a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

सेते कुमालको खुत्रुके

गानदेवलाई खुत्रुकेमा कति पैसा होला भनेर जान्न सँधै खुल्दुली लाग्थ्यो । कोही नभएको बेलामा उसले खुत्रुके कत्तिको गह्रुँगो छ भनेर उचाल्थ्यो । हातमा लिएर ओल्टाई पल्टाई हेर्थ्यो । पैसा छिराउने प्वालभित्र चियाउँथ्यो । पैसाको खाँचो परेको बेलामा सिन्का छिराएर पैसा निकाल्ने कोेशिस गर्थ्यो । धेरै बेर मेहनत गर्दा कहिलेकाहिँ एक दर्ुइ रूपैयाँको ढ्याक खस्थ्यो र ऊ दंग पर्दै मिर्ठाई पसलतिर दगुर्थ्यो ।

गानदेवको घर तनहुँ जिल्लाको खैरेनी टारमा हो । उसको बाबु सेते कुमालले मर्स्याङदी खोलामा माछा मार्थ्यो । गानदेव पनि कहिलेकाहिँ बाबुसँगै खोलामा जान्थ्यो र बगरमा बसेर माछा बटुलेर फुर्लुङमा राख्न बाबुलाई सघाउँथ्यो । फुर्लुङभरि माछा भएपछि बाबु छोरा खैरेनी बजारमा जान्थे र भट्टीमा माछा बेच्थे । माछा बेचेको पैसाले बजारबाट दाल चामल, नुन तेल किनेर घर फर्कन्थे । सेते कुमालले आफूले कमाएको पैसामध्ये केही रकम खुत्रुकेमा खसाल्न कहिल्यै बिर्सन्नथ्यो । खुत्रुक्केमा संगालेको पैसाले गानदेवलाई पढाएर ठूलो मान्छे बनाउने उसको सपना थियो ।

सेते कुमाल हलो जोत्न निक्कै बलियो र सिपालु पनि थियो । जस्तोसुकै बदमास गोरु पनि सेतेले जोत्न थालेपछि बिज्याइँ नगरी खुरुखुरु जोत्थ्यो । अरुले तीन दिनमा सक्ने मेलो उसले दुई दिनमै सिध्याउँथ्यो । यसैले गाउँमा जसको खेत बारी जोत्न परे पनि सेतेलाई नै बोलाउँथे । सेतेको जाँड रक्सी, चुरोट आदि केही अम्मल थिएन । दही र मोही भनेपछि उसले हुरुक्क गर्थ्यो । दही भयो भने एक माना चामलको भात खान उसलाई अरु सितन चाहिँदैनथ्यो ।

गानदेव स्कुल जान थालेपछि सेतेले खुत्रुकेमा सकेसम्म धेरै रुपैयाँ खसाल्न थालेको थियो । कहिलेकाहीँ दशबीस रुपैयाँको नोट पनि खुत्रुकेमा राख्थ्यो । एक पल्ट खोलामा दश किलोको सहर माछा समातेको दिन उसले खुत्रुकेमा सय रुपैयाँको नोट राम्ररी पट्याएर राखेको थियो । उसको बैँक भने पनि भंडार भने पनि त्यही खुत्रुक्के थियो । खुत्रुकेको भरिलो आवाज सुन्दा ऊ दंग पर्थ्यो ।

यता खुत्रुकेको अर्कै बिलौना थियो । खुत्रुकेलाई कसैले पनि सजिलोसँग नेभेटाओस् भनेर सेतेले त्यसलाई कोठाको भित्तामा माथि टाँडमा राख्ने गर्थ्यो । कोठाको खोपा र भुइँमा गानदेवका खेलौना र किताब कापी कलम छरिएका हुन्थे । सेतेले बजारजाँदा भेटाएका र गानदेवले बटुलेका काठको ढिकी, जाँतो, प्लास्टिकका कुकुर, खरायो, मोटर, चरा, दम दिँदा उफ्रने भ्यागुता आदि पुराना खेलौनाहरू थिए । राती एकान्त पाउने बित्तिकै ती खेलौनाहरूले खुत्रुकेलाई जिस्क्याउँथे ।

राती घरका सबै जना सुतिसकेपछि खेलौनाहरू गफ गर्न थाल्थे । खोपामा बस्ने प्लास्टिककी सानी नानीको स्वर निक्कै मिठो थियो । उनले गीत सुनाउँथिन् । खेलौनाहरू सबैजसो पुराना र खुइलिएका थिए । तर तिनीहरूलाई पुरानो भएकोमा दुःख थिएन । तिनीहरू आफूलाई धेरै अनुभवी ठान्थे र यो कुरामा गर्व गर्थे । प्लास्टिकको कुकुरले आफूलाई देखेर साँच्चैको बिरालो डराएर भागेको घटना सुनाउँदा अरु खेलौनाहरू पेट मिचीमिची हाँस्थे । ती सबै खेलौनाका आआफ्ना कथा थिए र उनीहरू आफ्नो अनुभव सुनाउन सँधै तम्सन्थे । उनीहरू आफूलाई अरुभन्दा बाठो र काम लाग्ने, उपयोगी छु भनेर साबित गर्न खोज्थे ।

तर खुत्रुकेलाई उनीहरूले आफ्नो गफमा कहिल्यै सामेल गर्दैनथे । उनीहरू भन्ने गर्थे, "यो अल्छी खुत्रुकेको केही काम छैन । दिनभरि बसिरहन्छ । रुपैयाँ पैसा खाँदाखाँदा टुन्न मोटाएको छ । कुन दिन यसको भुँडी फुटछ । तर यो कसैको काममा आउँदैन । खानमात्रै जानेको छ यसले ।"

खेलौनाहरूको कुरा सुन्दा खुत्रुकेलाई निक्कै पीर पर्थ्यो । उसलाई पनि केही उपयोगी काम गरेर देखाउँजस्तो लाग्थ्यो । तर के गर्ने थाहा थिएन । बेलाबेलामा सेते कुमालले उसलाई हातमा लिएर गानदेवको भविष्य बनाउने कुरा गरेको सुन्थ्यो । त्यो सुन्दा उसलाई आफू कसैको लागि उपयोगी रहेछु भन्ने लाग्थ्यो । तर कहिले र कसरी उसको इज्जत बढछ भन्ने उसलाई थाहा थिएन ।

एक दिन गानदेव स्कुल गएको फेरि कहिल्यै फर्केन । सेतेको घरमा रुवाबासी चल्यो । खुत्रुके पनि निक्कै रोयो । अब उसलाई माया गर्ने मानिस पनि बाकी रहेन र उसको उपयोगिता पनि रहेन भनेर ऊ निक्कै दुःखी भयो । दुर्घटनामा परेर गानदेवको निधन भएपछि सेते कुमाल धेरै दिनसम्म काममा गएन । खुत्रुके पनि धेरै दिनसम्म भोकै रह्यो ।

गानदेव नै नभए पछि खुत्रुकेको के काम ? सेतेले खुत्रुकेबाट पैसा निकालेर जग्गा किन्ने, गानदेवकी आमाको लागि लुगा गहना किन्ने अनि चाडपर्वमा खर्च गर्ने विचार गर्यो । तर गानदेवकी आमाले खुत्रुकेबाट पैसा निकालेर खर्च गर्न मानिनन् । खुत्रुकेलाई देख्दा उनलाई आफ्नो छोराको सम्झना हुन्थ्यो । गानदेव नभए पनि उसको सम्झनामा अरुको भलो हुने काममा पैसा खर्च गर्नुपर्छ भन्ने उनको विचार थियो । आफूसँग दुईचार रूपैयाँ उब्रँदा उनले खुत्रुकेमै राख्ने गर्न थालेकी थिइन् ।

गानदेवकी आमाको बिचार सुन्दा खुत्रुके पनि मख्ख परेको थियो । अब उसले अरु खेलौनाको अगाडि आफूलाई उपयोगी सावित गर्ने बेला आएको थियो । यसो गर्न सकेको खण्डमा उसले पनि फूर्तीसँग उनीहरूको अगाडि छाती फुलाएर बातमार्न सक्ने थियो ।

त्यो अवसर चाँडै नै आयो । दुले गौँडाका गाउँलेहरूले यज्ञ गरेर धेरै पैसा संगालेर गाउँमै ठूलो अस्पताल बनाइ छाडे । अस्पताल सुरु हुने दिन गाउँमा चाडजस्तै भयो । गाउँलेहरूले फेरि मन फुकाएर अस्पताललाई चन्दा दिए । यही मेसोमा सेते कुमालले पनि आफ्नो जीवनभरिको कमाइ गानदेवको नाममा दान गर्ने निधो गर्यो ।

अस्पतालमा ठूलो समारोहमा चन्दादाताहरूले पालैपालो मंचमा गएर पैसा बुझाए । धेरै बेर पर्खेपछि सेते कुमालको पालो आयो । मंचमा गएर सभापतिको अगाडि टेबुलमाथि उसले खुत्रुके राखिदियो । खुत्रुके खोलेर पैसा गन्दा पचार हजार एकसय एक रुपैयाँ निस्क्यो । जीवनको आखिरी समयमा आफ्नो पसिना अस्पतालमा खन्याउन पाएकोमा ७५ वर्ष पुगेको सेते कुमालको अनुहार खुशीले धपक्क बलेको देखियो ।

भोलिपल्ट छिमेकीले सेते कुमालको दानको खबर अखबारमा छापिएको कुरा घरमा आएर सुनायो । अखबारमा हलो जोतेको कमाइ अस्पताललाई भनेर सेतेले गरेको दानको तारिफ छापिएको रहेछ । छिमेकीले अखबार पढेर सुनाउँदा कोठामा भएका खेलौनाहरूले पनि यो कुरा सुने । उनीहरूको मनमा खुत्रुकेप्रति निक्कै सम्मान जाग्यो । खुत्रुकेलाई पनि अखबारको खबर सुनेर निक्कै खुशी लाग्यो । तर अखबारमा कहीँ पनि उसले यत्तिका बर्षम्म कसरी त्यति धेरै रकम संभालेर राख्यो भन्ने कुरा चर्चा नभएको देखेर उसलाई चसक्क दुख्यो ।

राती सबै जना सुतिसकेपछि खेलौनाहरूले खुत्रुकेलाई पनि आफ्नो गफमा सामेल गरे । उनीहरूले खुत्रुकेको धैर्य र सहने शक्तिको निक्कै तारिफ गरे । रित्तिएको खुत्रुके खुशीले हाँस्दा उसको अनुहार अँध्यारोमा पनि चम्कियो ।

भोलिपल्ट विहान गानदेवकी आमाले खुत्रुकेमा दुई रूपैयाँको ढ्याक खसालिन् र खुत्रुकेलाई टिका र माला लगाइ दिइन् ।

साँचल, सानेपा, ललितपुर
२०६१ जेठ २० गते ।

(मुना मासिक २०६२ असारको अंकमा प्रकाशित)

 

 

माथि

 


मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of