a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

भालुको बगैँचा

बनमा एउटा अग्लो र मोटो भालु बस्थ्यो । दुइटा खुट्टाले उभिँदा त्यो भालु मान्छेभन्दा अग्लो देखिन्थ्यो । ऊ बँदेलसँग पनि लड्नभिडन सक्थ्यो । यसैले बनका अरु जीवजन्तुहरूले उसलाई पहलमान भालु भन्थे ।

पहलमान भालुकी स्वास्नी र एउटी छोरी थिइन् । उनीहरू बनको माझमा ठूलो ओढारमा बस्थे । ऊ बस्ने ओढारको अलिपर एउटा सानो खोला थियो । उनीहरू घण्टौँसम्म खोलाको पानीमा खेल्थे । खोलामा माछा, भ्यागुता र गँगटा पाइन्थे । उनीहरूले माछा समातेर ओढारमा ल्याएर खान्थे ।

ओढारको वरिपरि खनिया, आँप, कटहर, जमुना, फँडेर, काफल, किम्बु, ऐसेलु, म्याल, ओखर, चुत्रो, बडहर आदि भाँतिभाँतिका फलफूलका रुखहरू थिए । ठूला रुखका टोँडकामा मौरीका घार थिए । पहलमान भालुलाई माछा धेरै मनपर्थ्यो भने भालुकी स्वास्नी नक्कली कटहर र जमुना धेरै रुचाउँथी । भालुकी छोरी चुलबुललाई आँप, काफल र ऐसेलु मनपर्थ्यो । मह र खनिया भने सबैले उत्तिकै रुचाउँथे ।

उनीहरू बेलाबेलामा टोँडकाको मौरीको घारबाट मह काढ्थे । उनीहरूले बाँसको ढुँग्रोमा मह संगालेर राख्थे । उनीहरू बस्ने ओढारको भित्तामा काठको किला ठोकेर महले भरिएका ढुँग्राहरू लस्करै झुण्ड्याइएका हुन्थे । विहान माछा, मह, फलफुल खाएपछि उनीहरू बनमा घुम्न निस्कन्थे ।

बनमा घुम्दा उनीहरूले बाटामा भेटिएका फलफूल बटुल्थे । सानातिना जीवजन्तु र चराहरू पनि उनीहरूले मार्थे र ओढारमा ल्याउँथे । उनीहरूलाई खाने कुराको दुःख थिएन । दिउँसो फुर्सतमा उनीहरू आगनमा बसेर खेल्थे । वरिपरिका रुखहरूमा जुरेली, ढुकुर, कोइली, तित्रा, कालिजका गुँड थिए । भालु परिवार आगनमा बसेर घाम ताप्दै चराहरूको गीत सुन्थे र नाच हेर्थे । पहलमान भालु र उसको सानो परिवार रमाइलोसँग बनमा जीवन बिताइरहेको थियो ।

त्यो बनमा अरु जीवजन्तु पनि थिए । कहिलेकाहीँ बाँदरको बथान ओढार नजिकै आउँथ्यो । बाँदरहरूले फलफूल टिप्थे । रुखको टोडकाबाट मह झिकेर खान्थे । राती चमेराहरू आउँथे र भालुको मनपर्ने खनिया खाइदिन्थे । फलफूल खान अरु चराहरू पनि आउँथे । खोलाको छेऊमा बस्ने ओतहरूलाई माछा नभई हुँदैनथ्यो । रातीराती घण्टौँसम्म पानीभित्र पसेर माछा समात्नु उनीहरूको शोख नै थियो । यसरी त्यो बनको रमाइलो र त्यहाँ पाइने फलफूल, मह, माछाजस्ता मिठा खाने कुराहरू भालुले मात्रै होइन अरु जीवजन्तु र चाराहरूले पनि उपभोग गर्थे ।

यो कुरा पहलमान भालुलाई मन पर्दैनथ्यो । त्यो बनमा भएको सबै कुरा ऊ आफ्नो एकलौटी ठान्थ्यो । एक दिन उसले हुलाकी कौवालाई बोलाएर भन्यो, "हेर कौवा, मेरो ओढार वरिपरिको बन र यो खोलो मेरो हो । यहाँ फल्ने फलफूल, मह र खोलाको माछा सबै मेरो हो । अबदेखि बाँदर, चमेरा, चरा, ओत र अरु जीवजन्तुले समेत यो वनको फलफूल, मह र माछा खान पाउँदैन । मलाई नसोधीकन मेरो बनभित्र छिर्न पनि पाउने छैन । नत्र मैले त्यसलाई सजाय दिनेछु । यो कुरा बनका सबै जानवर र चराचुरुंगीलाई सुनाइदेऊ ।"

कौवाले पहलमान भालुको आदेश बनका सबै जीवजन्तु र चराहरूलाई सुनायो । भालुको कुरा सुनेर बनमा बस्ने सबै प्राणी रिसाए, किनकि त्यो बन उनीहरू सबैको साझा हो र सबैले बनबाट आआफ्नो खाँचो पूरा गर्न पाउँछ भन्ने थिति बसिसकेको थियो । यो थिति तोड्नु भनेको त बलमिच्याइँ हो । तर कसैले पनि भालुको आदेशको खुलेर विरोध गर्नसकेन । किनकि पहलमान भालुको बलसँग सबै जीवजन्तु डराउँथे ।

त्यसपछि पहलमान भालु, उसकी स्वस्नी र छोरी मोटो लौरो लिएर नंग्रा तिखार्दै आगनमा घुम्न थाले । राती पनि उनीहरू पालैपाले जागा बसेर बनको फलफूलको रखवारी गर्थे ।

फलफूल, मह र माछा खान आउने पशुपंछीहरूलाई उनीहरूले कसैलाई तर्सएर धपाए भने कतिपयलाई मारे पनि । माछा नखाई नहुने ओतको परिवार बसाइ सरेर खोलाको सिरानतिर बस्न गयो । चराहरूले पनि ओढारको वरिपरि गुँड बनाउन छाडे । पहलमान भालुको डरले त्यहाँ बाँदर, दुम्सी, खरायोमात्र होइन चरा र किराहरूसमेत आउन छाडे । केबल हुलाकी कौवा कहिलेकाहीँ सुकेको माछा खान पाइन्छ कि भनेर आउँथ्यो र बनका हालखबर सुनाएर जान्थ्यो ।

मिठो गीत गाउने चराहरू आउन छाडेपछि भालु परिवारले गीत सुन्न पाएनन् । बिऊ र केसर ओसारपसार गरेर फलफूल फलाउन र नयाँनयाँ बिरुवा उमार्न सघाउने चराचुरुंगीहरू आउन छाडेको हुनाले त्यहाँ फलफूल फल्न पनि छाड्यो । फलफूल नभएपछि मौरीले मह बनाउन रस पाएन । यसैले मौरीहरू पनि रानीसमेत अर्को बनमा बसाइ सरे । ओतहरू खोलाको सिरानमै गएर माछा मार्न थालेको हुनाले ओढार नजिकको खोलामा माछा पाइन छाड्यो । केही दिनपछि ओढारवरिपरिको बन उराठ लाग्दो देखिन थाल्यो । बनमा खानेकुरा पाइन छाड्यो ।

भालु र उसको परिवारलाई बनमा दिनभरि डुल्दा पनि पेटभरि खानेकुरा बटुल्न गाह्रो भयो । मह र खनिया खान नपाएपछि उनीहरूको जाँगरै हरायो । उनीहरू खाने कुरा खोज्न बनमा एक्लाएक्लै चाहार्न थाले ।

एक दिन भालुकी छोरी चुलबुल माछा खोज्दै थिई । माछाको सट्टा उसले गँगटा र भ्यागुतामात्रै भेट्टाइ । ऊ निक्कै भोकाएकी थिई । यसैले उसले मन नपरे पनि भ्यागुता र गँगटा समाती । यही बेला खोलापरिको बनमा उसले बनबिरालोलाई देखी । बनबिरालोले थुप्रै माछा मारेर लहरामा उनेर काँधमा बोकेको थियो । बोक्नसक्ने जति माछा लिएर ऊ घरतिर जाँदै थियो ।

चुलबुलले मन थाम्न सकिन । ऊ दगुर्दै बनबिरालोको छेऊमा पुगी र भोको पेट देखाउँदै साह्रै टिठलाग्दो स्वरमा बनबिरालोसँग दुईचार वटा माछा मागी ।

बनबिरालोले सोध्यो, "तिमी त्यही खोलापारिको ओढारमा बस्ने भालुकी छोरी त होइनौ ?"

चुलबुलले हो भनेपछि बनबिरालोले भन्यो, "हेर चुबलुल, तिम्रो बाले बनका पशुपंछीहरूमाथि धेरै अन्याय गर्यो । उसले साझा बनलाई एकलौटी बनायो । बनका फलफूल, मह, माछा सबैले खान पाउने पशुपंछीहरूको अधिकार उसले खोस्यो । यसै कारण तिमी बसेको ओढार ओरिपरिको बनको यो अवस्था भएको हो । तिम्रो चाउरी परेको पेट र मलिनो अनुहार देखेर टिठ लाग्छ । तर मैले तिमीलाई माछा खान दिएको कुरा अरू पशुहरूले थाहा पाए भने मलाई यो बनमा बस्न दिने छैनन् । यसलै म तिमीलाई यो माछा दिन सक्तिन । बरु तिमी गएर आफ्नो बालाई सम्झाऊ । यो बन फेरि सबैको साझा भयो भने बनका पशुपंछीहरूको मात्रै होइन तिमीहरूको पनि भलो हुन्छ ।"

माछा खान नपाएपछि चुलबुल रुँदै ओढारतिर गई । ओढारभित्र उसकी आमा नक्कली एउटा कुनामा पल्टिरहेकी थिई । उसले रुँदै बनबिरालोले भनेको कुरा आमालाई सुनाई । नक्कलीले चुलबुललाई सम्झाउँदैभनी, "हुनत हो, यो बन सबैको साझा हो । तेरो बाले आफ्नो बलको शेखीले यो बनलाई एकलौटी बनाएका हुन् । यसो गर्न नहुँदो रहेछ । अब त तेरो बाको बुद्धि पल्हायो होला ।"

यत्तिकैमा पहलमान भालु आइपुग्यो । उसले माछा राख्ने फुर्लुङमा गँगटा र भ्यागुता ल्याएको थियो । बाले खानेकुरा ल्याउला भनेर आश गरेकी चुलबुलले फुर्लुङमा गँगटा र भ्यागुतामात्रै देखेपछि ऊ डाँको छोडेर रुन थाली ।

नक्कलीले पनि लोग्नेलाई घोँचपेच गर्दै भनी, "हाम्रो एकलौटी बनमा फलफूल र मह हुन छाडेछ कि क्या हो ? छोरी भोकले आत्तिएकी छे । खोलाका माछा पनि उडेर गएछन् कि कसो ?"

भोक त भालुलाई पनि लागेको थियो । पहिले स्वस्नी र छोरीलाई ख्वाएपछि मात्रै खाउँला भनेर ओढारमा आएको भालु स्वास्नीको व्यंग्य सुनेर रिसायो । उसले फुर्लुङ एकतिर फ्याँक्यो र दुई हातले नक्कलीको जगल्टा लुछेर भुइँमा पछार्यो । बाबुको रिस देखेर चुलबुल ओढारको एउटा कुनामा लुक्न गई ।

त्यो दिन पहलमान भालुको परिवार भोकै सुत्यो । दिनभरि बनमा खानेकुरा खोज्दाखोज्दा थाकेका हुनाले उनीहरू भोकै निदाए । निँदमा पहलमान भालुले मिठो सपना देख्यो ।

सपनामा उसले ओढार ओरिपरि चराहरू चहचहाउँदै गाएको, मौरीले भुनभुन गर्दै फुलको रस ओसारेको, रुखको टोँडका मौरीको गुलियो महले भरिएको, खोलामा पौडी खेल्दै माछा समातेको देख्यो । त्यही बेला एक हुल चमेरा आएर खनिया खान थालेको देखेर उसलाई रिस उठ्यो । ऊसले ढुंगा टिपेर चमेरालाई हान्न खोज्दा उसको हात साह्रो कुरामा ठोक्किएर ऊ बिउँझ्यो ।

बाहिर झलमल्ल घाम लागिसकेको रहेछ । ओढारबाहिर हुलाकी कौवा काका गरेर कराइरहेको थियो ।

भालुले ओढारको आगनमा चरा र बाँदरलाई धपाउन थुपारेको ढुंगा र लौरो मिल्काउन थाल्यो । यो देखेर कौवाले अचम्म मान्दै सोध्यो, "होइन पहलामान काका तपाईलाई के भयो आज ? बगैँचाको रक्षा गर्न थुपारेको ढुंगामुढा किन फाल्न थाल्नुभयो ? दुःख दिन आउलान फेरि अरु जानवर र चराहरूले ।"

कौवाको कुरा सुनेको नसुनेझैँ गरेर पहलमान भालुले भन्यो, "हेर कौवा, तिमी मेरो भलो चिताउँछौ भने तुरुन्तै जाऊ र बनमा सारा पशुपंछी किराफट्यांग्राहरूलाई यो ओढार वरिपरिको बनमा निम्त्याऊ । आजदेखि यो बन सबैको साझा हो भनेर खबर फैलाऊ । चराहरूलाई यहाँ आएर गुँड बनाऊ र गीत गाऊ भन । ओतहरूलाई बसाइ सरेर यहीँ आएर खोलामा रमाऊ भन । चमेरालाई खनिया खान डाक । मौरीलाई फूलको रस बटुलेर मह बनाऊ भन । बाँदरलाई फलफूल र मह खान बोलाऊ ।"

भालुको निम्ता पाएर बनका प्राणीहरू खुशी भए । उनीहरूले भालुको ओढार रित्तो छ भन्ने थाहा पाइसकेका थिए । त्यसैले ओतहरूले माछा बोकेर आए । चराहरूले खनिया, जमुना, काफल, ऐसेलु र रसिला फलहरू लिएर आए । बाँदरले महका चाकाहर ल्याए । त्यो दिन पहलमान भालुको ओढारको आगनमा पहलमान भालुको परिवारसँग बनका पशुपंछीहरूले अनौठो बनभोज खाएर खुशी मनाए ।

साँचल, सानेपा, ललितपुर
२०६० चैत २ गते ।

(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)


माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of