a presentation of Dreams & Ideas

         
     
   

पंचतन्त्र कथा

पंचम तन्त्रः अपरीक्षित कारक
कथा सूची

१ न्याउरी मारी पछुतो
२ मूर्ख विद्वान
३ यात्राको साथी


१ न्याउरी मारी पछुतो

देवशर्माकी पत्नीले छोरा पाएकै दिन उसको घरमा बस्ने न्याउरीमुसाले पनि एउटा बच्चा ब्याई । तर ब्याउने बित्तिकै न्याउरीमुसा मरी । देवशर्मा र उनी पत्नीले बडो जतन र माया गरेर न्याउरीको बच्चालाई पाले र हुर्काए ।

न्याउरीमुसा ठूलो भएपछि देवशर्माको छोरासँग खेल्न थाल्यो । न्याउरी र बालक साह्रै मिल्थे । एक अर्कालाई माया गर्थे । तर न्याउरी मुसा पशु भएकोले बालकलाई टोक्ला भन्ने बालकका आमाबालाई पिर पर्थ्यो ।

एक दिन देवशर्माकी पत्नी छोरालाई सुताएर उसको रेखदेख गर्ने जिम्मा देवशर्मालाई दिएर पानी भर्न तलाउमा गएकी थिइन् । संयोगले त्यही बेला देवशर्मालाई उसको जजमानले बोलाउन आयो । जजमानको घरमा पूजा भएकोले नगै नहुने थियो । यसैले छोराको जिम्मा न्याउरीलाई दिएर ऊ जजमानसँग गयो ।

देवशर्मा घरबाट निस्कने बित्तिकै एउटा सर्प घरभित्र पस्यो । त्यो सर्प बच्चा सुतिरहेको ओछ्यानतिर जान थाल्यो । न्याउरी ओछ्यानको नजिकै बसिरहेको थियो । सर्प ओछ्यानतिर आउन लागेको देखेर ऊ सतर्क भयो । सर्प अझै नजिक आएपछि उसले सर्पमाथि आक्रमण गर्यो । सर्प र न्याउरीबीच केही बेर घम्साघम्सी भयो । आखिरमा न्याउरीले सर्पलाई टुक्राटुक्रा पार्यो । न्याउरीको जिउमा पनि धेरै ठाउँमा घाउ भयो ।

देवशर्माकी पत्नी पानी भरेर घरमा आएको देखेपछि न्याउरी आफ्नो बहादुरी देखाउन र माया पाउन उसको नजिकै गयो र उफ्रन खेल्न थाल्यो । न्याउरीको जिउभरि र मुखमा पनि रगत लटपटिएको देखेर देवशर्माकी पत्नीको मनमा कतै मेरो छोरालाई त मारेन भन्ने शंका भयो । मनमा यो शंका आउने बित्तिकै उसलाई रिस उठ्यो । उसले रिसको झोँकमा पानीको गाग्रीले न्याउरीलाई हानी । बिचरा न्याउरी ठहरै पर्यो ।

त्यसपछि ऊ दगुर्दै छोरा सुतेको ठाउँमा पुगी । छोरा मस्तसँग सुतिरहको थियो । ओछ्यानमा र वरिपरि मरेको सर्पका टुक्राहरू छरिएका थिए । त्यो देख्ने बित्तिकै न्याउरीले सर्पलाई मारेर आफ्नो छोराको ज्यान जोगाएको कुरा र्छलँग भयो । कुरा नबुझी, रिसको झोँकमा न्याउरी मारेकोमा ऊ निक्कै पछुताई । तर अब पछुतो मानेर के हुन्थ्यो र ?

माथि

२ मूर्ख विद्वान
एक जना पंडितका चार भाइ छोरा थिए । तीमध्ये तीन जना पढेलेखेका र शास्त्र जान्ने विद्वान थिए । कान्छो छोरा पढेलेखेको थिएन तापनि बुद्धिमान थियो । उसलाई लोकव्यवहारको ज्ञान थियो ।

एकपल्ट चारै भाइले परदेशमा गएर आफूले जानेको शास्त्रको बलले धनसम्पत्ती कमाउने निधो गरे । उनीहरूमध्ये तीन भाइले के सल्लाह गरे भने कान्छो भाइ बुद्धिमान भए पनि उसले शास्त्र पढेको छैन । शास्त्र नपढी विद्वान भइन्न । विद्वान नभै पैसा कमाइन्न । यसैले भाइलाई आफूसँग नजान पनि सल्लाह दिए । तर साहिँलो भाइले यो हाम्रै भाइ हो, अहिलेसम्म हामी छुटि्टएका पनि छैनौँ । विद्वान नभए पनि यो बुद्धिमान छ, यसलाई पनि सँगै लैजाउँ भन्यो । धेरै बेरको छलफलपछि चारै जना सँगै जाने निधो गरे ।

जाँदाजाँदा बाटोका घनघोर जंगल आयो । त्यहाँ उनीहरूले बाटोको छेऊमै कुनै जानवरको हाडखोर देखे । त्यो देखेर जेठोले भन्यो, "हेर, यहाँ कुनै जंगली जानवरको हाडखोर छ । यी हाडहरूलाई जीवित बनाएर हामीले आफ्नो विद्याको जाँच गर्नसक्छौँ ।"
माइला र साइँला भाइले उसको कुरामा सही थापे । कान्छो भाइ भने चुपचाप सुनेर बस्यो ।

त्यसपछि जेठोले ती हाडहरूलाई बटुलेर रोज्यो र आफ्नो विद्याको बलले हाडहरूलाई जोरेर एउटा जानवरको रूपमा उभ्यायो । माइलोले त्यसमा मासु, रगत आदि शरीरलाई चाहिने सबै कुरा भर्यो । त्यो जानवर सिंह रहेछ । अनि साहिँलोले आफ्नो विद्याको प्रयोग गरेर त्यो मरेको सिंहलाई जीवित बनाउन अघि सर्यो ।
कान्छोले साहिँलादाइलाई रोक्दै भन्यो, "ए दाइ, पर्ख । बिचारै नगरीकन यसलाई जीवित नपार । यो सिंह हिंसक जानवर हो । यो जीवित हुने बित्तिकै यसले हामीलाई मारेर खानेछ ।"

तर साहिँलो आफ्नो विद्याको बल देखाउन उत्ताउलो भएको थियो । उसले कान्छा भाइको कुरा मानेन । उसले भन्यो, "जरेठा र माइला दाइहरूले आआफ्नो विद्याको चमत्कार देखाइसके । ममात्रै किन पछि पर्ने ?"

साहिँला दाइको करा सुनेर उसले भन्यो, "त्यसो भए एक छिन पर्ख । पहिले म रुखमा चढ्छु अनि तपाईँले आफ्नो विद्याको चमत्कार देखाउनुहोला ।"

यति भन्दै वुद्धिमान कान्छो भाइ दगुरेर नजिकैको अग्लो रुखमा चढ्यो ।

साहिँला भाइले सिंहको शरीरमा प्राण राख्ने बित्तिकै सिंह आंग तन्काउँदै जुरुक्क उठ्यो । उसले आफ्नो अगाडि तीन जना मानिसलाई देखेर उनीहरूमाथि झम्ट्यो र मारेर खायो ।
पेट भरिएपछि सिंह बनभित्र गयो । त्यसपछि कान्छो भाइ रुखबाट ओर्लेर घरतिर लाग्यो ।

माथि

३ यात्राको साथी

एक जना मानिसलाई अर्को गाउँमा जाने काम पर्यो । बाटोमा जंगल थियो । यसैले उसकी आमाले उसलाई एक्लै नजाने सल्लाह दिइन् । तर उसले भन्यो, "मलाई बाटो थाहा छ । एक्लै जान सकिहाल्छु । साथी चाहिँदैन ।"

तर आमाको मन मानेन । उनी नजिकैको पोखरीमा गइन् र एउटा गँगटो समातेर ल्याइन् । उनले त्यो गंगटोलाई एउटा बट्टामा राखिन् र छोरालाई दिँदै भनिन्, "लौ यो गंगटोलाई भए पनि सँगै लिएर जाऊ ।"

उसले आमाको कुरा काट्न सकेन । गंगटोलाई लिएर ऊ यात्रामा निस्क्यो । गर्मीको बेला थियो । केही बेर हिँडेपछि उसलाई थकाइ लाग्यो । ऊ एउटा चौतारोमा बस्यो । बस्दाबस्दा ऊ त्यहीँ निदायो । गर्मीले आत्तिएर डब्बाभित्र राखेको गंगटो बाहिर निस्क्यो ।

त्यो चौतारीको रुखको फेँदमा टोड्को थियो । त्यो टोड्कोमा कालो सर्प बस्थ्यो । सर्प बाहिर निस्केर सुतेको मानिसको नजिकै जान थालको गंगटोले देख्यो । ऊ चाल मारेर सर्पको नजिकै गयो र आफ्ना सनासो जस्ता बलिया पंजाले सर्पको घाँटी अंठ्यायो । सर्प एक छिन् छटपटायो । गंगटाको धारिलो पंजाको माझमा परेर सर्पको घाँटी दुई टुक्रा भयो ।

निंदबाट जागेपछि त्यो मानिसले आफ्नो नजिकै सर्प दुई टुक्रा भएर मरेको र नजिकै गंगटा बसेको देख्यो । उसले आफ्नी आमालाई सम्झ्यो । उसले आमालाई मनमनै प्रणाम गर्यो र गाउँतिर लाग्यो ।

माथि

 

प्रथम तन्त्र द्वितीय तन्त्र तृतीय तन्त्र चतुर्थ तन्त्र पंचम तन्त्र

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of