a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

गीत गाउने मयुर

मयुर नाच्नमा नामी थियो । बनमा हुने हरेक नाच प्रतियोगितामा उसले पुरस्कार पाउँथ्यो । तर उसलाई नाच्न जानेर मात्रै चित्त बुझेन । उसलाई कोइलीको जस्तो मिठो स्वरले गाउन पनि मन लाग्यो । उसले कोइली, मैना, जुरेलीजस्ता गाउन सिपालु चराहरूसँग गाउन सिकाइदिन अनुरोध गर्यो । उसले ती गाउने चराहरूले भनेभनेको मान्यो । उनीहरूले खाएजस्तै खानेकुरा खान थाल्यो । दिनदिनै छहराको छेउमा गएर गाउने अभ्यास गर्यो । बनबाट मैनाले खोजेर ल्याइदिएको जडीबुटी खायो । उसले सुरिलो स्वर निकाल्न धेरै मेहनत गर्यो ।

झण्डै वर्षदिनजति मेहनत गरेपछि बिस्तारै उसको स्वर फेरिन थाल्यो । एक दिन मयुरको गला राम्ररी खुल्यो । उसको गलाबाट यस्तो मिठो स्वर निस्कन थाल्यो कि त्यस्तो मिठो स्वरमा अहिलेसम्म कुनै पनि चराले गाएको थिएन । मयुरको गीत सुनेर जस्तै रिसाहा जन्तु पनि सुधो हुन्थ्यो । भोको चितुवाले पनि मृग मार्न बिर्सेर उसको गीतमा रमाउँथ्यो । मयुरले गीत गाउन थालेपछि बनमा शान्ति छाउँथ्यो ।

मयुर मिठो गाउन सक्ने भएकोमा आफै दंग पर्यो । नाच्नमा त ऊ सिपालु छँदै थियो । अब उसले आफैले गाएको गीतमा नाच्न थाल्यो । आफै गाउँदै ऊ हावाझैँ हलुँगो भएर नाच्थ्यो । उसले गाउँदै नाचेको हेर्न बनका जानवर र चराहरू झुम्मिन्थे । मयुरको गीतको बयान एक कान दुई कान हुँदै बन बाहिर पनि फैलियो । मानिसको समाजमा पनि मयुरको गीतको चर्चा हुन थाल्यो । मानिसले मयुरको नाच त हेरेकै थियो । अब उसलाई मयुरको गीत पनि सुन्न मन लाग्यो ।

मानिस जाल लिएर बनमा गयो र मयुरलाई समातेर घरमा ल्यायो । उसले फलामको ठूलो पिंजडा बनाउन लगायो र मयुरलाई पिंजडामा थुन्यो । नाच्ने गुण हुँदाहुँदै गाउने पनि गुण हासिल गरेकोमा मयुर पछुतायो । एउटै गुणमा सन्तोष गरेको भए आज यो दुर्दशा हुने थिएन भन्ने उसलाई लाग्यो ।

२०६१ चैत १८ गते ।


माथि

 


मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of