a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

आफ्नो आफ्नो डम्फू

खोलापरि हरियो कलकलाउँदो घाँस उम्रेको देखेर एउटा बोकालाई लोभ लाग्यो । तर ऊ खोला तरेर परि जान सक्तैनथ्यो । उसले एउटा उपाय सोच्यो ।

खोलाको तिरैमा एउटा सुरिलो रुख थियो । रुख मुन्तिर मुसाको परिवार बस्थ्यो । बोकाले मुसालाई भन्यो, "मुसा भाइ, मलाई एउटा गुन लाउनु पर्यो । तिमीहरू जुन रुखको जरामा बसेका छौ त्यो रुखको जरा खनेर त्यसलाई खोलामाथि पल्टाइ दियौ भने म त्यसमाथि चढेर खोलापारि गएर हरिया घाँस खान पाउँछु । तिमीहरूले पनि खोलापारि गएर घाँसका पोटिला बिउ खान पाउँछौ ।"

मुसाले भन्यो, "दढीवाल दाइ, यो काम हामीबाट हुँदैन, किन भने आफू बसेको घर आफै भत्काउनु बुद्धिमानी होइन ।"

बोका निराश भयो । त्यो साल त्यत्तिकै बित्यो ।

अर्को वर्ष त्यो रुखको हाँगामा चिलले गुड बनायो, फुल पार्यो र चल्ला काढयो । माउ चिलले रुखको फेँदमा बस्ने मुसाहरूलाई पालैपालो मारेर आफ्ना चल्लालाई ख्वाउन थाल्यो । मुसाहरू रिसले चूर भए । उनीहरूले रुखको वरिपरि खाल्टो खन्न थाले । रुख ढलेर चिलको गुँड भत्क्यो । चल्लाहरूको ललह बिलह भयो ।

ढलेको रुखको टुप्पाले खोलापारिको बगरमा टेकेको देखेर बोका मख्ख पर्यो । ऊ दिनदिनै रुखको पुलमाथिबाट खोलापारि गएर हरिया घाँस खान थाल्यो र निक्कै मोटायो ।

२०५६।२।१३


माथि

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of