a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

भ्यागुता, माछा र मान्छे

खोलाका माछाहरू भटाभट मर्न थालेका थिए । माछासँगै भ्यागुता, गँगटा र पानीमा बस्ने अरु जीवहरू पनि मर्दै थिए । चंखे भ्यागुताका आमाबामात्रै होइन उसका दौँतरीहरू पनि मरिसकेका थिए ।

एकदिन दिउँसो चंखे दिक्क भएर खोलाको बगरमा घुम्दैथियो । उसले बगरमा कागतका बट्टा र रित्ता सिसीहरू देख्यो ती कागत र सिसीमा "किरामार्ने विषालु औषधी" लेखिएको थियो । खोलाका माछा र अरु जीवहरू किन यसरी अचानक मरे भन्ने कुरा चंखेले बल्ल बुझ्यो । यो कुरा अरु भ्यागुताहरूलाई पनि सुनाउन ऊ उफ्रँदै खोलाको दहतिर लाग्यो ।

दहमा केटाहरूले माछा मार्न लागेका थिए । चंखे चाल मारेर दहछेऊ पुग्यो र केटाहरूले माछा समातेको हेर्न थाल्यो । एउटा केटाले चंखेलाई देखिहाल्यो र चिच्यायो, "हेरहेर, भ्यागुता !"

चंखे ज्यान जोगाउन पानीभित्र हामफाल्यो । पानी भित्र पुग्ने बित्तिकै उसको टाउको दुख्न थाल्यो । खप्न नसकेर ऊ पानी बाहिर निस्क्यो र ढुँगाको कापमा लुक्न खोज्यो । तर उसलाई रिगंटा लाग्न थाल्यो ऊ हिंड्न सकेन र त्यहीं उत्तानो परेर पेट फुलाउँदै पल्ट्यो ।

आकाशमा चील र काग उडिरहेका थिए । तिनीहरूले चंखेलाई जुनसुकै बेला पनि झम्टेर खान सक्थे किनकि ऊ लुक्न वा भाग्नसक्ने अवस्थामा थिएन । उसले आफू पक्कै मर्ने भएँ भन्ने कल्पना गर्न थाल्यो । माछा मार्नको लागि केटाहरूले खोलामा वीष राखेको कुरा उसले बुझ्यो । उसले आँखा घुमाएर यता उता हेर्यो । उसको वरिपरि माछा मात्रै होइन भ्यागुता, गँगटा, पँधेर्नी कीरा र पानीमा बस्ने अरु जीवहरू पनि छट्पटाइरहेका थिए ।

उता दहमा केटाहरू पानीमा पौडँदै पानीभित्र डुब्दै माछा समात्दै खुशी हुँदै थिए । चिल, काग र अरु चराहरू बगरमा पल्टेका माछा, भ्यागुता गँगटा र कीराहरू खाँदैथिए । उनीहरूले रमाईरमाई माछा खाए । रात परेपछि केटाहरू घरतिर लागे ।

भोलिपल्ट बिहान चंखे उठेर हेर्दा छक्क पर्यो । हिँजो बगरमा रमाउँदै माछा, भ्यागुता गँगटा र किरा खाने चराहरू कोही पल्टेका थिए कोही छट्पटाइरहेका थिए । मरेका चराहरूलाई ककुर र स्यालहरूले लुछ्न थोलेका थिए । यस्तो विनाशलीला देखेर चंखे अत्तालियो । ऊ मानिसको दुर्बुद्धि र अपराधलाई मनमनै धिकार्दै थियो । अचानक उसले शंख फुकेको स्वर सुन्यो ।

एक हुल मानिसहरू मरेको मानिसको लास बोकेर खोलातिर आउँदैथिए । मलामीहरूमध्ये कोही छाती पिटीपिटी रोइरहेका थिए । लासलाई खोलाको किनारैमा बिसाएपछि मलामीहरू लास जलाउन दाउरा चाङ लगाएर चिता बनाउन थाले ।

चंखेलाई खुल्दुली लाग्यो । ऊ बिस्तारै लासको नजिकै पुग्यो । लासको अनुहार देखेर ऊ झण्डै बेहोस भएन । किनकि त्यो हिजो दहमा माछा मार्ने केटाहरू मध्ये उसलाई देखेर "हेर भ्यागुता" भन्दै चिच्याउने केटाको लास थियो । अरु कति लास आउने होलान् भन्ने कल्पना गर्दै डरले चंखे आत्तिदैं त्यहाबाट बिस्तारै बीष नभएको पानीको पँधेरा तिर लाग्यो ।

(बालपत्रिका मुना मासिक, वर्ष३, अंक ६, जेठ २०५० मा प्रकाशित ।)

माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of