a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

आत्मघाती मौरी !

माधे संक्रान्तिको दिन थियो । कुसुम र रेसम घाममा बसेर तिलको लड्डु, ध्युचाकु, तरुल, सकरकन्द खाँदै थिए । अचानक एउटा मौरी भुनभुन गर्दै खानेकुरामाथि उडन थाल्यो । कुसुमले हात झट्कारेर मौरीलाई धपाउन खोजिन् ।

"ऐय्या" भन्दै कुसुमले हत्केला समातिन् र रुन थालिन् । मौरीले उनको हत्केलामा चिलेछ ।

कुसुम रोएको सुनेर आमा के भयो ? भन्दै हेर्न आइन् । कुसुमको हत्केलामा मौरीले चिलेको ठाउँमा मौरीको खिल बाकी रहेछ । आमाले हत्केलामा गडेको खिल निकालिन् ।

"एउटा मौरी हाम्रो खाने कुरा खान आएको थियो । कुसुमले हातले धपाउन खोज्दा टोकेजस्तो छ ।" रेसमले आमालाई भनिन् ।

एउटा मौरी घाइते भएर भुईँमा छटपटाइरहेको थियो । मौरीलाई देखेर कुसुम रुन छाडिन् । एक छिनपछि त्यो मौरी मर्यो ।

"मौरी किन आफै मरेको आमा ?" रेसमले जान्न खोजिन् ।

आमाले भनिन्, "जीवजन्तुसँग शत्रुबाट जोगिनका लागि कसैसँग सिङ हुन्छ, कसैसँग विष हुन्छ, त कसैसँग केही अंग हुन्छ । जस्तै गुलाफको फूल टिप्न खोज्यो भने काँढाले घोच्छ । सर्पलाई चलायो भने त्यसले टोक्छ । त्यसको दाँतमा विष हुन्छ । बिच्छीको पुच्छरमा डस्ने काँढा र विष हुन्छ । त्यस्तै अरिँगाल, बारुला र मौरीको पुच्छरमा तिखो सियोजस्तो अंग हुन्छ जसलाई खिल भनिन्छ । कसैले मौरीलाई जिस्क्यायो वा मार्न खोज्यो भने त्यसले शत्रुको जिउमा खिल गाडिदिन्छ र त्यो खिल त्यसको पुच्छरबाट छुट्टिएर शत्रुको जिउमा गडछ । तर खिल छुट्टिपछि मौरी मर्छ ।"

"तर र्सप, विच्छीले टोक्दा त तिनीहरू मर्दैनन् नि आमा ! किन मौरीले चिल्दा मौरी मरेको ?" कुसुमले जान्न खोजिन् ।

आफ्नो स्वतन्त्र राज्य पुनर्स्थापना गर्न खोज्ने प्यालेस्टिनी, बेग्लै राज्य स्थापना गर्नखोज्ने श्रीलंकाका तमिलहरू आफ्नो जिउभरि बम, गोला आदि विस्फोटक हतियार बाँधेर शत्रुलाई पनि मार्छन् र आफू पनि मर्छन् । तिनीहरूलाई आत्मघाती लडाकूहरू हुन्छन् भन्ने रेसमले सुनेकी थिइन् । यसैले उनले भनिन्, "मौरीहरू आत्मघाती लडाकूहरू होलान् नि त !"

तर मौरीजस्तो मेहनती जीवले किन आफ्नो रक्षा गर्नखोज्दा आफै मर्नु परेको होला भन्ने कुसुमको खुल्दुली मेटिएन । हुन पनि हो, मौरीले दिनभरि मेहनत गर्छ । दिनभरिमा हजारौँ फूलहरू चहारेर मिठो, गुलियो, पोसिलो र गुनिलो मह बनाउँछ । मानिसले मौरी पाल्छ र बदलामा मौरीको घारबाट टपटप मह चुहुने चाका झिक्छ । र्सप र विच्छीले झैँ मौरीले अरुलाई तर्साउने, दुःख दिने वा डसेर मार्ने काम गर्दैन । तैपनि मौरीले आफ्नो रक्षा गर्नखोज्दा उल्टै ज्यान गुमाउनु पर्ने किन ? आफ्नो सन्तानको लागि संगालेको मह जोगाउनु तिनीहरूको अधिकार होइन र ? यो त मौरीमाथि अन्याय भएन र ?

उनको कुरा सुनेर आमा खै कुन्नी भन्दै भान्छातिर लागिन् । जाडोको बिदा सकिएपछि स्कुलमा गएर यो कुरा पत्ता लगाउनु पर्ला भनेर कुसुमले चित्त बुझाइन् ।

२०६० माघ ८ गते

नवयुग मासिक, वर्ष १४, अंक ५, २०६० चैतमा प्रकाशित ।

माथि

 


मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of