a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

मानिसलाई कसरी चिन्ने ?

मृगले आफ्ना पाठाहरूलाई शिक्षा दिँदै थिई । शिक्षाको मूल विषय हिंसक र अहिंसक जीव कसरी छुटयाउने भन्ने थियो । अन्त्यमा मृगले पाठाहरूलाई सोध्न थालीः

मृगः बाघ के हो ?
पाठाः बाघ हिंसक जीव हो किनकि उसको दाह्रा र नंग्रा हुन्छ ।
मृगः ठिक भन्यौ । हामीहरू बाघसँग जोगिनु पर्छ । व्वांसो के हो भन त ।
पाठाः त्यो पनि हिंसक जीव हो । त्यसको पनि तीखा दाँत र नंग्रा हुन्छन् ।
मृगः ठिक । अब भन जरायो के हो ?
पाठाः त्यो त हामी जस्तै अहिंसक जीव हो । उसका दाह्रा नंग्रा केही पनि हुँदैन ।
मृगः एकदम ठिक भन्यौ । तिमीहरूले हिंसक जीव र अहिंसक जीव छुट्याउन सक्ने भएछौ । अब तिमीहरू बनमा घुम्न जान सक्छौ । तर एक्लाएक्लै नहिँडनु नि ।

यत्तिकैमा एउटा सानो पाठोले सोध्यो । आमा, हाम्रो जस्तै चार वटा खुट्टा भएर पनि पछिल्ला दुइटा खुट्टाले मात्रै टेकेर हिंडने । बाँदर जस्ता जीव के हो नि ?

मृगः ए त्यो त मानिस हो ।

सबै पठाहरूले एकै स्वरमा सोधेः त्यो हिँसक हो कि अहिँसक हो नि ?

मृगः त्यसलाई चिन्न गाह्रो छ । त्यसले के गर्छ भनेर यस्सै भन्न सकिँदैन । कोही हिँसक हुन्छन् भने कोही अहिंसक पनि हुन्छन् । त्यसको न त मुख, दाँत र हात खुट्टा हेरेर अडकल गर्न सकिन्छ न त स्वर सुनेरै । हिंसक जीवहरूबाट त हामी परैबाट होसियार हुन्छौं । तर मानिसको चाल थाहा पाउन गाह्रो हुन्छ । उसले माया पनि गर्छ । मिठो खान पनि दिन्छ । मिठो बोली पनि बोल्छ तर उसले कहाँ जाल वा पासो थापेको हुन्छ र कुन बेला कहाँ कसरी झुक्याउँछ भन्नै सकिँदैन । त्यसैले मानिसबाट सँधै टाढै बस्नु है ।

(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)

माथि

 

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of