a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

मुसालाई दोसल्ला

एउटा फुच्चे मुसा सिंहको पंजामा परेको थियो उसले सिंहलाई परेको बेलामा मद्दत गर्छु भनेर आफ्नो ज्यान जोगाउन खोजेको थियो । सानो मुसाले वनको राजा सिंहको के मदत गर्ला र भनेर कसैले पनि पत्याएको थिएन । सिंहको मुखमा त्यो मुसा एक गाँस पनि नहुने भएकोले उसले मुसालाई नमारीकन छडिदिएको थियो । तर पछि कुनै दिन सिंह सिकारीको पासोमा पर्यो । पासोमा परेको सिंह अब मर्ने भएँ भनेर ठूलो स्वरले करायो । सिंहलाई संकटमा परेको थाहा पाएर त्यो मुसाले सिंहलाई बेरेको पासोको डोरी काटेर उसको ज्यान जोगाइदियो । यो कथा उहिलेको हो ।

त्यसपछिको कथा यस्तो छः
आफ्नो राजाको ज्यान जोगाइदिएको हुँदा बनका जानवरहरूले मुसाको ठूलो गुन मानेका थिए । यही गुन तिर्न वनमा जनावरहरूले मुसालाई सिन्दूर जात्रा गरेर दोसल्ला ओढाई सम्मान गर्ने विचार गरे । यो कुरा जाहेर गर्न जनावरका अगुवाहरू सिंहको गुफामा गए ।

उनीहरू गुफामा पुग्दा मन्त्री स्याल पनि सिंहसँगै थियो । सिंहको निकै विश्वासिलो भएको हुनाले उसलाई सबैले जम्मूमन्त्री भन्थे । सिंहको अनुहार हेरेरै उसले सिंहको मनको कुरा बुझ्नसक्थ्यो ।

सिंहको ज्यान जोगाइ दिएको हुँदा इनामको रुपमा मुसालाई दोसल्ला ओढाएर सम्मान गर्ने कुरा जानवरहरूले सिंहलाई भने । सानो मुसाले आफ्नो ज्यान जोगाएको कुरालाई धेरै प्रचार गर्ने सिंहको इच्छा थिएन । उनी यसलाई आफ्नो अपमान ठान्थे । यसैले जनावरहरूको कुरा सुनेर सिंह मन नलागीनलागी हाँस्यो ।

जम्मूमन्त्रीले सिंहको आशय बुझिहाल्यो । उसले ती जनावरहरूलाई भन्यो, "हेर, सम्मान त राजाको पो गर्नुपर्छ, कहीँ मुसाको पनि सम्मान हुन्छ ? सरकारबाट मुसालाई ज्यान सजाय माफ भयो । यही नै उसको लागि ठूलो इनाम र सम्मान हो । बरु मुसामाथि सिंहराजको कृपा र उदारताप्रति प्रजाहरूले कृतज्ञता जाहेर गर्न सरकारलाई पो दोसल्ला ओढाउनु पर्छ ।"

जम्मूमन्त्रीको कुरा सुनेर जनावरहरू अलमल्ल परे । केही जानवरहरूको मन भाँडियो । उनीहरूले भने, "हो, सम्मान त राजाको पो हुन्छ, कहीँ मुसाले दोसल्ला ओढेको पनि सुहाउँछ !" त्यसपछि सिंहको सिंदूर जात्रा गरेर अभिनन्दन गर्ने र दोसल्ला ओढाउने निर्णय गरेर उनीहरू घरतिर फर्के ।

२०५४ बैशाख

(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)

माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of