a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

कर्केको केबुलकार

फुच्चे लोखर्केको आँखा सानैदेखि टेढो थियो । उसका साथीहरूले उसलाई कर्के भनेर बोलाउँथे । कर्के आफ्नी आमासँग पिपलको अग्लो रुखको टोडकोमा बस्थ्यो । टोडको भुइँभन्दा दुई तले घरजति अग्लो हाँगामा थियो । टोडको सानो तर गहिरो थियो । कर्केकी आमाले टोडकोभित्र सुकेका घाँस पराल र पातहरू ओछयाएर न्यानो कोठा बनाएकी थिई । कोठाको एक छेऊमा बाहिरबाट बटुलेर ल्याएका ओखर, सुपारी, सुकेका फलफूल राख्ने ठाउँ थियो । अर्को छेऊमा कर्केका खेलौनाहरू थिए ।

उनीहरू बस्ने त्यो पिपलको रुख गाउँको नजिकै थियो । रुख धेरै झयाँगिएको र तीन तले घरभन्दा अग्लो थियो । पिपलको रुखमा फल्ने पहेँला फल मौरी, बारुला, चरा, चमेरा, मुसा, लोखर्के आदि सबैले रुचाउँथे । पिपलको बोटको टुप्पामा चिलको गुँड थियो भने तलतलका हाँगामा कौवाको गुँड थियो । राती भुद्रुङ, चमेरा र अरु चरा पनि रुखमा बास बस्थे ।

कर्केले खाएर बाकी रहेको ओखरका बोक्रा, बाहिर घुम्न जाँदा भेट्टाएका कागतका टुक्रा, टिन र प्लास्टिकका बिर्को र सानासाना भाँडाहरू बटुलेर कोठामा राख्थ्यो । उसले नचाहिने सामान थुपारेर कोठा साँगुरो भयो भनेर उसकी आमा कराउँथी । तर कर्के भने ती थोत्रा सामानलाई खेलौना बनाएर खेल्न रुचाउँथ्यो । ऊ गाउँतिर घुम्न गएको बेलामा गाउँका केटाकेटीले त्यस्ता सामान बटुलेर खेलेको देख्थ्यो र उसलाई पनि खेल्न मन लाग्थ्यो ।

एक पल्ट कर्केले ओखरको गुदी खाएपछि बाकी रहेको आधा ओखरको डुँगा बनायो । उसले ओखरको माझमा बाँसको झिँजा अड्यायो अनि झिँजामा पात राखेर पालले चल्ने डुँगा जस्तो बनाएर खाल्टोमा जमेको पानीमा राखिदियो । बतास चल्दा पातलाई बतासले घचेट्यो र ओखरको डुँगा आफै सररर पानीमा बगेर अर्को छेऊमा पुग्यो ।

आफ्नो नयाँ खेलौना देखेर कर्के आफै दंग पर्यो । उसले त्यो खेल धेरै पटक दोहोर्यायो । उसले बनका अरु साथीहरूलाई पनि डाक्यो र आफ्नो सिर्जना देखायो । उएटी पुतली उडदै आई र म डुँगामा बसुँ है भन्दै डुँगाको एक छेऊमा बसी । पुतली हलुँगी थिई यसैले डुँगा पल्टेन, अलिकति हल्लियो मात्रै । पातभन्दा पुतलीका पखेटा ठूला थिए । उसले पखेटा फिँजार्दा बतासको चाप अघिभन्दा धेरै पर्यो । डुँगा अघिभन्दा धेरै छिटो पानीको पल्लो छेऊमा पुग्यो । त्यसपछि मौरी, बारुलाहरू डुँगामा चढे । उनीहरू नडराइकन चढेको देखेर गोब्रेकिरा, कमिला आदि उड्न नसक्ने किराहरू पनि डुँगामा चढेर पानीको खाल्टोको अर्को छेऊमा पुगे ।

ओखरको डुँगा त बडो काम लाग्ने कुरा रहेछ भनेर कर्केका साथीहरूले उसको तरिफ गरे । कर्के खुशीले मख्ख पर्यो । उसलाई यस्तो नयाँनयाँ काम गर्ने जाँगर बढ्यो ।

एक दिन कर्केले गाउँबाट नरिवलको साह्रो बोक्रा ल्यायो । सिपालु मानिसले नरिवल फुटाल्दा ठिक्क आधाभाग निस्केर कटौराजस्तो बनेको थियो । उसले कटौराको दुईतिर प्वाल पारेर लहराले बाँधेर बाल्टिनजस्तो गरी बोक्न मिल्ने बनायो । नारिवलको बोक्राको बाल्टिनजस्तो भाँडामा खानेकुरा र उसको अरु खेलौना बाहिरबाट बोकेर रुखको टोडकोमा पुर्याउन कर्केलाई निक्कै सजिलो भयो । यस्तो काम लाग्ने भाँडा बनाएको देखेर उसकी आमा पनि खुशी भई र अरुको अगाडि कर्केको तरिफ गर्न थाली ।

कर्केले एक दिन गाउँमा गएको बेलामा चुँडेको चंगाको धागो भेट्टायो । धागो मोटो र बलियो थियो । उसले गाउँमा मानिसले खाँबोमाथि डोरी टाँगेर लुगा सुकाएको देखेको थियो । उसलाई पनि त्यस्तै गरी धागो टाँग्न मन लाग्यो । उसले धागोको एउटा टुप्पा आफू बस्ने टोडकोको हाँगामा बाँध्यो र अर्को टुप्पा नजिकैको खनियाको बोटमा बाँध्यो । अब उसलाई खनिया खान जानको लागि पिपलको बोटको भुइँमा झर्नु परेन ।

दुई हातले धागोमा झुण्डिएर ऊ लहैलहै गर्दै खनियाको रुखमा पुग्थ्यो र पेटभरि खनिया खाएपछि त्यही धागोमा झुण्डिदै र्फकन्थयो । तर उसले धागोको बाटोबाट खनिया बोकेर टोडकोमा लैजानसक्तैनथ्यो । उसले यसको लागि पनि जुक्ति निकाल्यो ।

कर्केले नरिवलको बोक्राको बाल्टिनलाई पिपल र खनियाको बोटको बीचमा टाँगेको धागोमा झुण्डयायो । अनि त्यसमा बसेर उसले हातले धागो समात्दै बाल्टीलाई पिपलबाट खनियाको बोटसम्म र खनियाको बोटबाट पिलको बोटसम्म लग्यो । यसरी उसले धागोबाट आफू र खनिया पनि ओसारपसार गर्ने व्यवस्था गर्यो । आफ्नो जुक्ति सफल भएपछि उसले साथीहरूलाई पालैपालो बाल्टिनमा राखेर ओहोरदोहोर गरायो । कर्केको बुद्धि देखेर उसका साथीहरू निक्कै दंग भए । उसकी आमा दंग नहुने त कुरै भएन । साथीहरूको सल्लाहअनुसार उसले धागोमाथि बाल्टिन झुण्डयाएर आवतजावत गर्ने व्यवस्थाको नाम झोलुंगे गाडी राख्यो ।

खनिया पाकेको बेलामा खनिया ओसार्न त सजिलो भयो तर त्यो काम सँधै गर्नु पर्दैनथ्यो । उसलाई त बाहिरबाट बटुलेका खानेकुरा ओसार्नुपर्थ्यो । भुइँबाट टोडकोसम्म ओखर, सुपारी फलफूल ओसार्न कर्केकी आमालाई पनि साह्रै मेहनत गर्नु पर्थ्यो । यसैले उसले भुइँदेखि टोडकोसम्म सामान ओर्सार्ने अर्को झोलुंगे गाडी बनायो ।

अब, कर्के र उसकी आमाले बनबाट बटुलेर ल्याएको मालसामान झोलुंगे गाडीमा राख्थे । त्यसपछि कर्केले गाडीको एक छेऊमा अर्को धागो बाँध्थ्यो । अनि ऊ धागोको अर्के छेऊ समातेर पिपलको रुखमा चढेर टोडकोमा पुग्थ्यो र त्यहाँबाट धागो तानेर झोलुंगे गाडीलाई टोडकोमा पुर्याउँथ्यो । यसरी कर्केको नयाँनयाँ काम गर्ने बुद्धि र जाँगरले गर्दा उसकी आमालाई पनि निक्कै सजिलो भयो ।

कर्केको यो काम पिपलको रुख र वरिपरि बस्ने अरु चराचुरुंगीका लागि रमाइलो लागे पनि उनीहरूले यसलाई खेलको रूपमा लिएका थिए । तर एक दिन त्यहाँ चराचरुंगी र साना जीवजन्तुहरूले झोलुंगे गाडिको महत्व बुझे । किनकि त्यो गाडी नभएको भए उनीहरूको गुँडमा भएका फुल, चल्ला र साना जीवजन्तुका छाउराहरूको ज्यान जोगिने थिएन ।

झोलुंगे गाडी बनेको केही दिनपछि पिपलको रुखमा एउटा सर्प आउन थाल्यो । सर्प रातीराती आउँथ्यो र चराहरूको गुँडका फुल, चल्ला र छाउराहरू खान्थ्यो । त्यसलाई घपाउने उपाय उनीहरूसँग थिएन । बरु उनीहरूले बसाइ नै सर्ने बिचार गरे । अग्लो रुखमाथि गुँडमा भएका फुल, चल्ला र छाउराहरूलाई भुइँमा पुर्याउन कर्केको झोलुंगे गाडीले मदत गर्यो । कर्केले चराका गुँडहरू भएको हाँगामा धागो टाँगेर झोलुंगे गाडीबाट सबैका फुल, चल्ला र छाउरा ओरालिदियो । चरा र जन्तुहरूले कर्केको धेरै गुन माने र उसलाई फलफूल र खानेकुरा इनाम दिए ।

एक दिन कर्के र उसकी आमाको ज्यानमाथि नै खतरा आइलाग्यो । एउटा डरलाग्दो बनबिरालो पिपलको रुखमाथि चढन थाल्यो । कौवा, ढुकुर र सारौँ चराहरूले ठूलो स्वरले चिच्याएर उनीहरूलाई र्सतर्क गराए । चराहरू कराएको सुनेर कर्के र उसकी आमाले टोडकोबाट बाहिर हेरे । बनबिरालो रुखमाथि चढिरहेको देख्यो । उनीहरू रुखबाट ओर्लेर भाग्नसक्ने अवस्था थिएन । कर्केले तुरुन्तै भाग्ने जुक्ति निकाल्यो । उसले झोलुंगे गाडीको धागो फुकायो । त्यसभित्र उसकी आमालाई राख्यो र आफू पनि बस्यो अनि हतारहतार धागो तान्दै अर्को रुखमा पुग्यो । त्यहाँबाट उनीहरू बनबिरालोले भेट्टाउन नसक्ने सुरिलो रुखको टुप्पामा पुगे । बनबिरालो हिस्स परेर फर्क्यो ।

२०६१ असार ३ गते ।

माथि

 

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of