a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

सुपारीको स्वाद

एउटा मुसा सिंगै सुपारी बोकेर सकी नसकी दुलोतिर जाँदै थियो । अचानक माथिबाट उल्लुले झम्टन लागेको देख्यो । सुपारी त्यहीँ छाडेर मुसा दुलोभित्र पस्यो । उल्लुको पंजामा सुपारी पर्यो ।

उल्लुले त्यो सुपारी आफू बस्ने रुखको टोँडकामा लग्यो । उसले त्यसलाई ओल्टाई पल्टाई हेर्यो । त्यसलाई कतातिरबाट खाने भनी उसले ठम्याउन सकेन ।

पेट नै कमलो होला भनेर उसले सुपारीको पिँध अर्थात् सम्म परेको भागमा आफ्नो भालाजस्तो तीखो चुच्चोले थुँग्यो । सानो घाउ भयो तर रगत मासु केही पनि निस्केन । साह्रो कुरामा ठोक्किएर उसको चुच्चो झण्डै भाँच्चिएन । खाउँ कि नखाउँ दोमन गर्दै उसले फेरि अर्कोतिर थुँग्यो । सुपारीको सानो चोक्टा उछिट्टियो । साथै उल्लुको मुखमा घाउ पनि भयो । उसको मुखबाट रगत बगेर सुपारीमा लट्पटियो । उसलाई रगतको स्वाद निक्कै मन पर्यो । उसले अझै जोडले सुपारीलाई थुँग्न थाल्यो ।

उसले जति जोडले थुँग्थ्यो उति धेरै उसको मुखबाट रगत आउँथ्यो र जति धेरै रगत आउँथ्यो उति उसलाई मज्जा आउँथ्यो । यसरी सुपारीलाई थुँग्दाथुँग्दा ऊ रगतले लुछुप्पै भिज्यो । उसको शरीरबाट धेरै रगत निस्केपछि ऊ अचेत भएर रुखबाट खस्यो ।

२०५६।१।१७।२

(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)


माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of