विनय कुमार कसजुका कथा
बिरालोको उडान
मुसा खाँदाखाँदा सुरी बिरालो वाक्क भइसकेको थियो ।
उसलाई कुखुराको मासु मन पर्थ्यो । तर कुखुरा मारेर खाँदा
घरपटीले ठटाउने हुँदा उसले चरा मारेर खान थालेको थियो
।
दिउँसो सुरी गोठको छानामा निदाएजस्तो गरेर पल्टिरहन्थ्यो
। परेवा, ढुकुर, भेँगेरा नजिक आयो भने झयाप्प झम्टन्थ्यो
र कर्यापकुरुप पारेर गोठभित्र भुस राख्ने कोठामा लगेर
मजाले खान्थ्यो । चराको मासु खाएर अघाएपछि सुरीले जिब्रोले
मुख पुछ्थ्यो र जुँगा मुसार्थ्यो । उसले जुँगा मुसारेको
देख्दा मुसाहरू खुशी हुन्थे । त्यसपछि उनीहरू ढुक्कसँग
उफ्रन र खेल्न थाल्थे ।
तर, सुरीलाई सँधै चराको मासु जुर्दैनथ्यो । चराहरू
पनि सुरीको चालबाट सतर्क भइसकेका थिए । यसैले सुरीले
रुख चढेर चरा समात्न थालेको थियो । ऊ रुखको हाँगामा
र टुप्पामा पनि चढ्नसक्थ्यो । हाँगामाथि चराको गुँडमा
पुगेर उसले फुल र बचेराहरू खान्थ्यो । एक पल्ट एउटा
अग्लो रुखको टुप्पामा पुगेर गुँडमा भएको फुल खान खोज्दा
गिद्धले सुरीको टाउकोमा बेस्सरी थुंगेर ऊ भुइँमा खसेको
थियो । त्यस दिनदेखि ऊ गिद्धसँग निक्कै जोगिन खोज्थ्यो
।
छानामा ढुकेर अनि रुखमा चढेर पनि चराको मासु खान धौधौ
हुन थालेपछि सुरीलाई चराझैँ उडन पाए त रोजीरोजी चराको
शिकार गर्न पाइन्थ्यो भन्ने लाग्न थालेको थियो ।
एक दिन सुरी घरको छानामाथि बसिरहेको थियो । उसलाई देखेर
परेवा र भँगेराहरू परपर भाग्थे । कसरी परेवा समात्ने
भन्ने कल्पना गर्दागर्दै ऊ निदायो । अनि उसले एउटा मिठो
सपना देख्यो ।
सुरीले चराको फुल धेरै खाएपछि उसको जिऊमा चराको जस्तै
प्वाँख उम्रन थालेछ । केही दिनपछि दुबै कुममाथि पखेटा
उम्रिएछन् । पखेटा भएपछि सुरी हावामा उडन र माथिमाथि
जान थालेछ । माथि आकाशमा पुगेपछि जाडो छल्न दक्षिणतिर
लागेका जलहाँसको बथानसँग सुरीको भेट भयो । तीरको टुप्पोजस्तो
आकार बनाएर उडिरहेका सैयौँ जलहाँसहरूको बीचमा सुरी पनि
मिसियो । उसलाई देखेर पहिले त जलहाँसहरू सतर्क भए र
कराए । तर सुरी चुपचाप केही बिराम नगरी उनीहरूको बीचमा
उडनलागेको हुनाले उनीहरूले बाधा विरोध गरेनन् ।
केही बेर हाँसहरूसँग उडेपछि सुरीलाई भोक लाग्यो । उसले
एउटा मोटो हाँस समात्ने बिचार गर्यो । बिचरा हाँसहरूलाई
बिरालोको कुनियत के थाहा ! सुरीले अचानक उसको अगाडि
उडिरहेको एउटा हाँसको घाँटी च्याप्प समात्यो र बेगले
तलतिर झर्यो । ऊ सोझै घरको छानामा आइपुग्यो । आफ्नो
पंजामा परेको हाँसलाई सुरीले दाँतले टोकेर मार्न खोज्दा
हाँस बेस्सरी छट्पटायो । हाँसलाई काबुमा राख्न सुरीले
हात खुट्टा चलाउँदा नजिकै आइपुगेको कुखुराको भाले तर्सर
बेस्सरी चिच्यायो ।
भाले कराएको सुनेर सुरी ब्युँझ्यो । आफ्नो अगाडि मोटो
हाँस नभएको देखेर बिरालोलाई साह्रै रिस उठयो । सुरीले
आफ्नो पखेटा नभएको कुरा बिर्स्यो । उसले चराले पखेटा
फैलाएजस्तै गरी अगाडिका दुई खुट्टा तन्कायो र भाग्न
लागेको भालेमाथि जाइलाग्यो । यसो गर्दा बिचरा बिरालो
छानाबाट खुर्मुरिएर घरको आगनमा बज्जारियो । उसको एउटा
खुट्टा भाँच्चियो ।
घरपटीले माया गरेर सुरीको खुट्टामा औषधी लाएर पट्टी
बाँधिदियो । अहिले सुरी बिरालो मुसा मार्न सक्तैन ।
आजभोलि घरपटी र उसका केटाकेटीले दिएको जुठोपुरो खाएर
सुरीको गुजारा चलिरहेको छ ।
साचल, सानेपा, ललितपुर
२०६१ जेठ १२ गते ।
(मुसालाई दोसल्ला बालकथा संग्रहमा संग्रहित)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |