a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

छेपारोको फुल

"ए नफुटाल्" भन्दा भन्दै सरुले छेपाराको फुल फुटाइहाल्यो ।

सरुका बा बारीमा तरकारी रोप्न कुटोले माटो खुकुलो पार्दै थिए । सरु छेउमा बसेर सानो कोदाली चलाउँदै थियो । खन्दा खन्दै एक ठाउँमा रुखकटहरका बियाँ जस्ता सेता फुलहरू १५?२० वटा भेटिए !

"बा, के हो यो ?" सरुले उत्सुक भएर सोध्यो ।

"छेपाराका फुल यही हो थाहा पाइराख ।" बाले भने ।
"किन त गिलो छ नि ? पुड्के च्याउ जस्तो पो छ त ! " सरुले एउटा फुल हातमा लिँदै सोध्यो ।

"छेपाराको फुल यस्तै हुन्छ ।" बाले भने ।

"छेपारी कसरी ओथारो बस्छे त बा !" सरुले जान्न खोज्यो ।

बाले बेलिविस्तार लगाउँदै भने, "हेर र्सपले झैँ छेपाराले पनि माटामुनि फुल पार्छ र छोड्छ, ओथारो बस्दैन । समय पुगेपछि फुलबाट बच्चा आफै निस्कन्छन् ।"

"यसभित्र बच्चा छ त बा ?" भन्दै सरुले एउटा फुल कोदालीले थ्याच्च थिचिदियो । बाले रोक्ने मौकै पाएनन् ।

फुलबाट सेतो झोल र पूरा नबनेको छेपारोको बच्चा निस्क्यो । सरुले "छ्या" भन्दै माटाले ढाक्न खोज्यो ।

"के गरेको सरु यस्तो ?" बाले रिसाउँदै भने "यस्तो नकाम पनि गर्न हुन्छ ?"

बा रिसाएको देखेर सरुले डराउँदै सोध्यो । "छेपारो विषालु हुन्छ हैन र बा ? यसले टोक्यो भने मरिन्छ भन्छन् नि ! यस्तो शत्रुलाई त सानैमा मार्नु बेस होइन र बा ?"

छोराको अज्ञानता देखेर उनले सरुलाई सम्झाउन थाले, "हेर छेपारो हाम्रो शत्रु हैन मित्र हो । किनभने यसले बारीमा तरकारी र अन्न फलफुलमा लाग्ने किरा फटेंग्रा खाइदिन्छ । स्कूलमा तिमीलाई यस्तो कुरा सिकाउँदैनन् र ?"

सरोवरले "थाहा छैन" भन्ने भावले टाउको हल्लायो र फुल फुटाएकोमा पछुतो मान्यो । बाबु छोरा मिलेर बाँकी फुल माटोले राम्ररी ढाकिदिए ।

भरे सुत्ने बेलामा पनि सरोवरको मनमा छेपाराको कुरा खेलिरहेको थियो ।

सरुले झयालमा रातो टाउको भएको छेपारोले आफुलाई हेरिरहेको देख्यो । ऊ डरायो । तर छेपारोले टाउको तलमाथि गरेर केहीबेर चलाएर आँटा चिम्लेको देखेपछि उसको डर घट्यो ।

"सरु बाहिर आऊ न बारीमा खेल्न जाउँ न ।" सरुले मीठो आवाजमा कसैले डाकेको सुन्यो । तर त्यहाँ छेपारो बाहेक अरु कोही थिएन । ऊ उठ्यो र झयालतिर गयो । छेपारो फुत्त उफ्रेर झ्यालबाहिर सुन्तलाको हागाँमा पुग्यो ।

सरुले सुन्तलाको बोटमाथि हेर्यो । त्यहाँ सुन्तलाको फूल भर्खरै फुल्न लागेको थियो । तर पतेरा लागेर फूललाई हानी पुर्याइरहेको थियो । सरुले त्यहाँ दसपन्ध्र ओटा छेपाराहरू देख्यो । ती छेपाराले सुन्तलाका फूल र पातमा लागेका पतेरा किरालाई भकाभक खाइरहेका थिए ।

छेपाराहरू सुन्तलाका हाँगा हाँगामा उफ्रँदै खेल्दै पतेरा खाँदै रमाइरहेका थिए । सरुले दिउँसो छेपाराका फुल फुटाएकोमा निक्कै पछुतो मानिरहेको थियो । यत्तिकैमा उसले छेपाराहरू कुरा गरिरहेको सुन्यो ।

"हेर यसपाली यो बारीमा कीरा सबै सखाप पार्नु पर्छ ।" एउटाले भन्यो ।

"हाम्रो फुल फुटाल्नेको बारीको पनि के रखवारी गर्ने !" अर्को छेपारोले कुरा काट्यो ।

"हैन त्यो सानो बाबुले त अन्जानमा फुटालेको हो । पछि जतन गरेर अरु फुल त माटाले ढाकिदियो नि । अन्त भए फुल जम्मै फालिदिन्थे वा अरु जीवले खाइदिन्थे, यो ठाउँका मान्छेले हाम्रो काम बुझेका छन् यसैले अब हामी सँधै यही बस्नुपर्छ ।" पहिलो छेपारोले भन्यो ।

यी कुरा सुनेर सरोवर अनायास चिच्यायो, "हुन्छ हुन्छ । अब म तिमीहरूलाई केही गर्दिन ।"
सरोवर निद्रामा कराएको सुनेर उसकी आमाले डराउँदै सोधिन्, "के भनेको ? के गर्दिन भनेको सरु ?"
सरुको निद्रा खुल्यो । ऊ हाँस्दै मुख छोपेर फेरि सुत्यो ।

(बालपत्रिका मुना मासिक, वर्ष२, अंक ९, भदौ २०४९ मा प्रकाशित ।)

माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of