a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

विरालोको घाँटीमा घण्टी

लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो । बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो । बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने बिरालोबाट जोगिन पनि सजिलो थियो । बैठक कोठामा राखेको सिसाको खापा भएको किताब राख्ने दराजभित्र उसले आफ्नो न्यानो घर बनाएको थियो । त्यसमाथि थप मज्जा के थियो भने दराजको सामुन्ने टेलिभिजन थियो । दराजभित्र बसेर सिसाभित्रबाट लुकीले टेलिभिजन हेर्नसक्थ्यो ।

घरमा घरपटी बाबु आमा छोरी र छोरा गरी चार जना थिए । बाबुले टेलिभिजन खोलेर समाचार हेर्थ्यो । कहिलेकाहीँ ज्ञान विज्ञान, प्रविधि र आविष्कारका कुरा पनि हेर्नेगर्थ्यो । आमाले कथा श्रृंखला कार्यक्रम हेर्न रुचाउँथिन् । छोरीलाई फिल्म र फेसन मनपर्थ्यो भने सानो छोरा कार्टुन हेर्न भनेपछि हुरुक्क गर्थ्यो । कार्टुन पनि उसले टम र जेरी नामक मुसा र बिरालोको कथा निक्कै रुचाउँथ्यो ।

लुकीलाई पनि टम र जेरीको कार्टुन कथा मनपर्थ्यो । सुरुमा त बिरालो टम र मुसा जेरीको झगडा, मारामार देख्दा लुकी निक्कै डराउँथ्यो । जेरीले टमलाई झुक्याएको र दुःख दिएर हैरान पारेको देखेर उसलाई निक्कै रमाइलो लाग्न थाल्यो जेरीले टमलाई हायलकायल पारेको देख्दा लुकी पेट मिचीमिची हाँस्थ्यो ।

बिहान छोरी र छोराले स्कुलको गृहकार्य गर्नु पर्ने र दिनभरि स्कुल जाने हुनाले लुकीले विहान र दिउँसो कार्टुन र्हेर्न पाउन्नथ्यो । दिउँसो आमाले रुचाएको टेलिश्रृंखला हेर्थिन् । दिनभरि बाबु पनि घरमा हुन्नथ्यो । बाबुले विहानमात्रै टेलिभिजन हेर्ने समय पाउँथ्यो । टेलिभिजनमा उसले समाचार र विज्ञान तथा आविष्कारका च्यानलहरू हेर्थ्यो । लुकीलाई मन परे पनि नपरे पनि ती कार्यक्रमहरू हेर्नुपर्थ्यो ।

एक विहान बाबुले टेलिभिजन हेर्दैथियो । बनका जीवजन्तुहरूलाई जोगाउन के प्रयास गरिँदै छ भन्ने कार्यक्रम देखाइँदै थियो । त्यो कार्यक्रम हेरेर लुकीले नयाँ कुरा थाहा पायो । बनमा बस्ने केही पशुपंछी तिनीहरू बस्ने बन र बासस्थान मासिन थालेको रहेछ । तिनीहरूले खाने फलफूल, बनस्पति पनि नपाइन थालेछ । अनि मानिस र अरु जीवजन्तुले तिनको सिकार गर्नाले यो संसारबाटै केही जीवजन्तु हराउन लागेका रहेछन् । तिनीहरूको बस्ने वातावरण संरक्षण गर्ने, मनग्गे खाने कुरा पुर्याउने र तिनलाई मानिस र अरु जीवहरूबाट जोगाउने प्रयास भइहरेको कुरा पनि टेलिभिजनमा देखाइँदै थियो ।

लुकीले टेलिभिजन हेर्दै थियो । केही मानिसहरूले बनबिरालोलाई रबरको गोली हानेर बेहोस पारेर समाते । उनीहरूले बनबिरालोको कानको पछाडि सिमीको दानाजत्रो यन्त्र बाँधिदिए । केही बेर पछि बनबिरालो होसमा आयो र दगुरेर बनमा हरायो । मानिसहरू खुशी भए र उनीहरूले एउटा यन्त्रमा हेरे । त्यसमा बनबिरालो कुन दिशामा र कति टाठा छ भन्ने देखाइरहेको थियो । मानिसहरूले घेरै बनबिरालो समाते र ती सबैको कानको पछाडि ट्रान्समिटर यन्त्र जडान गरेर छाडिदिए । यसरी बनबिरालोको दैनिक गतिविधि पत्ता लगाएर तिनीहरूको बासस्थान, भोजन र सुरक्षाको व्यवस्था गर्न सजिलो भएको कुरा लुकीले पनि थाहा पायो ।

त्यो कार्यक्रम नसिद्धिँदै लुकीको मनमा एउटा महत्वपूर्ण विचार आयो । बिरालोबाट जोगिन सजिलो होला भनेर मुसाहरूले बिरालोको घाँटीमा घण्टी बाँध्ने प्रयास गरेको धेरै वर्षभयो । यो प्रयासमा धेरै मुसाले ज्यान पनि गुमाए । तै पनि तिनीहरूले यो प्रयास रोकेका थिएनन् । मुसाहरूको यो ऐतिहासिक प्रयास अब सफल हुन्छ भन्ने लुकीलाई लाग्यो । ऊ आफ्ना साथीहरूलाई खोज्न गयो ।

साथीहरूलाई भेटेर लुकीले मुसाहरूको भेला डाक्यो । भेलामा बूढापाका मुसाहरू, दुलोदेखि दरबारसम्म बस्ने मुसाहरू, तन्नेरी मुसा, बुद्धिमान मूसा, जोसिला मुसा, बलिया मुसा, लड्नभिडन खप्पिस मुसा आदि अनेक थरीका अनेक सीप भएका मुसाहरू आए । लुकी मुसाले टेलिभिजनमा बनबिरालोको जिउमा ट्रान्समिटर जडेर त्यसको गतिविधि थाहा पाउने उपाय गरेको देखेको कुरा सुनायो ।

लुकीको कुरा सुनेर धेरै मुसाहरू उत्साहित भए । हुन त बिरालोले घाँटीको घण्टी चुँडालेर फालेझैँ ट्रान्समिटर फाल्न सक्तैनथ्यो । तर समस्या उही थियो । बिरालोको जिउमा कसरी ट्रान्समिटर जडने ? बूढा मूसाहरूले यसमा पनि पुरानै समस्या देखे । तर जोसिला र होसियार मुसाहरूले यसको पनि उपाय निकाले । उनीहरूले कामको वाँडफाँट गरे ।

इन्जिनियरिङ क्याम्पसको ल्याबमा बस्ने मुसाले यस्तो ट्रान्समिटर यन्त्र ल्यायो जसबाट निरन्तर एक प्रकारको मसिनो ध्वनि निस्कन्थ्यो । मुसाहरूले मात्रै त्यो ध्वनि सुन्नसक्थे ।

औषधी पसलको स्टोरमा बस्ने मुसाले निँद लाग्ने औषधी ल्यायो । बिरालोले खाने दूध वा मासुमा त्यो औषधी मिसाइदियो भने बिरालो दिनभरि बेहोस भएर निदाउनसक्थ्यो ।

अस्पतालको अपरेसन कक्षमा बस्ने मुसाले डाक्टरले चिरफार गर्ने र सिउने औजार र सामान ल्यायो । यसबाट बिरालोको पुच्छर वा कुनै अंगमा ट्रान्समिटर जडान गरेर सिउन सजिलो भयो ।

केही मुसाहरूले ढाडे बिरालो कहाँ बस्छ र कहाँ कहाँ चोरेर खान्छ भन्ने पत्ता लगाए । सबै सामान जुटेपछि ढाडे बिरालोले जुन भान्छाबाट सँधै दूध चोरेर खाने गर्छ त्यही भान्छा कोठामा बस्ने मुसाले दूधमा निँद लाग्ने औषधीको धेरै चक्की मिसाइदियो । त्यसपछि केही मुसाहरू कहिले बिरालोले दूध चोर्छ र बेहोस हुन्छ भनेर चियो गरेर बसे ।

राती घरका सबै मानिस निदाइसकेपछि ढाडे बिरालो चाल मारेर भान्छा कोठामा पस्यो । ऊ सरासर दूधको कुँडेतिर गयो र कुँडेभित्रको दूघ मज्जाले पियो । दूध सकिएपछि कुँडेको वरिपरि लागेको खोतर चाटेर खायो । अनि मुख र जुँगा चाट्दाचाट्दै बिरालो निँदले लठ्ठ परेर त्यही भान्छाको भुइँमै पल्ट्यो ।

मौका छोपेर मुसाहरू आआफूले जिम्मा लिएको काम गर्न हतारिए । अस्पतालमा बस्ने तीखे मुसाले चक्कुले बिरालोको मोटो पुच्छरमा गहिरो घाऊ बनायो । इन्जिनियरिङ क्याम्पसमा बस्ने मुसाले ट्रान्समिटर पुच्छरमा जडेपछि तीखेले घाऊ सिइदियो । उसले घाउको वरिपरि व्याण्डेज बेरेर नफुस्कने गरी बलियोसँग बाँधिदियो ।

अब ढाडे बिरालो जहाँ गए पनि त्यसको पुच्छरमा जडेको ट्रान्समिटरबाट निस्केको ध्वनि संकेत पाँच मिटर वरिपरिका मुसाले सुन्नसक्थे । यसरी ढाडेबाट जोगिन मुसाहरूलाई निक्कै सजिलो भयो । मुसाहरूलाई अब बिरालोले झुक्याएर मार्न नसक्ने भयो । उनीहरूको जीवन अब सजिलो र रमाइलो पनि भयो । तर बिरालोले भने मुसाको सट्टा दूध अनि भान्छा र भण्डार कोठामा भएको माछा मासु रोटी खाएर गुजारा गर्नुपर्ने भयो ।

साँचल, सानेपा, ललितपुर
२०६० चैत २१ गते ।

(कान्तिपुर कोपिला, २०६१, जेठ १ गते प्रकाशित)

 

 

 

माथि

 


मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of