a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

देउताको मकै

धेरै वर्ष अघिको कुरा हो । गुल्मी जिल्लाको रिडीबजारमा रहेको हाई स्कुलमा पढाउन भनेर अमेरिकाबाट पिसकोर स्वयंसेवकको एक जोडी आएको थियो । उनीहरू पतिपत्नी थिए । पतिको नाम जोन बुल र पत्नीको नाम मार्था बुल थियो । उनीहरू किसान परिवारबाट आएका थिए ।

उनीहरू नेपालमा आएर पनि खेतीपाती गर्न रुचाउँथे । गाउँगाउँमा घुम्थे र नयाँ जातको रुखबिरुवा देखे भने त्यसको बिऊ बटुल्थे । आफू बसेको डेराको सानो बारीमा पनि उनीहरूले तरकारी उमार्थे । उनीहरू मकैको धेरै प्रकारको परिकार बनाएर खान रुचाउँथे । उनीहरूले बेलाबेलामा मकैको केक बनाउँथे । मकैको केक खाएर अरु शिक्षकहरू छक्कै पर्थे ।

रिडीबजारदेखि एक किलो मिटरजति माथि उकालो चढेपछि मलिलो बारी भएको एउटा गाउँ आउँछ । त्यहाँको माटोको रंग रातो भएकोले त्यो गाउँलाई नै रातामाटा भनिन्छ । त्यो गाउँमा खुबै राम्रोसँग मकै फल्थ्यो । एक पल्ट त्यो गाउँमा एउटा मकैको बोटमा अचम्मैसँग घोँगा लाग्यो । मकैको बोटको हरेक पात निस्केको ठाउँमा मकै फलेको देखेर मानिसहरू छक्कै परे । एउटा बोटमा दशबाह्र घोँगा मकै लागेको देखेर गाउँलेहरूले यो देवताकै चमत्कार हो भन्ने हल्ला गरे ।

देउताको मकै भनेर कसैले पनि त्यो मकै भाँचेर खाएन । बरु मकैको बोटलाई पूजा गरेर धुप बालेर बोटमा रातो र सेतो धजा बाँधिदिए । मकै पाकेपछि जग्गा धनी किसानले वरिपरिको मकै भाँचेर स्याहारे तर त्यो मकै भाँचेनन् ।

अचम्मको मकैको हल्ला सुनेर एक दिन जोन र मार्था घुम्दै रातामाटा पुगे । उनीहरूले मकैको बोट सामान्यभन्दा अलि बढी सप्रेको देखे । उनीहरूले अनुसन्धान गर्न भनेर एक घोँगा मकै किन्न मागे । तर किसानले भन्यो, "देउताको मकै हो । म त भाँच्दिन ।"

जोनले सय रूपैयाँको नोट देखाएपछि किसानले आफै भाँचेर लैजाने भए लैजाउन भन्यो । जोनले पनि एक सय रूपैया दिएर एक घोँगा मकै भाँचेर लिए । बाकी मकै बारीमा त्यसै सुकेर कौवाले खाएर सिध्याइदियो ।

केही महिनापछि जोन र मार्था दुबै जना अचानक बिरामी परे । रिडीबजारसम्म मोटर बाटो नबनेको हुनाले हेलिकप्टर आएर उनीहरूलाई लिएर गयो । त्यसपछि रिडीबजारमा धेरै जना पिसकोर स्वयंसेवकहरू आए, गए । रिडी बजारका बासिन्दाहरूले उनीहरूलाई बिस्तारै बिर्से ।

झण्डै पच्चिस वर्षपछि मार्था र बुल फेरि रिडीबजारमा आए । त्यस बेला रिडीमा मोटर बाटो बनिसकेको थियो । तैपनि उनीहरू हेलिकप्टरमा चढेर आए । उनीहरूले बीसबाइस वर्षको छोरा पनि सँगै ल्याएका थिए ।

पच्चिस वर्षपछि जोन र बुला निक्कै फेरिइसकेका थिए । उनीहरू सरासर हाई स्कुल कहाँ छ भन्दै सोद्धै स्कुलको आफिसमा पुगे । उनीहरू आफैले आफ्नो परिचय दिए पछि मात्रै पुराना शिक्षकहरू र बजारका बूढापाकाहरूले उनीहरूलाई चिने । त्यस बेला उनीहरूलाई चिन्ने मानिस रिडीमा कमै थिए ।

त्यति बेला रिडी हाई स्कुलको वाषिर्क उत्सवको तयारी हुँदै थियो । उनीहरू वाषिर्कोत्सवको अवसर पारेर आएका रहेछन् । वाषिर्क उत्सवको अवसरमा उनीहरूले स्कुललाई कहिल्यै बिर्सन नसकिने अपत्यारिलो उपहार दिए । उनीहरूले हाई स्कुलको नयाँ भवन बनाउन पचास लाख रूपैयाँ चन्दा दिए भने स्कुल चलाउन र राम्रा विद्यार्थीहरूलाई पढाउनको लागि अमेरिकामा बुल फाउण्डेसन नामक कोषको स्थापना गरेको कुरा सुनाए । साथै हरेक वर्ष पाँच जना जेहन्दार विद्यार्थीहरूलाई अमेरिकामा लगेर पढाउने घोषणा गरे ।

बुल दम्पतीको उदारता देखेर रिडीबजारका बासिन्दाहरू छक्कै परे । तर अझै छक्क पार्ने कुरा त अर्कै थियो । जोन बुलले भन्यो, "तपाइँहरूले देउताको मकै फलेको घटना बिर्सिसक्नु भयो होला । तर त्यही मकैले गर्दा हाम्रो भाग्य चम्क्यो । त्यो एक घोँगा मकै हामीले हाम्रो देशमा लगेर अनुसन्धान गर्यौँ । त्यहाँ लगेर पनि त्यस्तै भयो । हरेक पातसँग एक घोँगा मकै फल्यो । हामीले त्यो मकैको बिऊ उत्पादन गर्ने अधिकार हाम्रो नाममा दर्ता गरायौँ र त्यसको बिऊ उत्पादन गरेर बेच्न थाल्यौँ । किसानहरूले हाम्रो मकैको बिऊ निक्कै रुचाए । हाम्रो मकै बिऊ कम्पनी खुबै चल्यो । फलस्वरूप हामी यत्रो सम्पत्ती कमाउन सफल भयौँ । यदि हामी यहाँ नआएको भए हामी अहिले सामान्य किसान नै हुने थियौँ । म यो ठाउँ र यहाँका बासिन्दा तपाइँहरू प्रति आभारी छु । यो ऋणको बोझ हलुँगो पार्न म यहाँ आएको हुँ ।"

जोनको कुरा सुनेर सबै जनाले ताली बजाए । मार्थाले थपिन्, "त्यो दैवी मकैको कारणले हाम्रो दाम्पत्य जीवन पनि अटुट रह्यो । मकैको बिऊको पेटेन्ट अधिकार हामी दुबैको नाममा संयुक्त रूपमा भएको हुनाले हामी कहिल्यै छुट्टिएनौँ । हाम्रो छोरा टनी बुललाई तपाइँहरूको देशमा ल्याउन पाउँदा मलाई कत्ति खुशी लागेको छ । टनी पनि निक्कै खुशी छ ।"

जोन र मार्थाले उनीहरूलाई मकै बेच्ने किसान परिवारलाई भेटेर उपहार दिन खोजे । तर किसानको परिवार ऋण लागेर घरखेत बेचेर मधेस झरिसकेको रहेछ । उसको बारेमा गाउँमा कसैलाई पनि थाहा रहेनछ । यो कुरा सुनेर उनीहरूलाई साह्रै दुःख लाग्यो ।

सौराहा, चितवन
२०५७ माघ १२

(नवयुग मासिक, वर्ष१४, अंक ५, २०६० चैतमा प्रकाशित ।)

माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of