a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

जूलियासँग च्याट

नेपालमा बाघहरूका लागि सबैभन्दा रमाइलो र सुरक्षित ठाउँ चितवनको जंगल हो । तैपनि त्यहाँ बस्ने बाघ र बघिनीको एक जोडीले पहिलो बेतमा जन्मेका चार वटा डमरु मध्ये बल्लतल्ल एउटा डमरुलाई शिकारीको हातबाट जोगाउन सकेको थियो । उनीहरूले डमरुको नाम डम्बरसिङ राखेका थिए । डम्बरसिङ तन्नेरी बाघ भइसकेको थियो । ऊ आफ्नै दमाली खोज्न थालेको थियो ।

एक दिन डम्बरसिङ जंगलमा घुम्दाघुम्दै एउटा मचान मुन्तिर पुग्यो । मचानको वरिपरि कोही पनि नदेखिएपछि ऊ बिस्तारै मचानमाथि गयो । त्यहाँ आठदश जना मानिस बस्न मिल्ने गरी लामो डेस्क र बेंच राखिएका थिए । डेस्कमाथि दुरबिन, क्यामरा र ल्यापटप कम्प्युटर थियो । तर त्यहाँ कोही पनि थिएन । जंगलको अध्ययन गर्न आएका मनिसहरूले सबै सामान छाडेर खाजा खान गएजस्तो थियो । ऊ छक्क पर्यो । कम्प्युटरमा उसले एउटी भर्खरकी कोरली बघिनीको फोटो देख्यो । उसलाई त्यो फोटोको बारेमा जान्न सकसक लाग्यो ।

डम्बरसिङ बेंचमाथि चढ्यो । उसले कम्प्युटरलाई छुँदै त्यहाँ भएका अक्षर पढ्न थाल्यो । फोटोमा भएकी बघिनीको नाम जुलिया रहेछ । जुलियाको बिहे गर्ने उमेर भएको हुनाले एउटा योग्य दुलाहा चाहिएको रहेछ । दुलाहा चितवनको जंगलमा बस्ने र शुद्ध र घरानिया बाघ जातको चाहिएको रहेछ । पढ्दैजाँदा डम्बरसिङलाई आफूले खोजेजस्ती बघिनी पाउने भएँ भन्ने लाग्यो ।

जुलियालाई कहाँ भेटने होला ? उसलाई जान्न मन लाग्यो । उसले कम्प्युटरको कीबोर्डको एउटा की थिच्यो । जुलिया मुसुक्क हाँसी र "हाई" भनेर बोलाई । डम्बरसिङ छक्क पर्यो । उसले वरिपरि जुलिया छे की भनी हेर्यो । तर त्यो आवाज त क्म्प्युटरबाट आएको थियो । यसैले उसले पनि आफ्नै भाषामा "हाई" भनेर जवाफ दियो ।

त्यसपछि जुलिया र डम्बरसिङले भ्वाइस च्याट गर्न थाले । उनीहरूको च्याट अक्षरमा नभएर आवाजमा हुनथाल्यो । डम्बरले आफ्नो चिनारी र आफूबस्ने ठाउँ बतायो । जुलियाले पनि आफ्नो परिचय दिई । दुबै जनाले एकअर्कालाई मनपराए ।

जुलियाले डम्बरलाई आफूकहाँ निम्त्याई । डम्बरले कहाँ र कसरी आउने भनी सोध्यो । जुलियाले जंगलका गार्डहरूको आँखा छल्दै चोरबाटोबाट आउने सल्लाह दिई । उसले कम्प्युटरमा बाटोको नक्सा बनाएर पनि देखाई । अनि जंगलबाहिर साँझको बेला आजै पर्खेर बस्छु है भन्दै उसले "बाई" गरी र कम्प्युटरको मोनिटरबाट बिलाई ।

डम्बरसिङ दंग परेर एक्लै हाँस्यो । मचानबाट उसले चारैतिर हेर्यो । कतै जुलिया देखिन्छे कि भन्ने आश थियो उसको । तर जुलियाको सट्टा आफ्नी आमा ठूलो स्वरले गर्जेको उसले सुन्यो । डम्बरलाई खोज्दै उसकी आमा यहाँ आइपुगेकी थिई ।

डम्बरसिङलाई आपत पर्यो । अब के गर्ने ? आमालाई सबै कुरा सुनाउने कि नसुनाउने ? जुलिया चितवन बनकी होइनन् । यसैले आमाले ऊसँग बिहे गर्न दिने छैनन् भन्ने उसलाई लाग्यो । यसैले ऊ आमासँग जोगिने बिचार गर्यो । ऊ मचानबाट ओर्लेन । आमाले उसलाई मचान वरिपरि नदेखेपछि बनको अर्को भागतिर खोज्न गई ।

कम्प्युटरमा फेरि जुलियासँग च्याट गर्न पाइन्छ कि भनेर डम्बर एक छिन पर्खेर बस्यो । तर अलि पर मानिसहरू बोलेको आवाज सुनेर ऊ आत्तिँदै मचानबाट ओर्ल्यो । जुलियाले देखाएको बनबाट निस्कने बाटो उसले राम्ररी सम्झेको थियो । जुलियासँग साँझको पहिलो भेटको कल्पना गर्दै र कहिले साँझ पर्ला भनेर पर्खँदै ऊ यताउता भौँतारियो । आजको दिन उसलाई साह्रै लामो लाग्यो । आज किन घाम यति ढिलो ढल्केको होला ? उसलाई घामसँग पनि रिस उठ्यो । बुर्लुक्क उफ्रेर घामलाई झापड दिन खोज्यो ।

बडो मुस्किलले घाम डुब्यो । डम्बरसिङले वरिपरि हेर्यो र चालमारेर बनबाट बाहिर जाने चोरबाटोमा लुसुकलुसुक हिँडन थाल्यो । हात्ती र गैँडासँग पनि लडनभिड्न नडराउने डम्बरसिङ आज रुखको हाँगामा चरा कराउँदा पनि झस्कन्थ्यो । जुनको उज्यालोमा पनि कसैले देख्छ कि भनेर ऊ होशियार थियो । तर उसलाई गोहोरो र लाटोकोसेरोबाहेक कसैले देखेन ।

आखिरमा ऊ बनको छेऊमा पुग्यो । उसले बनबाहिर केही पर एउटी बघिनीलाई देख्यो । शायद ऊ जुलिया नै थिई । ऊ जुलिया भएको ठाउँमा पुग्न हतारियो । तर जुलियाको नजिक नपुग्दै बन्दुकको आवाज आयो । त्यसपछि बिचरा डम्बरसिङ बेहोस भयो ।

होसमा आउँदा उसले आफूलाई बिल्कुलै नयाँ ठाउँमा देख्यो । उसको वरिपरि जंगल थिएन न त जुलिया नै थिई । उसका वरिपरि फलामका ठूलाठूला पिंजडाहरू थिए । ती पिंजडामा कुनैमा गैँडा, कुनैमा मृग, कुनैमा बाँदर राखिएका थिए । ऊ आफै पनि एउटा ठूलो पिँजडाभित्र थियो । उसको पिँजडासँगै अर्को पिँजडामा एउटी बघिनी थिई । तर ऊ जुलिया थिइन ।

नयाँ पाहुना होसमा आएको देखेर बघिनी डम्बरको पिँजडाको बारसम्म आई र उसलाई स्वागत गरी । डम्बरले जुलियाको खोजीमा निस्कँदा मानिसको जालमा परेर चिडियाखानामा आइपुगेको कुरा बघिनीबाट थाहा पायो । उसले आफ्नो नाम जुलिया बताई । डम्बर छक्क पर्यो । उसले भन्यो, "तर जुलिया त भर्खरकी छे ।"

उसको कुरा सुनेर जुलियाले मुसुक्क हाँस्दै भनी, "त्यो मेरो दश वर्षअघिको फोटो हो । चिडियाखानाका कर्मचारीहरूले तिमीलाई यहाँ ल्याउन त्यो फोटो देखाएका होलान् । अब म बूढी भएँ । मासु पनि चपाउन सक्तिन । मलाई हेर्न मानिसहरू पनि आउन छाडे । मलाई पालेर अब चिडियाखानालाई केही फाइदा छैन । यसैले तिमीलाई यहाँ ल्याएको हो ।"

जुलियाको कुरा सुनेर डम्बरसिङ भीरबाट खसेजस्तै भयो । अब बाकी जीवन यहीँ फलामे बारभित्र बिताउनु पर्ने भयो भन्ने कल्पनाले पनि ऊ अत्तालियो । उसले आफूलाई माया गर्ने आफ्नी आमालाई सम्झ्यो । जुलियासँग च्याट गरेको दिनमा उसकी आमाले मचान मुन्तिर खोज्न आउँदा उसलाई भेटाएको भए आज उसले यो अवस्था भोग्नु पर्ने थिएन भनेर ऊ धुरुधुरु रुन थाल्यो । ऊसँग जुलिया पनि रोई । जुलियामात्रै होइन तिनीहरूको वरिपरि बस्ने सारा जीवजन्तु आफ्नो स्वतन्त्र जीवन गुमेको सम्झेर रोए र नयाँ पाहुनालाई सहानुभूति जनाए ।

चिडियाखानामा हरेक पल्ट नयाँ पाहुना आउँदा सारा जीवजन्तु र पशुपंछी यसरी नै रुन्छन् र एकअर्कालाई ढाडस दिने गर्छन् ।

(कान्तिपुर, कोपिलामा, २०६२ वैशाख १६ गते प्रकाशित ।)


माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of