a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

पानीघट्ट कि बतासेघट्ट ?

जाँतेकिराले बनाएको जाँतोमा पिसेको मकै, गहुँ, चामलको पिठोको रोटी मिठो हुन्छ भनेर बनका जीवजन्तुहरूले भन्थे । उसले बडो मेहनत गरेर वर्षभरिमा पाँचछ वटा जाँतो बनाउँथ्यो । उसले बनाएको जाँतो खोलाको तिरमा घट्ट राखेर बस्ने भ्यागुताहरूले किन्थे । खोला किनारामा भ्यागुताहरूले लस्करै घट्ट राखेका थिए । घटेरा भ्यागुताहरूको घट्टको जाँतो खिइएर बेलाबेलामा फेर्नुपर्थ्यो । कहिलेकाहीँ खोलामा बाढी आएर घट्ट बगाउँथ्यो । त्यसो हुँदा पनि भ्यागुताहरूलाई नयाँ जाँतो चाहिन्थ्यो । यसरी जाँतेकिरा र घटेरा भ्यागुताहरूको गुजारा हुन्थ्यो ।

तर यो वर्ष जाँते किराले बनाएको जाँतो एउटा पनि बिकेन । भ्यागुताहरूको घट्ट पनि नचलेको हुनाले उनीहरू दिनभरि बगरमा पेट पल्टाएर सुत्थे र साँझ खोलाको किनारामा जमेको लेऊ र किराफटेंग्रा खाएर गुजारा गर्थे । खोला किनाराका पानीघट्टमा मकै, गहुँ, चामल पिसाउन सँधै आउने कमिला, मुसा, छेपारो आदि जीवहरू अब पानीघट्टमा आउन छाडेर बतासेघट्टमा पिठो पिसाउन जान थालेका थिए ।

बनको माझमा गोब्रेकिराले बतासबाट चल्ने घट्ट राखेको थियो । पानीघट्टमा पिसेको पिठोभन्दा बतासेघट्टमा पिसेको पिठोको रोटी मिठो हुन्छ भनेर बनमा हल्ला चलेको थियो । बतासेघट्टमा पिठो पिसाउँदा ज्याला पनि पानी घट्टको भन्दा सस्तो थियो । बतासेघट्टमा पानीघट्टमा जस्तो ढुंगाको गह्रुँगो जाँतो चाहिँदैनथ्यो । बतासेघट्टमा हलुँगो खालको फलामे चक्काले पिठो पिस्थ्यो । पानीघट्ट खोलाको किनारमा भएको हुनाले त्यहाँ जान आउन उकालो ओरालो हिँडनु पर्थ्यो र धेरै समय लाग्थ्यो । तर बतासेघट्ट बनको माझमा भएकोले सजिलैसँग आउनजान सकिन्थ्यो । यसैले बनका सबैजसो जीवजन्तुहरू गोब्रेकिराको बतासेघट्टमा अन्न पिसाउन जान्थे ।

पानीघट्टमा अन्न पिसाउन बनका जीवजन्तुहरू जान छाडेपछि घटेरा भ्यागुताहरूको आम्दानीको बाटो हरायो । जाँते किराको पनि काम भएन । उनीहरू बतासेघट्टको बदख्वाइ गर्दै बनका जीवजन्तुहरूलाई आफ्नो घट्टमा आउन प्रचार गर्न थाले ।

एक दिन बतासेघट्ट बिग्र्यो । बनका जीवजन्तुहरू अन्न पिस्न फेरि पानीघट्टमा जानु पर्यो । भ्यागुताहरूले यो मौकाको फाइदा उठाउन खोजे । उनीहरूले पिठो पिस्ने ज्याला बढाइदिए । यसरी बनका जीवजन्तुहरूले महँगो ज्याला तिरेर फेरि पुरानै घट्टमा पिठो पिस्न जानुपर्ने भयो । उता गोब्रेकिराले भ्यागुता र जाँतेकिरा मिलेर आफ्नो बतासेघट्ट बिगारि दिएको आरोप लगाएर बनका जीवजन्तुहरूलाई घटेरा भ्यागुताहरूको विरुद्ध उक्सायो । बनका जीवजन्तुहरूमध्ये कसैले भ्यागुताको पक्षमा त कसैले गोब्रेबिराको पक्षमा लागेर कुरा गर्न थाले । फलस्वरुप बनमा अशान्ति हुनथाल्यो ।

एक दिन पँधेर्नीकिराले भ्यागुता, जाँतेकिरा र गोब्रेकिरा सबैलाई पँधेरामा डाकिन् । उनले एउटै बनमा बसेर बाझाबाझ गर्नु बेस होइन भनेर सम्झाइन् । उनले आआफ्नो पीरमर्का सुनाउन सबै पक्षसँग अनुरोध गरिन् ।

घटेरा भ्यागुताले भन्यो, "बनमा बतासे घट्ट चल्न थालेपछि मेरो घट्टमा जीवजन्तुहरू आउन छाडे । मेरो आम्दानी हरायो । जहान केटाकेटी भोकै हुन थाले । जाँते किराको पनि काम भएन । अब हामी कसरी बाँच्ने ?"

भ्यागुताको कुरा सकिएपछि गोब्रेकिराले भन्यो, "पल्लो बनमा गएको बेलामा मैले त्यहाँ बतासे घट्ट चलाएको देखेँ । पानी घट्टको दाँजोमा यो घट्ट निक्कै सजिलो र किफायती पनि हुनेरहेछ । बनका जीवजन्तुले सजिलो र सस्तोसँग अन्न पिसाउन सकुन् र मलाई पनि दुई चार पैसा फाइदा होस् भनेर मैले बतासे घट्ट राखेको हुँ । संसारमा पुरानो चलन सँधै रहिरहन्न । सबै कुरा फेरिन्छ । नयाँ इलम आएपछि पुरानो इलम हराउँछ । अब भ्यागुता मामाले पनि पुरानो इलम छाडेर नयाँ काममा हात हाल्नु पर्यो । यदि मामाले पानीघट्ट नै चलाउने हो भने पनि अन्न पिस्नुभन्दा पनि बिजुली निकाल्ने घट्ट चलाउनु बेस हुन्छ ।"

घट्टबाट बिजुली निकाल्ने कुरा सुनेर भ्यागुताले पत्याएन । तर पँधेर्नीकिराले पल्लो गाउँमा पानीघट्टबाट बिजुली निकालेको आफैले देखेको कुरा सुनाएपछि भ्यागुताले पत्यायो । तर उसले एउटा शंका निकाल्यो, "यदि पानीघट्टबाट बिजुली निस्कन्छ भने बतासेघट्टबाट पनि त बिजुली निस्कन्छ होला । त्यसो भए गोब्रे भान्जाले नै विजुली निकाल्ने काम गरेर अन्न पिस्ने काम पानीघट्टलाई छाडे भइहाल्यो नि ।"

गोब्रेकिरा चलाक मात्रै होइन बुद्धिमान पनि थियो । उसले भन्यो, "हेर्नुस् मामा, बिजुली निकाल्न एक नासले मिसिन घुम्नुपर्छ । मिसिन कहिले छिटो कहिले ढिलो घुम्यो भने बिजुलीको शक्ति तलमाथि हुन्छ र बिजुलीबाट चल्ने मिसिन र बत्तीहरू पनि बिग्रन्छन् । पानीबाट मिसिन चलाउँदा एकै नासले चल्छ र एकै नासको बिजुली निस्कन्छ । तर, बतासको गति एकै नासको हुँदैन । यसले गर्दा मिसिनको गति ढिलो चाँडो भएर बिजुली कहिले मधुरो हुन्छ भने कहिले चहकिलो हुन्छ । यसैले पानीघट्टबाट बिजुली निकाल्नु बेस हुन्छ भनेको हो ।"

पँधेर्नीकिराले पनि गोब्रेकिराको कुरामा सही थापिन् । भ्यागुताहरूलाई पनि गोब्रेकिराको कुरा चित्त बुझ्यो । घटेरा भ्यागुताहरूले पानीघट्टमा बिजुली निकाल्ने डाइनामो जडान गरेर बनमा बिजुली बाल्ने र अन्न पिसाउन आउनेहरूको अन्न पनि पिस्ने निर्णय भयो ।

जाँतेकिराको गुजाराको लागि पँधेर्नी किराले उसलाई आफ्नो पँधेरामा आएर बस्न निम्त्याइन् । जाँतेकिरा पनि चिप्लेकिराले झैँ जाँतो फालेर हलुँगोसँग पँधेरामा डुल्दै पानीको लेऊ, पात र किराहरू खाएर गुजारा चलाउन मंजुर भयो ।

बनमा मेलमिलाम ल्याउन खोजेकोमा सबैले पँधेर्नी किरालाई धन्यवाद दिए । बनमा बिजुली बाल्न पाइने भयो भनेर सबै जीवजन्तु दंग परे । भ्यागुता र गोब्रेकिराले एक अर्कालाई सघाउने अनि पानीघट्टबाट बिजुली निकाल्ने काममा गोब्रेकिराले पनि मदत गर्ने भयो । रातीराती बत्ती बाल्दै बाटो देखाउने जिम्मा लिएकी जुनकिरी पनि अब मेरो काम हलुँगो हुने भयो भनेर खुशी भइन् ।

(हेर्म्बर्गबाट कोपनहेगन रेलमा यात्रा गर्दा पानीजहाजभित्र पसेको रेलमा बसेर लेखेको । स्थानीय समय साँझको ७.३५ बजे । १२ अक्टोवर, २००३ ।)


माथि

 


मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of