a presentation of Dreams & Ideas

         
     
   

हान्स क्रि एन्डरसन

सलाई बेच्ने सानी केटी

धेरै वर्षपहिलेको कुरा हो । साँझ परिसकको थियो । ठिहिर्याउने जाडो थियो । जोडले हिउँ परिरहेको थियो । त्यो चिसो र अँध्यारोमा एउटी गरिब सानी केटी बाटोमा हिँडिरहेकी थिइन् । उनका खुट्टा र कपाल दुबै नाङ्गा थिए । हुन त उनी घरबाट हिँडदा उनका खुट्टामा एक जोडी चप्पल थियो । वास्तवमा त्यो चप्पल उनकी आमाको थियो । तर त्यो चप्पल यति धेरै ठूलो थियो कि उनले बाटो काट्दा दुइटा ठूला गाडीहरू बेतोडले दौडेको हुनाले ती गाडीबाट जोगिन खोज्दा ती चप्पल उनका खुट्टाबाट हराए । एउटा चप्पल भेटिँदै भेटिएन । अर्को चप्पल एउटा केटाले ठूलो भएपछि आफ्नो बच्चालाई डाँडी बनाउन काम लाग्छ भनेर जबर्जस्ती लग्यो ।

यसैले सानी केटी नाङ्गा खुट्टाले हिँडिरहेकी थिइन् । चिसोले गर्दा उनका गोडाहरू राता र नीला भइसकेका थिए । एउटा थाङ्ने थैलोमा केही सलाईहरू र हातमा एक मुठा सलाईका काँटी लिएर उनी बेच्न हिँडेकी थिइन् । तर दिनभरि घुम्दा पनि कसैले उनको सलाई किनेेको थिएन । न त कसैले उनलाई सुका पैसा नै दिएका थिए । जाडो र भोकले लुग्लुग काम्दै उनी कुक्रुक्क परेर हिँडिरहेकी थिइन् । बिचरी ती केटी दुःखकी मूर्तिजस्ती देखिन्थिन् । उनका नरम कपालमाथि बरफको भुवा झरिरहेको थियो । बरफका भुवाजस्ता डल्लाहरू उनको कुममाथि थुप्रिएको थियो । तर उनलाई त्यसको वास्तै थिएन ।

सडक किनाराका घरका झयालहरूमा बत्ती बलिरहेका थिए । नयाँ वर्षको अघिल्लो साँझ भएको हुनाले घरघरमा नयाँ वर्ष मनाउन मिठामिठा परिकार पाकिरहेका थिए । हाँसको सेकुवाको लोभ्याउने गन्ध फैलिएको थियो । मानिसहरूले नयाँ वर्ष मनाउने तयारी गरिरहेको कुरा सानी केटीलाई थाहा थियो । दुइटा घरको बीचको एउटा कुनामा उनी थचक्क बसिन् र घुँडाको माझमा च्युँडो राखेर सकेसम्म खुम्चिइन् । तर यसरी पनि उनले जाडो भगाउन सकिनन् । एक डब्बा सलाई पनि नबिकेको र घरमा लैजान एक मोहोर पनि नभएकोले उनी घर फर्कनसकिनन् । सलाई नबेची घर गएको खण्डमा उनको बाले उनलाई पिट्ने निश्चित थियो । यस बाहेक घरभित्र पनि यहाँजस्तै चिसो थियो, उनीहरूको एकतले घरको भित्ताका प्वालहरू पराल र थाङनाले टाले पनि छानामुनि निक्कै बतास चल्थ्यो ।

चिसोले गर्दा उनका सानासाना हातहरू कठयाँग्रिएर झण्डै जमे । सलाईको काँटी भित्तामा कोरेर बाल्नसके कठयांग्रिएका औँलाहरूलाई नरम पार्न सकिन्थ्यो होला । एक मुठा सलाईबाट एक काँटी सलाई झिकेर के होला र ? उनले भित्तामा एउटा काँटी रगडिन् । झयार्र्रर्र गरेर काँटी बल्यो । बलेको काँटीमाथि उनले हात राखिन् । त्यसले सानो मैनबत्तीले जस्तै न्यानो र उज्यालो दियो । साँच्चै नै त्यो अनौठो उज्यालो थियो । उनलाई ठूलो न्यानो अगेनोको छेऊमा बसेजस्तो लाग्यो । सलाईको काँटी कस्तो राम्रोसँग बल्यो ! उनलाई यस्तो न्यानो लाग्यो कि गोडा पनि तताउने बिचारले उनले गोडा अगाडि पसारिन् । तर सलाईको काँटी निभ्यो । न्यानो अगेनो गायब भयो । उनको हातमा आघा डढेको ठूटोमात्रै बाकी रहृयो ।

उनले अर्को काँटी भित्तमा कोरिन् । झिलिक्क भएर ज्वाला निस्क्यो । त्यसको उज्यालो जहाँ पर्यो त्यो भित्ता झुल जत्तिकै पारदर्शी भयो । उनले कोठाभित्र हर्ेन सकिन् । हिउँजस्तो सेतो कपडाले टेबुल छोपिएको थियो । त्यसमाथि भोजका परिकारहरू सजाइएका थिए । सिँगै हाँस सेकेर राखिएको थियो । त्यसलाई स्याऊका टुक्रा र किसमिसले सिँगारिएको थियो । अझै अनौठो के भयो भने हृयाकुलोमा चक्कु र काँटा रोपिएको हाँसको त्यो सिँगो सेकुवा किस्तीबाट उफ्रेर तल ओल्र्यो र सानासाना पाइला चालेर कोठाको भुइँ पार गरेर सानी केटीकहाँ आइपुग्यो । त्यसै वेला सलाई निभ्यो । त्यसपछि त उनको सामुन्ने बाक्लो, भिजेको र चिसो भित्ताबाहेक केही देखिएन ।

उनले फेरि अर्को काँटी कोरिन् । यस पटक उनले आफूलाई सिँगारिएको राम्रो क्रिसमस वृक्षमुनि पाइन् । उनले धनी व्यापारीको घरमा ऐनाको ढोकाबाट देखेको क्रिसमस वृक्षभन्दा यो धेरै ठूलो र राम्रो थियो । रुखका हरिया हाँगाहरूमा हजारौँ मसिना मैनबत्तीहरू बलिरहेका थिए । पसलका सोकेसहरूमा देखेजस्ता रङ्गीन चित्रहरू त्यसमा झुण्डयाइएको थिए । सानी केटीले क्रिसमसको रुखतिर हात फैलाइन् , अनि त्यसै बेला सलाई निभ्यो ।

क्रिसमसका बत्तीहरू माथिमाथि हुँदै गए । यतिमाथि गए कि तिनीहरू आकासका ताराजस्ता देखिए । अनि उनले एउटा तारा खसेको देखिन् । तारा झर्दा त्यसको पछाडि आगोको रेखाजस्तो देखियो । "कोही मर्न लागेजस्तो छ," सानी केटीले सोचिन् । तारा झर्दा कुनै आत्मा र्स्वर्गमा जान्छ भनेर उनकी हजुरआमाले उनलाई भनेको उनले सम्झिन् । यो संसारमा उनलाई माया गर्ने उनकी हजुरआमा मात्रै थिइन् । उनी पनि बितिसकिन् ।

उनले फेरि अर्को काँटी भित्तामा कोरिन् । उनको वरिपरि उज्यालो फैलियो । त्यो उज्यालोमा उनले बूढी हजुरआमालाई देखिन् । उनी उज्याली र स्पष्ट साथै कोमल र मायालु देखिन्थिन् । "हजुरआमा," सानी केटी चिच्याइन्, "मलाई पनि आफूसँगै लैजानुस् । सलाईको काँटी निभ्ने बित्तिकै न्यानो अगेनो, सेकेको हाँस, ठूलो राम्रो क्रिसमस रुख हराएजस्तै तपाई पनि हराउनुहुनेछ । मलाई थाहा छ ।" यसैले उनले सलाईको पूरै मुठा बाल्न हतार गरिन्, किनकि उनले हजुरआमालाई आफूकहाँ नै राख्न खोजेकी थिइन् । सलाईको काँटीको मुठा बल्दा दिउँसो जत्तिकै उज्यालो भयो । त्यो उज्यालोमा उनकी हजूरआमा साह्रै भव्य र राम्री देखिइन् । उनले सानी केटीलाई अँगालोमा कसिन् र ती दुबै जना त्यो उज्यालोमा रमाउँदै पृथ्वीको माथिमाथि गए । उनीहरू जाडो, भोक, दुःख, पीडा केही नहुने ईश्वरकहाँ गए ।

विहान सबेरै मानिसहरूले सानी केटीलाई भित्तामा अडेसलाएर बसेको देखे । उनका गाला पहेँलिएका थिए तर उनको मुख हाँसिरहेको थियो । नववर्षो पूर्वसन्ध्यामा उनी जमेर मरेकी थिइन् । नयाँ वर्षो र्सर्ूयको किरण सानो लासमाथि टल्क्यो ! मृत्युले उनको शरीरलाई दरो बनाएको थियो । उनको हातले सलाई समातिरहेको थियो । सलाईको एक मुठा बलिसकेको थियो । "उनले आफूलाई तताउने प्रयास गरी," कसैले भन्यो । नववर्षो दिनमा उनले कस्तो राम्रो कुरा देखिन्, अनि आफ्नी हजुरआमासँग उनी कुन गरिमामय लोकमा प्रवेश गरिन् भन्ने कसैले पनि अनुमान गर्नसकेन ।

माथि

मूल पृष्ठमा जाउँ

   
   
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of