिवारसँग तीर्थ जाने भयो । तीर्थ गएर र्फकँदा झण्डै महिना दिन लाग्थ्यो । बगैँचाका बोट बिरुवा र फूलका बेर्नालाई पानी दिइएन र गोडमेल गरिएन भने ती सबै मर्नसक्थे । धनपतिले बाँदरलाई बगैँचा र फूलबारीमा पानी हाल्ने जिम्मा दियो र सपरिवार तीर्थ गयो ।

भोलि देखि बाँदरको काम थपियो । उसले आफ्नो मित्रको बगैँचा र फूलबारीलाई हरियो बनाएर राख्ने अठोट गर्यो । बाँदरले आफ्नो कर्तव्य बडो मेहनतले पालन गर्न थाल्यो ।
सबैभन्दा पहिले उसले इनारबाट पानी झिक्यो र ठूलाठूला भाँडामा पानी सँगाल्यो । त्यसपछि उसले घैँटोमा पानी भर्दै पहिले ठूला बोटहरूमा अनि साना विरुवा र फूलका बेर्नाहरूमा पानी हाल्ने बिचार गर्यो ।

पानी हाल्ने बेलामा ऊ अल्मलियो । ठूला बोट र साना बिरुवालाई पनि उत्तिकै पानी राख्ने कि कति राख्ने ? पानीको मात्रा कसरी अडकल गर्ने ? सबैलाई बराबर पानी दिन मनासिब भएन । के गर्ने ? बाँदरले मनमनै तर्क गर्न थाल्यो । उसले बिचार गर्या, "आखिर पानी खाने त जराले नै हो । कुन बोटबिरुवाको जरा कति तलसम्म गएको छ भन्ने थाहा भयो भने त त्यसलाई कति पानी चाहिन्छ भन्ने थाहा भइहाल्छ ।"

उसलाई यो उपाय निक्कै उचित लाग्यो । त्यसैले उसले बोटबिरुवामा पानी हाल्नुभन्दा पहिले हरेक बोट बिरुवालाई उखेलेर त्यसको जरा कति लामो छ भनी हेरेर अनि फेरि त्यो बोटलाई जमिनमा गाडेर मात्रै पानी हाल्न थाल्यो । उसले बडो मेहनत गरेर दिनभरिमा बगैँचाको एक भागका बोट बिरुवामा मात्रै पानी हाल्न भ्यायो । पूरै बगैँचा र फूलबारीका बोट बिरुवामा पानी हाल्न उसलाई पूरै एक साता लाग्यो । एक सातापछि फेरि पहिलो दिन पानी हालेको बोट बिरुवामा पानी हाल्ने पालो आयो । यसरी उसले मित्र धनपति तीर्थबाट नफर्के सम्म एक छिन पनि फुर्सत पाएन । दिनभरि मेहनत गरेर उसले बगैँचा र फूलबारीको भुइँ पानीले चिसो पारेर राख्न सफल भयो । तर भुइँ चिसो भए पनि धनपति र्फकँदासम्म सम्पूर्ण बोट बिरुवा सुकेर बगैँचा उजाड भइसकेको थियो । मित्र बाँदरको तर्क सुनेर बिचरा धनपति निक्कै पछुतायो । त्यसैले मूर्ख साथी हुनुभन्दा विद्वान शत्रु बेस भनिन्छ ।

माथि

 

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of