a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

कान्छाको मोटर

मोटर नै नपुग्ने गाउँमा सरुले अचम्मको मोटर देख्यो । घाँटीमा दाम्लो बाँधेर बोका डोर्याएझैँ एउटा केटोले मोटर डोर्याइरहेको थियो । रुखको हाँगालाई चारैतिरबाट ताछेर बसको जस्तो लाम्चो जिऊ बनाएर त्यसमा मसीले झ्याल ढोकाको आकार कोरिएको थियो । अगाडितिर काठ कोपेर ड्राइभर बस्ने कोठा पनि बनाइएको थियो । पुराना हवाइचप्पललाई गोलो आकारमा काटेर चार वटा पाँग्रा बनाई किलाले पाँग्रा अड्याएर मोटर गुड्ने बनाइएको थियो ।

बाटो ओह्रालो भएको भए त्यो मोटर आफै गुडने थियो होला । उकालो भएकोले कान्छाले डोरीले बाँधेर तानिरहेको थियो । सरु उसकी आमासँग गाउँतिर जाँदै थिए । रेल, मोटर, साइकलजस्ता खेलौना भनेपछि हुरुक्कै गर्ने सरुलाई त्यो मोटरले तान्यो । उसले आफ्नी आमासँग त्यो मोटर मागिदिन जिद्दी गर्न थाल्यो ।

सरुको जिद्दी देखेर उसकी आमाले मोटर डोर्याइरहेको कान्छासँग सोधिन्, "बाबु त्यो मोटर कहाँ किनेको ?"

शहरका सुकिला मानिससँग बोल्न, कुरा गर्न कान्छले संकोच मान्यो । उसकी आमाले भनिन्, "कहाँबाट किन्नु ? यो त ऊ आफैले बनाएको हो ।"

त्यति सानो बालकले आफैले मोटर बनाएको सुनेर सरुकी आमा पनि छक्कै परिन् र थप कुरा जान्न खोजिन् ।

कान्छाले बजारमा जाँदा बस देखेको थियो । त्यस्तै बस बनाउन पाए हुन्थ्यो भन्ने उसको चाहना थियो । यसैले ऊ बस देख्यो कि बडो गहिरिएर हेर्ने गर्थ्यो ।

एक दिन उसले दाउराको भारीबाट डोलो कमलो काठ रोज्यो र हँसियाले तास्दै, खुकँदै उसले बसजस्तो लामो आकार बनायो । बस गुडाउने पांग्रा बनाउन उसले सिसीको बिर्को खोज्यो र पुरानो किलाले बिर्कोको माझमा प्वाल पारेर पांग्रा बनायो । तर टिनको बिर्कोको पांग्राले राम्ररी काम गरेन । अनि उसले फाटेको पुरानो हवाइचप्पल पाँग्राको आकारमा गोलो काटेर माझमा किलाले प्वाल पारेर काठको बसको चारतिर किलाले अडकायो ।

चार वटा पांग्रा भएपछि त्यो काठको टुक्रा गुड्न पनि थाल्यो र त्यो साँच्चिकै बसजस्तो देखियो । त्यसमा उसले कलम मसीले झ्याल र ढोका लेख्यो । ड्राइभर बस्ने कोठा बनाउन उसले अलि मेहनत गर्नु पर्यो । चक्कुको टुप्पाले तास्दै, खुर्कँदै उसले सानो कोठाजस्तो ठाउँ बनायो । अनि त त्यो काठको बस लोभलाग्दो खेलौना बनिहाल्यो ।

कान्छाको मेहनत र जाँगर देखेर सरुकी आमा दंग परिन् । उनलाई कान्छालाई इनाम दिन मनलाग्यो । सरुले पनि मोटर किन्ने जिद्दी गरेको हुनाले उनले त्यो मोटर बेच्छौ कि भनी सोधिन् ।

"यस्तो पनि बिक्छ र ?" कान्छाकी आमाले अचम्म मान्दै जवाफ दिइन् ।

"मेरो छोरालाई पनि यस्तै मोटर चाहियो भनेर जिद्दी गरेको छ । कान्छाले आफैले यस्तो राम्रो मोटर बनाउन जानेको रहेछ । उसले फेरि अर्को बनाउन सकिहाल्छ होइनर ?" सरुकी आमाले कान्छाको तारिफ गर्दै भनिन् । उनले दश रुपैयाँको नोट कान्छाको हातमा दिन खोज्दै मोटर मागिन् ।

कान्छाको जीवनमा दश रुपैयाँ कहिले पनि हातमा परेको थिएन । ऊ अत्तालियो र रुपैयाँ लिनुको साटो आफ्नो प्यारो मोटरलाई दुइहातले चाँपेर छातीमा टँास्यो र आमासँग टाँसिएर उसले आफू र आफ्नो प्यारो मोटरलाई लुकाउन खोज्यो ।

उसकी आमाले उसको हातबाट मोटर खोस्न खोज्दै भनिन्, "दे न दे । दश रुपैयाँ दिनु भएको छ । तैँले अर्को बनाउन सकिहाल्छस् नि । नभए तँलाई बजारबाट प्लास्टिकको राम्रो मोटर किनेर ल्याइदिउँला ।"

"नाइँ आमा नाइँ यो मोटर दिन्न ।" कान्छाले यतिमात्रै भन्नसक्यो । ऊ आमाको फरियाले मुख छोप्दै रुन थाल्यो ।

पैसा थपि दिए मान्छ कि भनेर सरुकी आमाले बीस रुपैयाँको नोट कान्छालाई दिँदै भनिन् । "लौ बाबु यति पैसाले त बजारमा प्लास्टिककै खेलौना मोटर पाइन्छ । तिमी आफैले पनि मोटर बनाउन जानेकै छौ । यस्तै अर्को बनाए भइहाल्यो नि ।"

उनले कान्छाको हातैमा नोट राखिदिन खोजिन् । तर कान्छाले त्यो नोट लिएर बाटोमुन्तिर फालिदियो । उसलाई आमामाथि पनि भर भएन । भुंग्रोबाट हात झिकेझैँ ऊ अचानक आमासँग छुट्टिएर मोटर लिएर बेतोडसँग घरतिर कुद्यो ।

(गोरखापत्र संस्थानद्वारा प्रकाशित मुना मासिक बाल पत्रिका वर्ष१४ अंक ५ पूर्ण्ाांक १६१, मिति २०६१ वैशाखको अंकमा छापिएको)

साँचल सानेपा, ललितपुर
२०६० कार्तिक १८ गते ।

माथि

 

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of