a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

मुसा र खुत्रुके

दुले मुसा लुरे बिरालोसँग भन्दा काले सर्पसँग धेरै डराउँथ्यो । लुरे बिरालो मुसाको दुलोभित्र पस्न सक्तैनथ्यो । तर काले सर्प भने दुलोभित्र पसेर मुसा खान्थ्यो ।

कालेबाट जोगिन एक पल्ट दुलेले साँगुरो र बांगोटिंगो दुलो खन्न थाल्यो । खन्दैजाँदा उसले जमिनमुनि गाडेको घ्याम्पो भेट्टायो । घ्याम्पोभित्र पुराना चाँदीका मोहर थिए ।

दुलेलाई चाँदीको मोहोरको मोल र महत्व थाहा थिएन । उसलाई त टल्कने, गोलो गुड्ने कुरा देखेर रमाइलो लाग्यो । एउटा मोहोर मुखमा च्यापेर ऊ दुलोबाहिर आयो ।

दुले बस्ने घरको घरपेटीको छोरा रामु पाँच कक्षामा पढ्थ्यो । ऊसँग एउटा खुत्रुके थियो । उसले कहिलेकाहीँ दुई चार पैसा खुत्रुकेमा खसाल्थ्यो । खुत्रुकेमा धेरै पैसा सँगालेर धेरै खेलौना किन्ने उसको इच्छा थियो । तर किताब कापी कलम किन्न र स्कुलको फिस तिर्न पनि रामुलाई धौधौ पर्थ्यो । त्यसैले उसले चाहे अनुसार पैसा खुत्रुकेमा राख्नसक्तैनथ्यो । पैसाको सट्टा उसले पुराना टाँक, माझमा प्वाल भएको फलामको वासर र सिसीको बिर्को च्याप्टो पारेर बनाएको ढ्याक पनि त्यसभित्र राख्थ्यो ।

रामुले खुत्रुकेमा मोहर जस्तो गोलोगोलो कुरा खसालेको दुलेले देखेको थियो । यसैले आफूले भेट्टाएको चाँदीको मोहोर पनि उसले रामुको खुत्रुकेमा खसाल्यो । खुत्रुकेभित्र टाँक र फलामजस्ता नबज्ने बस्तु भएकोले दुलेले त्यसमा मोहर खासाल्दा पनि मिठो स्वर निस्केन ।

भोलिपल्ट दुलेले फेरि अर्को मोहर ल्यायो र खुत्रुकेमा खसाल्यो । यस पटक भने पहिले खसालेको मोहरसँग ठोक्किएर छिन्द्रिङ आवाज आयो । दुइटा मोहर ठोक्किएर बजेको सुन्दा दुलेलाई मज्जा आयो । दुले दगुर्दै दुलोभित्र पस्यो र फेरि अर्को मोहर लिएर आयो । तेस्रो मोहोर खुत्रुकेमा खसाल्दा झन मिठो स्वर सुनियो । यसरी दुलेले नियमित रूपमा मोहर ल्याउँदै खुत्रुकेमा खसाल्न थाल्यो ।

दशैँ आउन लागेको थियो । रामुको स्कुलमा छुट्टी सुरु भइसकेको थियो । अरु केटाकेटीलाई झैँ रामुलाई पनि दशैँमा राम्रो लाउन र मिठो खान मन लाथ्यो । उसका दौँतरीहरूले झैँ उसलाई पानि मोटर, हवाइजहाजजस्ता खेलौना खेल्न मन लाग्थ्यो । तर रामुको बा बिरामी भएर धेरै दिनसम्म थला परेकोले काममा जान सकेन । काममा नगए पछि आम्दानी भएन । दशैँ मनाउन नभइनहुने पूजाआजाको सर्जाम जुटाउन पनि उसलाई धौधौ भइरहेको थियो ।

एक दिन राती दुलेले चाँदीका मोहर खुत्रुकेमा राख्नै लागेको बेलामा लुरे बिरालोले उसलाई देख्यो । बिचरा दुले आत्तिएर भाग्न खोज्दा खुत्रुके भुइँमा खस्यो । माटोको खुत्रुके भुइँमा ठोक्किने बित्तिकै फुट्यो । त्यसभित्रका चाँदीका मोहर मात्र हैन टाँक, टिनको बिर्को र फलामका वासर पनि लथालिङ भएर भुइँमा छरिए ।

खुत्रुके फुटेको आवाज सुनेर रामुको निँद खुल्यो । उसका बा आमा पनि के भयो ? भन्दै रामु सुतेको ठाउँमा आए । उनीहरूले भुइँभरि चाँदीका सेता मोहर छरिएको देखेर अचम्म माने । त्यही बेला दुले मुसा आत्तिँदै भागेको उनीहरूले देखे ।

रामुकी आमाले दंग पर्दै भनिन्, "दशैँको बेलामा भगवानले हामीलाई राम्ररी दशैँ मनाउन् भनेर खुत्रुकेमा पैसा भरिदिएजस्तो छ !"

रामुको बाले भने, "खै भूतप्रेत वायुको छल हो कि ? यो पैसा त धामीलाई नदेखाई चलाउनु हुँदैन ।"

आफूले चाहेको कुरा किन्न पाइने भयो भनेर मख्ख परेको रामुले बाको कुरा सुनेर भन्यो, "यो पैसा पक्कै पनि मुसाले खुत्रुकेमा राखिदिएको हुनुपर्छ । तपाईँहरूले मुसा दगुरेको देख्नु भएन र ?"

"त्यसो भए फेरि अर्को खुत्रुके ल्याएर त्यही ठाउँमा राखेर हेरौँ न त ।" रामुकी आमाले उपाय निकालिन् ।

भोलि पल्ट रामुको बाले कुमाल गाउँबाट नयाँ खुत्रुके ल्याएर पहिले राखेको ठाउँमा राख्यो ।

राती कहिले मुसा आउला र खुत्रुकेमा पैसा खसाल्ला भनेर रामु अबेलासम्म नसुती बस्यो । निँदमा उसले मिठो सपना देख्यो ।

एक हुल मुसा दुलोबाट निस्कन थाले । उनीहरू सबैले एकएक वटा चाँदीका मोहर बोकेका थिए । रामुले मुसा गन्न थाल्यो । एक, दुई, तीन, चार, ..... सयसम्म गन्दा पनि दुलोबाट निस्कने मुसाको ताँती सकिएन । रामु दंग परेर हेरिरहृयो ।

आखिरमा एउटा ढाडे मुसा निस्क्यो । त्यो मुसा बिरालो जत्रो थियो । उसले टाउकोमा सकीनसकी एउटा खुत्रुके बोकेको थियो । खुत्रुकेभरि चाँदीका मोहर थिए । यसैले खत्रुके निक्कै गह्रुँगो थियो । अचानक त्यो मुसा लोट्यो । उसको टाउकोबाट खुत्रुके खस्यो र फुट्यो । खुत्रुकेबाट चाँदीका हजारौँ मोहर भुइँभरि छरिए । रामुका खुट्टामा पनि चाँदीका मोहर पोखिए । ढाडे मुसा आत्तिएर दुलो भित्र पस्यो । तर अचम्म ! भुइँमा छरिएका चाँदीका सबै मोहर मौरीझैँ भुइँबाट उडेर ढाडे मुसाको पछिपछि उड्दै दुलो भित्र पसे । उसको खुट्टामाथि पोखिएका मोहर पनि उडेर दुलोभित्र गए ।
यो देखेर रामु आत्तियो ।

'आम्मै' भन्दै ऊ निँदबाट व्युँझ्यो । उसले सपनाको कुरा बाआमालाई सुनायो । उनीहरूले मुसाले गाडेको धन फेला पारेको अडकल गरे । रामुको बाले भन्यो, "पक्कै पनि हाम्रो घरमा, नभए नजिकै कतै पैसा गाडेको हुनर्ुपर्छ । मुसाको दुलो खन्यो भने त्यो पैसा भेटिन्छ होला ।"
त्यो दिनदेखि उनीहरूले मुसाहरू कहाँबाट निस्कन्छन्, कहाँ जान्छन्, के खान्छन् भनेर चियो गर्न थाले ।

खुत्रुके फुटेर तर्सेर दुले मुसाले फेरि मोहर बोकेर आउने हिम्मत गरेन । ऊ मोहर भएको घैँटोतिर जानै छाड्यो ।

केही दिनपछि रामुका बाआमा मिलेर बारी खन्ने कोदालो लिएर मुसाको दुलो खन्न थाले । केही बेर खनेपछि दुलोबाट काले सर्प निस्क्यो । ऊ त्यहाँ मुसा खान गएको थियो ।

रामुको बाले कोदालोले सर्पको टाउको किचेर मारिदियो । काले सर्प मुसाहरूको सबैभन्दा ठूलो शत्रु थियो । त्यसलाई मारेकोमा मुसाहरू रामुको परिवारको गुन माने । सर्प नभएकोले दुले मुसा र उसका आफन्तहरू उफ्रँदै खेल्दै बस्न थाले । तर दुलेले रामुको गुन बिर्सेन। उसले बेलाबेलामा चाँदीका मोहर ल्याएर रामुको खुत्रुकेमा राख्न छाडेको छैन ।

सानेपा, ललितपुर, २०६२ असार २४ गते

(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)

माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of