a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

खुवा र बिरालो

पाँच पाथी अटाउने कराहीमा दूध भक्भक् उम्लिरहेको थियो । एउटा बिरालो दूधको कराहीको छेऊमा बसेर हेरिरहेको थियो । दूध बाक्लो भएर खुवाको मिठो बास आउन थालेको थियो । बिरालोले कराहीको बाक्लो दूध खान धेरै पटक कोसिस गर्यो, तर तातो बाफले पोलेर बिरालो म्याउँ गरेर पछि सर्थ्यो । कहिले दूध चिसो होला र खाउँला भनेर पर्खने धर्ैय उसँग थिएन, किनकि धरका बूढाबूढी आइपुगे भने उसले खुवाको सट्टा लट्ठी खानुपर्थ्यो ।

त्यो बिरालोको जिजुबुवालाई पनि त्यो घरमा उसको कुन पुस्ता आएको हो र कहिलेदेखि त्यो घरमा खुवा बनाउन थालिएको हो भन्ने थाहा थिएन । त्यो बिरालोलाई यतिमात्र थाहा थियो कि गाउँभरिका घरहरूमध्यो त्यो घरमा जत्तिको दूधको पौल अरु घरमा थिएन । गाउँमा चार्डपर्व तिथि सराद पर्दा जसले पनि त्यही घरमा दूध लिन आउँथे ।

बूढाबूढीको गोठ पनि हेर्न लायकको थियो । लस्करै आठदस वटा भैँसी बाँधिएका हुन्थे । पालैपालो व्याउने हुनाले तीमध्ये चारपाँच वटा जहिले पनि दुहुना हुन्थे । गोठको छेउमा पहाडजस्तो परालको कुनिउँ हुन्थ्यो । घरको छेउमै बाह्रै महिना नसुक्ने सानो खोल्सी थियो । नजिकै बाक्लो बन भएको हुनाले हरियो घाँस कहिल्यै टुट्दैनथ्यो । कुँडो पकाउन दाउराको छेलोखेलो थियो ।

केही वर्ष भयो घरमा बूढाबूढी दुई जनामात्रै थिए । लाठे छोराहरू गोठ्ल्याइँ गर्ने दुःखले कोही सहरमा त कोही विदेशमा गएका थिए । उनीहरू बेलाबेलामा घर आउँदा पहाडको जग्गाजमिन बेचेर सहरमा बसाइ सर्ने कुरा गर्थे । बूढाबूढीको भने गाउँ छोड्ने मन थिएन । कान्छो छोराले त सहरमा नसर्ने भए उसको भाग अंश चाहियो भन्न पनि थालिसकको थियो ।

छोराहरूले अन्तै पाखुरा खियाउन थालेपछि घरको आयस्ता घट्ने नै भयो । तै पनि बूढाबूढीको मेहनतले दुईचार पाथी दूध पाक्न छोडेको थिएन । दूध, ध्यु, खुवा, दही आदि बेचेर उनीहरूको घरखर्च र लुगाफाटाको खर्च चलेकै थियो । बिरालोलाई यी सबै कुराको चासो थिएन । बेलाबेलामा कराही, गबुवा र ठेकीमा मुख गाडेर अनि मदानी चाटेर पनि उसको गुजारा चलेकै थियो । चारपाँच बेत छाउरा छाउरी हुर्काउँदा पनि अरुको घर ढुक्न जानु परेको थिएन ।

तर त्यो दिन अनौठै भयो । बूढाबूढी भान्छामा आउँदै आएनन् । अगेनामा अजंगका मुढाहरू एकनासले बलिरहे । कराहीको दूघ उम्लँदै सुक्दै गयो । बिरालोले खुवा खाने आश अझै मारेको थिएन । छाउराछाउरीहरू भोकाए होलान् भनेर ऊ आत्तिँदै थियो । अब अलिअलि दूध डढेको गन्ध आउन थाल्यो । भान्छाकोठामा दूध डढेर धुवाँ रङमगिन थालेपछि बिरालो निकै आत्तियो । ऊ म्याउँम्याउँ गर्दै छाउराहरू भएको धन्सारमा गयो । धन्सारकोठाको ढोका फोरिएको थियो र त्यहाँ एक गेडा पनि अन्न बाकी थिएन । छाउराहरू भोक र डरले एउटा कुनामा लुकेर कराइरहेका थिए । त्यसपछि उसले बूढाबूढीलाई खोज्न थाल्यो । कोठाचोटा चहारेपछि ऊ बुइँगलमा पुग्यो । त्यहाँको दृश्य देखेर उसलाई रिंगाटा लाग्यो । त्यहाँ गरगहना रुपैयाँपैसा राख्ने सन्दुक फोरिएको थियो । बूढाबूढीको लास रगतको आहालमा डुबेको थियो ।

ऊ दगुर्दै फेरि भान्छाकोठामा पुग्यो । त्यहाँ उसले खुवामात्रै होइन कराही नै डढेको देख्यो । आगोको रापले गर्दा कोठाभित्र पस्न पनि गाह्रो थियो । ऊ दगुर्दै आफ्ना छाउराहरू भएको ठाउँमा पुग्यो । उसले एकएक गर्दै छाउराछाउरीहरूलाई मुखमा च्याँप्दै घरबाट गोठमा ओसार्न थाल्यो । झ्यालहरूबाट धुवाँ र आगोको लप्का निस्कन थाल्यो ।

बिरालो कराउँदै छिमेकीहरूको घरमा पुग्यो । छिमेकीहरू दगुर्दै आए । केही मानिसहरूले बूढाबूढीलाई अस्पतालतिर लगे । कसैले माटो हाले कसैले पानी हाले । कसैले केराको थाम ल्याएर ढाले । केही क्षणमा आगो निभ्यो । बूढाबूढीको ज्यान बच्यो, घर जोगियो । आकाशमा चाहिँ अझै धुवाँ उडदै थियो ।

२०५९ बैशाख १ गते

(कान्तिपुर प्रकाशनको कोपिला साप्ताहिकको २०५९ बैशाख २० गतेको अंकमा प्रकाशित)



माथि

 


पहिलो पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of