a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

अटेरी घडीहरू

राती बाह्र बजे बूढो पेण्डुलम घडीलाई बाह्र पटक ट्वांग ट्वांग घंटी बजाउन निक्कै गाह्रो पर्थ्यो । जाडोमा त झन उसको घण्टीको आवाज दमको रोगीले ध्यारध्यार गरेजस्तै सुनिन्थ्यो । घरपटीले उसको त्यो दिक्कलाग्दो आवाज सुनेको भए उसलाई उहिले नै बुंइगलमा मिल्काइसक्थे होलान् वा कवाडीलाई बेचिसक्थे कि ।

तर त्यो बूढो घडीको रवाफ अझै घटेको थिएन । हरेक रात बाह्र बजे त्यो बूढो घडी बाह्र पटक खोक्थ्यो । त्यसपछि घडीहरूको मिटिङ सुरु हुन्थ्यो । त्यो घरमा भएका सबै घडीहरूले अनिवार्य रूपमा मिटिङमा भाग लिन्थे ।

घरमा भाँतीभाँतीका घडीहरू थिए । कुनै युरोपमा बनेका, कुनै जापानमा अनि कुनै भारतमा बनेका थिए । धेरैजसो घडीहरू घरबेटीका छोराछोरीको जन्म दिनमा साथीहरूले उपहार दिएका सस्ता खालका थिए । कुनै घडी पन्ध्रपन्ध्र मिनेटमा कराउँथे, कुनै आधा घण्टामा अनि धरैजसो घडीहरू हरेक घण्टा मिठो स्वरले समय बताउँथे । केही घडीहरू लाटाजस्ता बोल्दै नबोल्ने पनि थिए । कुनै घडी दम दिएर चल्थे भने धेरैजसो घडीहरू बेट्रीले चल्थे । पेण्डुलम भएको घडी एउटामात्रै थियो ।

विभिन्न खालका घडीहरूमध्ये दम दिएर चल्ने र युरोपमा बनेका घडीहरूको बेग्लै सान थियो । तिनीहरू कोही स्विट्जरलैण्ड त कोही इंग्लैंडमा जन्मेकोमा गर्व गर्थे र अरुसँग बोल्दा इज्जत घटेको ठान्थे । तर बेट्रीले चल्ने नयाँ घडीहरू भने उच्च कुलको घमण्ड गर्ने घडीहरूलाई टेर्दैनथे । उनीहरूले भनेको कुरा काट्न पाउँदा उनीहरूलाई मज्जा आउँथ्यो ।

त्यो घरमा एउटा रोबोट मेसिन पनि थियो । त्यसको भित्र पनि एउटा घडी थियो । घडीकै अनुसार त्यो रोबोट चल्ने गर्थ्यो । तर त्यसको अनुहारमा सुई वा अक्षरहरू नभएको हुनाले अरु घडीहरूले त्यसलाई घडी नै ठान्दैन थे । त्यसैले उसलाई रातीको मिटिङमा बोलाउँदैनथे । तैपनि ऊ घडीहरूको मिटिङमा भाग लिने गर्थ्यो । खास गरी बूढो पेण्डुलम घडीको कुरा सुन्दा उसलाई बडो मज्जा आउँथ्यो । अब कति दिन सुन्न पाइएला र उसको कुरा ? यसैले बेलैमा सुनिराख्नु पर्छ भन्ने ऊ सोच्थ्यो ।

मिटिंगमा छलफलको विषय सँधैजसो उही हुन्थ्यो । पाका घडीहरूले आआफ्नो अनुभव सुनाउँथे । खास गरी बूढो पेण्डुलम घडीको अनुभव निकै पुरानो र रोचक हुन्थ्यो । उसको कुरा जहिले पनि "म बीर शम्शेरको दरबारमा छँदा" भन्ने वाक्यबाट सुरु हुन्थ्यो । नेपालमा घण्टाघर बनाउँदा नमुनाको रूपमा ऊ नेपाल आएको हो भन्ने उसको दाबी थियो । तर अरु घडीहरूले उसको कुरा पत्याउँदैन थे । तैपनि उसले यो कुरा भन्न कहिल्यै छाड्दैनथ्यो । राणा दरबारभित्र हुने रोचक तथा सनसनीपर्ण घटनाहरू सुनाउन पाउँदा उसलाई आनन्द लाग्थ्यो । त्यस्तै अरु घडीहरूले पनि उहिलेका कुरा सुनाउँथे । तर बेट्रीले चल्ने आधुनिक घडीहरूसँग त्यति धेरै अनुभव थिएन । उनीहरूसँग रमाइला कुरा पनि थिएन । यसैले तिनीहरू उहिलेका कुरा खुइलिए भनेर बूढाहरूको कुरालाई हाँसोमा उडाउँथे ।

मिटिङको अर्को विषय हुन्थ्यो अनुशासन । ठिटा घडीहरूले अनुशासनको पालन उतिसाह्रै गर्दैनथे । बूढा घडीहरूको भनाइ के थियो भने घडीको मुख्य र एकमात्र काम नै मानिसलाई समयको जानकारी गराउनु हो । यदि त्यो कर्तव्य पूरा गर्न सकिएन भने घडी भएर बाँच्नुको कुनै अर्थ हुँदैन । तर तन्नेरी घडीहरू भने समय दिनेमात्रै हाम्रो काम होइन, मिठो संगीत सुनाउनु र राम्रो भएर कोठा सजाउनु पनि घडीको काम हो भन्थे । घडीहरूको मिटिङमा यो विषयमा निक्कै चर्काचर्की छलफल हुन्थ्यो । यदि मिठो संगीत सुनाउने र कोठा सजाउने काममात्रै गरेर ठिक समय दिनसकेन भने घरपटीले त्यस्तो घडीलाई घुर्यानमा मिल्काउनसक्छ भनेर बूढा घडीहरूले ठिटा घडीहरूलाई कहिले सम्झाउँथे, त कहिले तर्साउँथे ।

मिटिङमा कसैले वास्ता नगर्ने रोबोटको गुनासो बेग्लै थियो । समय पालनमा उसलाई कसैले पनि उछिन्न सक्तैनथ्यो । उसलाई पनि घडी मानेर अरुसमान व्यवहार गरिनुपर्छ भन्ने उसको दाबी थियो । उसको के पनि भनाइ थियो भने यदि कुनै पनि घडी बिग्य्रो भने उसले मरमत गर्नसक्छ । तर बूढो पेण्डुलम घडी विग्य्रो भने बनाउन सकिन्छ भन्ने कुरामा रोबोट आफैलाई विश्वास थिएन ।

रातभरि करायो दक्षिणा हरायो भनेझैँ ठिटा घडीहरूले मिटिङका कुरालाई पालन गर्ने त के कुरा गंभीरतापूर्वक पनि लिएनन् । पुरानो घडीहरूलाई नयाँ घडीहरूले टेर्दैटेरेनन् । उनीहरू मौकाबेमौका बज्न र कराउन छाडेनन् ।

यसरी घडीहरूले फरकफरक र गलत समय बताउन थालेपछि घरको काम गडबड हुनथाल्यो । खास गरी भान्छेले बेलामा भान्छा तयार पार्न सकेन । बेलामा खाना नपाकेपछि विद्यार्थीहरू ठिक समयमा स्कुल जान पाएनन् । छोरा बुहारीहरू बेलामा अफिस र अरु काममा जान पाएनन् । शान्त स्वभावका घरबेटी र उनकी पत्नीको आराम गर्ने, औषधी र खाना खाने अनि लेखपढ गर्ने समय पनि गडबड भयो । बेलामा खाना, औषधी र आराम नपाएपछि उनीहरू बिरामी पर्न थाले ।

अटेरी घडीहरूले यसरी हैरान पारेपछि एक दिन घरबेटीले पुरानो पेण्डुलम घडीलाई बाकी राखेर अरु सबै घडी झिकेर बुइँगलमा थन्क्याइदियो ।

राती बाह्र बज्यो । बूढो पेण्डुलम घडीले बाह्र पल्ट खोक्यो र अरु घडीलाई मिटिङमा भाग लिन बोलायो । तर त्यो दिन कुनै पनि घडीले मिटिङमा भाग लिएनन् । एक्लो रोबोटमात्रै बूढो घडीको नजिक उभियो । बूढो घडीले सोध्यो, "अरु घडी कहाँ गए ?"

"आज त घरबेटी रिसाएर सबैलाई बुइँगलमा राखिदिए । सबैको बेट्री र चाँपी पनि झिकिदिएका छन् । कोही पनि चुँ बोल्न नसक्ने भएका छन् ।" रोबोटले बडो दुःख मनाउ गर्दै भन्यो ।

"मैले त भनेकै हुँ । यसरी अटेरी नहोऊ भनेर कति सम्झाएँ । मानेनन् । आखिर यो दिन पनि देख्नुपर्यो म बूढोले । यसरी म एक्लै बाँच्नसक्तिन होला । तिमी त रोबोट हौ केही उपाय गर्नसक्छौ कि ?"

बूढो घडीको टिठलाग्दो कुरा सुनेर रोबोटको मन पनि पग्ल्यो । तै पनि उसले भन्यो, "खै ती बैगुनीहरूको पनि के भलो गर्ने ? मलाई कहिल्यै घडी नै ठान्दैनन् तिनीहरू ।"

रोबोटसँग निहोरा गर्दै बूढो घडीले भन्यो, "त्यसो नभन रोबोट । बैगुनलाई गुनले मार्नुपर्छ । बरु अब उप्रान्त अनुशासनमा बस्छु भनेर कबुल्याएर उनीहरूलाई जीवन दान देऊ ।"

बूढो घडीको कुरा सुनेर रोबोट बुइँगलमा गयो । उसले त्यहाँ थुप्रिएका घडीहरूलाई हेर्यो । ती घडीहरू मरेका गंगटाका खपटाझैँ भुइँमा फैलिएका थिए । रोबोटले सबैले सुन्ने गरी भन्यो, "तिमीहरू नभएर पेण्डुलम घडी साह्रै पिरोलिएका छन् । उनले तिमीहरूको हालचाल बुझ्न र सकिन्छ भने सबैलाई व्युँताउन उनले मलाई पठाएका हुन् । हुन त तिमीहरूले मलाई घडी नै ठान्दैनौ । तर पेण्डुलम घडीको कुरा काट्न नसकेर म यहाँ आएको हुँ । यदि तिमीहरूले मलाई पनि घडी नै ठान्छौ र समयको अनुशासन पालन गर्ने बाचा गर्छौ भने म तिमीहरू सबैलाई ब्युँताउनसक्छु ।"

रोबोटको कुरा सुनेर हलचल गर्न नसकेर पल्टेका घडीहरूको अनुहार चहकिलो भयो । तिनीहरूले रोबोटसँग माफी मागे र अब उप्रान्त उसलाई पनि आफूसरह ठान्ने अनि पेण्डुलम घडीको आदेश पालन गर्ने बाचा गरे ।

राबोटले पनि निस्क्रिय भएका घडीहरूमध्ये कुनैमा बेट्री राखेर अनि कुनैमा दम दिएर सबैलाई सक्रिय बनाइदियो । उसले ती घडीहरूलाई तिनको पुरानै ठाउँमा सजाएर राखिदियो ।

भोलि बिहान ६ बज्दा सबै घडीले एकै समयमा एकै सुरमा मिठो संगीत बजाएको सुनेर घरपटी छक्क र दंग भयो । उसले रेडियो खोलेर ६ बजेको समाचार सुन्यो । सात बजे बुहारी भान्छामा पसिन् । केटाकेटीहरू स्कुल जान तयार भएर भान्सामा खाजा खान पस्दा सबै घडीले एकै सुर र संगीतमा नौ बजाएर केटाकेटीको स्वागत गरे । सबै घडीले एकै सुरमा मिठो धुन बजाउँदा बूढो पेण्डुलम घडीको नमिठो ध्यारध्यार पनि बिलायो ।

२०६० मंसिर ४, बिहीबार

(कान्तिपुर कोसेलीमा, २०६० चैत २० गते प्रकाशित)

माथि

 

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of