a presentation of Dreams & Ideas

         
     
   

बौद्ध जातककथा

हिलेकौवा

बनमा एउटा पोखरी थियो । पोखरीको किनारामा हिलेकौवा बस्थ्यो । पोखरीमा पाइने माछा खाएर उसले परिवार पालेको थियो । त्यही ताका काशी नगरमा खडेरी पर्यो । मानिसहरूलाई पेटभरि खान गाह्रो हुनथाल्यो । उनीहरूले कुकुर र कौवालाई जुठोपुरो दिन छाडे । त्यो नगरका कुकुरहरू अर्को नगरमा गए भने कौवाहरू बनतिर लागे ।

यौटा कौवा अफ्नी पत्नीलाई लिएर बनको माझमा भएको पोखरीमा पुग्यो जहाँ हिलेकौवा बस्थ्यो । उसले पनि हिलेकौवाको घरसँगै आफ्नो घर बनायो । कौवाले हिलेकौवा पानीभित्र पसेर माछा समातेर ल्याएको अनि पानीबाट निस्केर आफ्ना प्वाँख सुकाएको देख्यो । हिलेकौवासँग मितेरी लायो भने माछा खान पाइन्छ भन्ने उसले बुझ्यो । त्यसपछि ऊ हिलेकौवाको पछिपछि धाउन थाल्यो ।

एक दिन हिलेकौवाले कौवासँग किन आफ्नो पछि लागेको भेनर सोध्यो । कौवाले भन्यो, "म हजुरको नोकर भएर सेवा गर्न चाहन्छु । मलाई तपाईँले खाएर बाकी रहेको माछाको टुक्रा दिनु भए पुग्छ ।" कौवाको कुरा उसलाई चित्त बुझ्यो । त्यस दिनदेखि कौवाले हिलेकौवाको सेवा गर्न थाल्यो । हिलेकौवाले पनि दिनदिनै माछा मारेर उसलाई दिने गर्थ्यो ।

केही दिनपछि कौवाको मनमा आत्मसम्मान जाग्यो । उसलाई हिलेकौवाको चाकरी गरेर बस्न मन लागेन । उसले आफैले पानीमा पसेर माछा किन नमार्ने भनेर विचार गर्न थाल्यो । उसले आफ्नो मनको कुरा हिलेकौवालाई पनि सुनायो । तर हिलेकौवाले उसलाई होसियार पार्दै भन्यो, "तिमी पानीमा डुब्ने हिलेकौवा जातको चरा होइनौ । यसैले पानीमा पसेर आफैले माछा मार्ने कुरामा बिचार पुर्याऊ ।"

तर कौवाको आत्मसम्मानले घमण्डको रूप लिइसकेको थियो । ऊ हिलेकौवाको कुरा नसुनी पोखरीमा गयो । उसले हिलेकौवाले झैँ माथि पुगेर हावामा कावा खाँदै पानीमा डुबुल्की मार्यो । तर पानीभित्र उम्रेको झ्याउमा उसको जिउ फँस्यो । ऊ बाहिर निस्कन सकेन र निसास्सिएर मर्यो ।

माथि

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of