a presentation of Dreams & Ideas

         
     
   

पंचतन्त्र कथा

चतुर्थ तन्त्रः लब्धप्रणाश

कथा सूची
१ मुटुकलेजो नभएको बाँदर
२ भाइ फुटे गँवार लुटे
३ मुटुकलेजो नभएको गधा
४ गधाको मूर्खता


१ मुटुकलेजो नभएको बाँदर

एउटा ठूलो तालको किनारामा जमुनाके रुख थियो । त्यो रुखमा साह्रै मिठो जमुना फल्थ्यो । रातोमुख नाम भएको बाँदर त्यो रुखको जमुना खान पल्केको थियो । एक दिन रातोमुखले जमुना खाइरहेको बेलामा तालको पानीबाट एउटा अजंगको गोही निस्क्यो र किनाराको बालुवामा आएर बाँदरले खाएर झरालेको जमुना खान थाल्यो । उसलाई जमुना निक्कै मिठो लाग्यो । उसले बाँदरसँग मितेरी लायो । त्यो गोही दिनदिनै बगरमा आएर बाँदरसँग मिठामिठा कुरा गर्दै पेटभरि जमुना खान थाल्यो ।

एक दिन रातोमुखले गोहीकी पत्नीको लागि पनि जमुना टिपेर पठाइदियो । गोहीकी पत्नीले जमुना साह्रै मिठो मानी । उसले जमुना कसले दिएको भनेर सोधी । गोहीले बाँदरसँग मतेरी लाएको र जमुना उसैले दिएको कुरा सुनायो । त्यो सुनेर गोहीनीले भनी, जमुना त यति मिठो छ भने । दिनदिनै जमुना खाने बाँदरको मुटुकलेजो कति मिठो होला !
उसले आफ्नो लोग्नेसँग बाँदरको मुटुकलेजो ल्याउन जिद्दी गरी । गोहीले बाँदरसँग मितेरी गाँसेको हुनाले उसलाई धोखा दिन सक्तिन भन्यो । तर गोहिनीले मानिन । उसले बाँदरको मुटुकलेजो खान नपाए भोकै बसेर मर्ने धम्की दिई । पत्नीको जिद्दी र धम्कीबाट गोहीको मन बदलियो ।

भोलि पल्ट गोही सँधैझैँ बाँदरकहाँ गयो । तर उसको मन ठेगानमा थिएन । उसको अवस्था देखेर बाँदरले सोध्यो, "मिज्जु आज तपार्इँलाई संचो छैन कि कसो । रमाइलो कुरा पनि गर्नु हुन्न किन ?"

गोहीले भन्यो, "आज तिम्री भाउजू अर्थात् मेरी पत्नीसँग मेरो निक्कै भनाभन भयो । उसले तिमीलाई घरमा बोलाएर किन भोज नख्वाएको भनेर मसँग झगडा गरी । अहिले ऊ तिमीलाई लिएर नआएसम्म केही खान्न भनेर भोकै बसेकी छे ।"

गोहीको कुरा सुनेर बाँदरको गम्भीर भयो । उसले गोहीको घर जाने बिचार गर्यो । तर पानीभित्र गोहीको घरमा कसरी जाने ? उसले गोहीसँग सोध्यो, "म भुइँमा हिँडने जीव हुँ । पानीदेखेर डर लाग्छ । कसरी म तिम्रो घर जाउँ ?"

"त्यसको धन्दा मान्नु पर्दैन । तिमी मेरो पिठ्युँमा बस । मैले तिमीलाई लिएर तालको माझमा मेरो घरमा पुर्याउँला ।" गोहीले भन्यो ।

बाँदरले त्यस्तै गर्यो । गोहीले वाँदरलाई पिठ्युँमा राखेर तालको माझमा पुग्यो । घर आइपुग्ने बेलामा गोहीले बाँदर अब बाँदर भाग्नसक्तैन भन्ने बिचार गरेर उसलाई वास्तविक कुरा भन्ने निश्चय गर्यो । उसले भन्यो, "हे बाँदर, अब तिम्रो अन्तिम बेला आइपुग्यो । मेरी पत्नीले तिम्रो मुटुकलेजो खानका लागि तिमीलाई घरमा ल्याउन भनेकी हो । अब तिमी उम्कन सक्तैनौ ।"

गोहीको कुरा सुनेर बाँदर भीरबाड खसेजस्तो गरी तर्स्यो । तर उसले आफ्नो विवेक हराएन । उसले गोहीलाई सम्झाएजस्तो गर्दै भन्यो, "ओहो मिज्जु, तिमीले यो कुरा मसँग तालको किनारमै किन नभनेको ? मैले आफ्नो मुटुकलेजो त्यही जमुनाको रुखको टोड्कोभित्र राख्ने गरेको छु । त्यहीँ मलाई भनेको भए त मैले मेरो मुटुकलेजो झिकेर तिमीलाई दिन्थेँ । म भाउजूको इच्छा पूरा गर्न चाहन्छु । लौ फर्केर जमुनाको रुखमा जाउँ । मैले त्यहाँ राखेको मुटुकलेजो झिकेर तिम्रो जिम्मा लाइदिन्छु । भाउजूलाई खुशी पार्नु मेरो पनि कर्तव्य हो ।"

बाँदरको कुरा सुनेर गोही दंग पर्यो । उसले बाँदरलाई बोकेर जमुनाको रुख भएको बगरमा पुर्यायो । त्यहाँ पुग्ने बित्तिकै बाँदर उफ्रेर रुखको हाँगा चढ्यो । हाँगामाथि पुगेपछि बाँदरले गोहीलाई भन्यो, "ए धोखेबाज गोही, तेरो कत्ति पनि बुद्धि रहेनछ । मुटुकलेजो बिना पनि कोही बाँच्न सक्छ ? स्वास्नीको कुरामा लागेर झण्डै मलाई मारिनस् । म तेरो आहारा हुनबाट जोगिएँ । अब झुक्किएर पनि मकहाँ नआ ।"

बाँदरले आफूलाई छक्काएको बुझेर गोही जिल्ल पर्यो । तर बाँदरलाई घर लैजान नसके उसकी पत्नी भोकभोकै मर्ने डर थियो । यसैले उसले कुरा मिलाउँदै बाँदरलाई हाँस्दै भन्यो, "मिज्जु मैले त ठट्टा पो गरेको । मेरी पत्नी त तिम्रो स्वागत गर्न आत्तिएर बाटो हेर्दै बसेकी छे । जाउँ ।"

उसको कुरा सुनेर बाँदरलाई रिस उठ्यो । उसले भन्यो, "हेर दुष्ट गोही । एक पल्ट त म तेरो कुराले झुक्किएँ । फेरि पनि झुक्किन्छु भन्ने ठानेको छस् कि ? अब यहाँबाट भागि हाल् ।"

यति भन्दै बाँदर जमुनाको रुखको टुप्पामा पुगेर मिठामिठा जमुना खान थाल्यो ।

माथि

२ भाइ फुटे गँवार लुटे

एउट पँधेरामा एक हुल भ्यागुता बस्थे । तिनीहरूको मुखियाको नाम गंगदत्त थियो । एक पल्ट भ्यागुताहरूबीच आपसमा झगडा हुँदा गंगदत्तलाई आफन्तहरूले अनेकौँ आरोप लाएर बेइजत गरे । आफन्तसँग उनलाई रिस उठ्यो । उनीहरूसँग बदला लिने उद्देश्यले उसले त्यो पँधेरा छाडेर जाने बिचार गर्यो ।

त्यही बेला उसले एउटा कालो सर्पलाई देख्यो । त्यो सर्प त्यही पँधेरा नजिकै दुलोमा बस्थ्यो । गंगदत्तले त्यही सर्पको मदत लिएर आफन्तहरूसँग बदला लिने बिचार गर्यो । उसले सर्पसँग मितेरी लाउने प्रस्ताव राख्यो । उसको कुरा सुनेर सर्प छक्क पर्यो । भ्यागुता र सर्प त जन्मैदेखिको शत्रु हो । शत्रुहरूबीच कसरी मित्रता हुनसक्छ ? सर्पले भन्यो, "तिमी त मेरो आहारा हो । भक्षक र भोजनबीच कसरी मितेरी हुनसक्छ ? तिमीसँग मित्रता गरेँ भने म त भोकभोकै मर्छु ।"

गंगदत्तले भन्यो, "तिम्रो कुरा ठिक हो । तर अति बेला म आफ्नै नाताकुटुम्ब र आफन्तहरूबाट अपमानित भएको छु । तिमीले मदत गर्यौ भने म तिनीहरूसँग अपमानको बदला लिनसक्छु ।"

उसले भ्यागुताको समूहमा भएको झगडाको बारेमा बतायो । सर्प बूढो भइसकेको थियो । उसलाई शिकार मार्न पनि गाह्रो थियो । यसैले सजिलैसँग भ्यागुता खान पाइने आशले उसले गंगदत्तसँग मित्रता स्वीकार गर्यो ।
गंगदत्तले उसलाई पँधेरामा लिएर गयो । पँधेरामा पुगेपछि उसले पँधेराभित्र भ्यागुताहरू बस्ने गोप्य ठाउँ र त्यहाँ जाने बाटो देखाइदियो । त्यसपछि त सर्पलाई मोज भइहाल्यो । उसले दिनदिनै भ्यागुता खान थाल्यो । केही दिनमै पँधेराका भ्यागुताहरू सखाप भए ।

आफ्ना सबै शत्रुलाई सर्पले खाइसकेपटि गंगदत्त खुशी भयो । उसले सर्पलाई धन्यावाद दिँदै भन्यो, "हे मिज्जु, मेरो काम सफल गरिदिनु भएकोमा धन्यवाद छ । अब तपाइँ आफ्नै घरमा जानुहोस् ।"

सर्पले भन्यो, "म अब कसरी आफ्नो घर जानसक्छु र ? त्यहाँ त अरु कसेले कब्जा गरेर बसेको होला । अब म यहीँ बस्छु । मलाई पेटभरि ख्वाउने तिम्रो काम हो । यदि तिमीले मेरो भोजनको व्यवस्था गर्न सकेनौ भने तिम्रो परिवारलाई नै खाएर बाँच्छु ।"

सर्पको कुरा सुनेपछि बल्ल गंगदत्तलाई होश आयो । आफन्तहरूलाई सखाप पारेर शत्रुलाई पोस्ने काम गरेकोमा ऊ साह्रै पछुतायो । आफूभन्दा बलियो र त्यसमाथि पनि जन्मजात शत्रुसँग मित्रता गर्नु गल्ती रहेछ भन्ने उसले बुझ्यो । तर अब पछुताएर के गर्ने ? बुझेर के गर्ने ?

सर्पलाई भोक लागे पछि एक दिन उसले गंगदत्तको परिवारका एकएकलाई खानथाल्यो । उसले गंगदत्तको छोरा र स्वास्नीलाई पनि खाइदियो । गंगदत्तको सर्वनाश भयो । तर यो सर्वनाशलाई उसैले डाकेको थियो । आखिरमा उसले पँधेराबाट भागेर ज्यानसम्म जोगाउने उपाय खोज्न थाल्यो । भाग्न पनि गाह्रो थियो । बाटोमै सर्प बसेको थियो ।

तर सर्पले नै गंगदत्तलाई भाग्न सजिलो बनाइदियो । उसले भन्यो, "मित्र गंगदत्त जे भए पनि म तिमीलाई खान्न । तर मेरो भोजन जुटाउनु तिम्रो कर्तव्य हो । यसैले बाहिर गएर भए पनि मेरा लागि खानेकुरा लिएर आऊ ।"

गंगदत्तलाई के खोज्छस् कानो आँखा भनेझैँ भयो । उसले भन्यो, "मिज्जु, खानेकुराको पिर नगर । म बाहिर गएर अर्को पँधेरामा बस्ने भ्यागुताहरूलाई लिएर आउँछु ।"

सर्पले उसको कुरा मान्यो । गंगदत्त पँधेराबाट बाहिर निस्क्यो ।

सर्पले धेरै दिनसम्म गंगदत्तको बाटो हेरेर बस्यो । तर ऊ फर्केन ।

एक दिन सर्प पँधेराबाट बाहिर निस्क्यो र नजिकै बस्ने गोहोरासँग मदत माग्दै भन्यो, "मेरो साथी गंगदत्त मेरो लागि खानेकुरा लिएर आउँछु भनेर गएको धेरै दिन भयो । म भोकले मर्न लागेको छु । तिमी गएर गंगदत्तलाई खोज । उसलाई के भन भने म मित्रताको धर्म पालन गर्छु । उसलाई कुनै हानी गर्दिन । बरु खानेकुरा पाइएन भने ऊ एक्लै आए पनि हुन्छ । ऊ आयो भने हामी दुई साथी मिठामिठा कुरा गरेर समय बिताउने छौँ ।

गोहोराले बाहिर निस्केर गंगदत्तलाई खोज्यो र भेट्टायो पनि । उसले गंगदत्तलाई तिम्रो पिरले सर्प दुब्लाएको छ भन्दै सर्पको सन्देश सुनायो । गोहोराको मुखबाट सर्पको कुरा सुनेपछि गंगदत्तले भन्यो, "मैले एक पल्ट धोका खाइसकेँ । अब फेरि धोका खान चाहन्न । भोकाएको जीवको विश्वास हुँदैन । त्यसमाथि त्यो सर्प साह्रै नीच छ । सर्पलाई अब म फर्कन्न भनिदेऊ ।

माथि

३ मुटुकलेजो नभएको गधा

एउटा बनमा सिंह बस्थ्यो । छट्टु स्यालले उसको सेवा गर्थ्यो । सिंहले मारेको शिकार खाएर स्यालको गुजार भइरहेको थियो । एक दिन सिंहसँग मत्ता हात्तीको भिडन्त भयो । हात्ती निक्कै बलियो थियो । लडाइँमा सिंह नराम्ररी घाइते भयो । उसले केही दिन शिकार खेल्न जान सकेन । सिंह र स्याल भोकले अत्तिन थाले । सिंहले स्याललाई भन्यो, "म शिकार मार्न अर्समर्थ छु । तिमीले कुनै जानवरलाई फकाएर मेरो नजिक ल्यायौ भने म त्यसलाई मार्नसक्छु । बाकी मासुले तिम्रो पनि पेट भरिन्छ ।"

सिंहको आदेशअनुसार स्याल शिकार खोज्न गाउँतिर गयो । उसले बाटोमा एउटा गधाले चौरमा घाँस खाइरहेको देख्यो । स्यालले त्यसैलाई फँसाउने बिचार गर्यो । ऊ गधाको नजिकै गयो र बडो मिठो कुरा गर्न थाल्यो, "मामा, संचै छ ? धेरै दिनपछि भेट भयो । निक्कै दुब्लाउनु भएछ । गाउँमा मिठो र पोसिलो घाँस पाइन्नजस्तो छ । कसो ?"

स्यालको कुरा सुनेर गधाको मन पनि पग्ल्यो । उसले भन्यो, "बदमास धोबीले मलाई गह्रुँगो भारी बोकाउँछ । दिनभरि काममा जोताउँछ । बेलामा खान पनि दिँदैन । चौरमा राम्रो घाँस पनि पाइन्न । कसरी मोटाउने तिमी नै भन त भांजा ।"
स्यालले भन्यो, "गाउँमा यस्तो दुःख छ भने जाउँ न त हाम्रो बनमा । त्यहाँ कति मिठो कल्कलाउँदो र पोसिलो घाँस पाइन्छ । त्यसैले त बनका मृग खरायो आदि जानवरहरू मोटाघाटा र चिल्ला छन् । जाउँ मामा उतै बस्ने गरेर ।"

"तर जंगलमा जानवरले मलाई मारेर खान्छन् कि?" गधाले मनको डर पोख्यो ।

स्यालले भन्यो, "म छँदासम्म केही डर मान्नु पर्दैन मामा । जंगलमा त मेरै शासन चल्छ । मैले अरु गधाहरूलाई पनि धोबीहरूको अत्याचारबाट मुक्त गराएर बनमा लगेर बसालेको छु । उनीहरू बनको स्वच्छ वातावरणमा कति रमाएका छन् ! आफ्नै आँखाले हेर्नसक्नुहुन्छ ।"

स्यालका चिप्ला कुरा सुनेर गधा बनमा जान राजी भयो । उनीहरू बनमा पुग्दा सिंह लुकेर पर्खिरहेको थियो । गधा नजिक पुग्ने बित्तिकै सिंहले गधालाई झम्ट्यो । सिंह धेरै कमजोर भएको हुनाले उसको झम्टाइ ठिक ठाउँमा परेन । गधा कुलेलम ठोकेर भाग्यो ।

गधा सिंहको पंजाबाट उम्केको देखेर स्याललाई रिस उठ्यो । एउटा गधालाई पनि मार्न नसक्ने कस्तो रहेछ भनेर उसले सिंहमाथि व्यंग्य गर्यो ।

सिंहले भन्यो, "मेरो पंजाको प्रहारबाट हात्ती पनि घाइत हुन्छ । गधाको के कुरा । तर अहिले मलाई सँचो छैन । कमजोर भएको छु । यसैले मेरो झम्टाइ खेर गयो ।"

स्यालले भन्यो, "त्यसो भए फेरि कोसिस गर । म त्यो गधालाई फेरि फकाएर ल्याउँछु । यसपल्छ भने तिम्रो प्रहार खेर न जाओस् ।"

"एक पल्ट बिच्केर गएको गधा फेरि काल खोज्दै यहाँ कसरी आउला र ?" सिंहले शंका व्यक्त गर्यो ।
गधाले भन्यो, "त्यसको चिन्ता गर्नुपर्दैन । मैले त्यसलाई कसरी ल्याउँछु हेर । झम्टनका लागि तयार भएर बस ।"

स्याल फेरि गधा भएको ठाउँमा पुग्यो । उसलाई देख्ने बित्तिकै गधाले भन्यो, "कस्तो भांजा रहेछौ तिमी मामालाई झण्डै मारेको । बनमा जानवरहरूले मार्न बेरलाउन्नन् भनेर त मैले पहिले नै भनेको थिएँ । भाग्यले ज्यान जोगाएर आएँ ।"

गधाको कुरालाई हाँसोमा उडाउँदै स्यालले भन्यो, "ओहो मामा तपाइँ त झुक्किनु भएछ । मैले तपाईँलाई पहिले नै भनेको थिएँ । बनमा गधाहरू बडो रमाएर बसेका छन् । उनीहरू पोसिलो घाँस खान पाएर मोटाएका छन् । त्यस्तै एउटी भर्खर बैँस लागेकी गधीले तपाईँलाई माया गरेर गम्लंग अँगालो हाल्न खोजेकी थिइन् । तपाईँ त डाराएर भाग्नु भयो । बिचरी त्यो गधी तपाईँको प्रेमको विरहले छटपटाइरहेकी छे ।"

गधाले छक्क पर्दै सोध्यो, "भांजा! के मलाई झम्टने जानवर गधी नै थिई त ? यदि त्यसो हो भने ऊ निक्कै मोटो र बलियो हुनुपर्छ । उसका पाखुरा कति बलिया थिए । उसको अँगालोले अहिले पनि मेरो जिउ दुखिरहेको छ ।"

काल्पनिक गधीको लोभमा परेर त्यो गधा फेरि स्यालसँग बनमा जान तयार भयो । यस पल्ट भने सिंहको प्रहार खेर गएन । तीनचार पल्ट हिर्काएपछि गधाको प्राण गयो ।

गधालाई मारेपछि सिंह पानी खान नजिकैको पोखरीमा गयो । त्यही बेला स्यालले गधाको छाती चिरेर त्यसको मुटु र कलेजो झिकेर खायो ।

सिंह पानी खाएर फर्कँदा उसले गधाको मुटुकलेजो नभएको देखेर रिसाउँदै भन्यो, "धूर्त स्याल तैँले म आउनुअघि नै यसको मुटु र कलेजो पनि खाइस कि कसो ?"

स्यालले विनम्र हुँदै जवाफ दियो, "रिसानी माफ होस् । यो गधाको मुटुकलेजो नै थिएन । यदि यसको मुटुकलेजो भएको भए एक पल्ट सिंहको आक्रमणमा परेपछि फेरि कसरी आउँथ्यो ?

स्यालको कुरा सिंहलाई चित्त बुझ्यो ।

माथि

४ गधाको मूर्खता
एउटा धोबीले गधा पालेको थियो । पेटभरि ख्वाउन नसकेकोले गधा दुब्लाउँदै गएको थियो । उसले गधालाई पेटभरि ख्वाउने एउटा उपाय निकाल्यो ।

धोबीसँग बाघको छाला थियो । उसले गधालाई बाघको छाला ओढायो र रात परेपछि छिमेकीको खेतमा छाडिदियो । गधाले रातभरि खेतको बाली खायो । बाघजस्तो ठानेर कोही पनि उसको नजिक जाने वा उसलाई धपाउने आँट गर्न सकेन ।

यसरी दिनदिनै भर्खर फल्नलागेको मकै गहुँ आदि पोसिलो खानेकुरा खान पाएपछि गधा मोटायो र घमण्डी पनि भयो । एक रात बाघको छाला ओढेर छिमेकीको खेतमा चरिरहेको बेलामा गधाले पर कतै गधी कराएको सुन्यो । उसले आफूले बाघको खोल ओढेको कुरा बिर्स्यो र जोशमा आएर कराउन थाल्यो ।

रातको बेला खेतमा गधा कराएको सुनेर किसान लौरो लिएर खेतमा गयो । उसले गधालाई नमरुँजेल पिट्यो । गधाको स्वर नै उसको मृत्युको कारण बन्यो ।

माथि


प्रथम तन्त्र द्वितीय तन्त्र तृतीय तन्त्र चतुर्थ तन्त्र पंचम तन्त्र


मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of