a presentation of Dreams & Ideas

         
     
   

इसपका नीतिकथा

दोस्रो भाग

२६ चार साँढे र सिंह
एउटा खेतमा चार वटा साँढे बस्थे । एउटा सिंह बेलाबेलामा खेतमा घुम्न जान्थ्यो । उसले साँढेहरूमाथि आक्रमण गर्न धेरै पटक कोसिस गर्‍यो । सिंहले आक्रमण गर्दा ती साँढेहरू मिलेर एक ढिक्का हुन्थे । सिंहले जताबाट हमला गरे पनि उनीहरूले तीखो सिंङले उसलाई घाइते पार्थे ।

आखिरमा एक दिन सांढेहरूको बीचमा झगडा भयो । उनीहरू मिलेर चर्न छाडे र खेतको बेग्लाबेग्लै कुनामा एक्लाएक्लै चर्न जान थाले । यसरी एक्लै चरेको बेलामा सिंहले सजिलैसँग हमला गर्‍यो र एकएक वटा सांढेलाई पालैपालै गरेर मारेर खायो । भाइ फुटे गँवार लुटे भनेको यही हो ।

२७ फ्याउरोको सय दाउ बिरालोको एक दाउ
एउटा फ्याउरोले शत्रुबाट जोगिनका लागि ऊसँग थुप्रै उपायहरू छ भनेर बडो फुर्ती लगायो । "मसँग झोलाभरि दाउपेच छन् । म सयौँ उपायद्वारा शत्रुबाट जोगिनसक्छु" फ्याउरोले भन्यो ।

"मसँग त एउटा मात्रै दाउ छ । तर त्यही एउटा दाउले पनि म शत्रुबाट जोगिनसक्छु ।" बिरालोले भन्यो ।

त्यही बेला उनीहरूले एक हुल सिकारी कुकुरहरू उनीहरूतिर दगुर्दै आइरहेको देखे । बिरालो हत्तपत्त उफ्रेर रुखमाथि चढ्यो र रुखका हाँगा र पातहरूबीच लुक्यो । "मेरो तरिका यही हो ।" बिरालोले भन्यो । उसले फ्याउरोसँग सोध्यो, "तिम्रो तरिका के हो नि ?"

तर फ्याउरोले कुन दाउ चाल्ने भन्ने सोच्नै भ्याएन । सिकारी कुकुरहरूले उसलाई समाते र मारे ।

फ्याउरोको दुर्गति देखेर बिरालोले मनमनै भन्यो, "बरु एउटै दाउ बेस । बेलामा काम नलाग्ने सय वटा दाउ जानेर के गर्ने ?"

२८ फ्याउरो र कौवा
एउटा कौवाले ठोँडमा रोटी च्यापेर उडेको एउटा फ्याउरोले देख्यो । कौवा एउटा रुखको हाँगामा बस्यो । कौवाको मुखको रोटी देखेर फ्याउरोलाई लोभ लाग्यो । उसले त्यो रोटी कौवाको मुखबाट फुत्काउने जुक्ति निकाल्यो ।

फ्याउरो कौवा बसेको रुखको हाँगामुनि गयो र बडो मिठो स्वरले भन्यो, "कौवा बहिनी ! तिमीलाई संचै छ ? तिमी त कति राम्री भइछ्यौ । तिम्रो पखेटा कस्तो टलक्क टल्केको ! तिम्रा गाजलु आँखा कति चम्केका ! तिम्रो स्वर पनि त्यत्तिकै मिठो छ होला हैन र ? तिमीलाई त चराकी रानी बनाउनु पर्ने हो । धेरै दिनदेखि तिम्रो सुरिलो स्वर सुन्न मन लागेको थियो । बल्ल आज मौका पाइयो । एउटा मिठो गीत सुन्न पाए त तिम्रो ठूलो गुन मान्ने थिएँ ।"

फ्याउरोको कुरा सुनेर कौवा मख्ख पर्‍यो । उसले आफ्नो ठोँडमा रोटी च्यापेको बिर्स्यो र गर्वले फुलेर आँखा चिम्लेर गीत गाउन थाल्यो । का..का...का !
गीत गाउन कौवाले मुख खोल्ने बित्तिकै उसको मुखको रोटी तल खस्यो । रोटी भुइँमा पर्न नपाउँदै फ्याउरोले च्याप्प सामात्यो । रोटी खाँदै फ्याउरोले कौलालाई भन्यो, "यो रोटीको बदलामा मैले तिमीलाई एउटा राम्रो सल्लाह दिन्छु । कसैले तारिफ गरेर फुर्काउँदैमा नफुर्क । झुटो प्रशंसा नपत्याऊ ।"

२९ फ्याउरो र बोका
एक पल्ट एउटा फ्याउरो गहिरो इनारभित्र खस्यो । ऊ इनारबाट बाहिर आउन सकेन । त्यसै बेला एउटा दाह्रीवाल बोका पानी खान इनारमा आइपुग्यो । इनारभित्र के गर्न लागेको भनेर बोकाले फ्याउरोसँग सोध्यो । फ्याउरोले भन्यो, "खडेरी पर्दैछ भन्ने कुरा तिमीले सुनेका छैनौ ? त्यसैले मैले धेरै दिनलाई पुग्ने गरी पानी खान आएको नि । तिमीले पनि पानी खाने भए भित्र आऊ ।"

फ्याउरोको कुरा सुनेर बोका इनारभित्र जान हतारियो । ऊ उफ्रेर झ्वाम्लांग इनारमा हामफाल्यो ।

त्यसै बेला फ्याउरो बोकाको जिउमाथि चढयो र दुइटा खुट्टाले उसको टाउकोमाथि टेकेर इनारबाहिर निस्क्यो । बोकासँग विदा हुने बेलामा फ्याउरोले भन्यो, "आपतमा परेको मानिसले दिएको सल्लाह कहिल्यै नमान्नु बुझ्यौ ?"

माथि

३० फ्याउरो र अंगुर
गर्मीको दिन थियो । घाममा हिँडदाहिँडदा थाकेको एउटा फ्याउरो अंगुर बारीमा पस्यो । उसले त्यहाँ भर्खर पाक्न लागेका अंगुरका ठूलाठूला रसिला झुप्पाहरू देख्यो । "यो अंगुर खाएर तिर्खा मेट्नु कस्तो मज्जा होला !" फ्याउरोले मनमनै भन्यो ।

अंगुरको झुप्पा भेट्टाउन फ्याउरो उफ्र्यो । तर अंगुरका लहरा अग्लो ठाउँमा भएकोले उसले भेट्टाउन सकेन । ऊ धेरै पटक उफ्र्यो तर उसले भेट्टाउन सक्दैसकेन ।
आखिरमा निराश भएर "यी अंगुरहरू पक्कै पनि अमिला होलान् ।" भन्दै ऊ अंगुरको बगैँचाबाहिर निस्क्यो ।

३१ फ्याउरो र सिंह
एउटा फ्याउरोले पहिलो पल्ट सिंहलाई देख्दा यस्तो गरी तर्स्यो कि ऊ भागेर ओडारभित्र लुक्न गयो । अर्को पल्ट भेटदा ऊ त्यति धेरै डराएन । तैपनि ऊ सिंहभन्दा केही पर बसेर सिंहलाई हेरिह्यो । तेस्रो पल्ट भेटदा फ्याउरो सरासर सिंहको नजिक गयो र भलाकुसारी गर्‍यो । सिंहको नजिकै धेरै बेरसम्म बस्यो । उसले सिंहको जहान परिवारको बारेमा पनि सोध्यो । विदा हुने बेलामा उसले सिंहसँग फेरि कहिले भेटने भनेर पनि सोध्यो । छुट्टिँदा उसले कुनै औपचारिक अभिवादन गरेन । पुच्छर फर्काएर घरतिर लाग्यो । यसैले भनिन्छ धेरै घनिष्ट भयो भने मानमर्यादा रहन्न ।

३२ फ्याउरो र मकुण्डो
एउटा फ्याउरो संयोगले नाटक घरको भण्डारमा पस्यो । उसले त्यहाँ कसैले उसलाई घुरेर हेरिरहेको चाल पायो । पहिले त ऊ तर्स्यो । तर अलि नजिक गएर हेर्दो उसलाई हेर्ने एउटा मकुण्डो रहेछ भन्ने थाहा पायो । त्यो मकुण्डो नाटक खेल्दा कलाकारले लाउने रहेछ । अनि फ्याउरोले मकुण्डोलाई भन्यो, "तिमी त दुरुस्तै मान्छजस्तै देखिन्छौ । तर तिम्रो मगज रहेनछ बिचरा ! बाहिरी रूपले मात्रै कतिबेर झुक्याउन सकिन्छर ?"

३३ फ्याउरो र लाम्खुट्टे
एक पल्ट एउटा फ्याउरोको पुच्छर एउटा झयाङमा अडकियो । ऊ त्यहाँबाट कतै जान सकेन । रात परेपछि लाम्खुट्टेहरूको बथाल आएर उसको रगत चुस्न थाल्यो । पुच्छर अडकेको हुनाले उसले तिनीहरूलाई धपाउन सकेन । उसको रगत पिएर लाम्खुट्टेहरू निक्कै रमाए ।

फ्याउरोको दुर्दशा देखेर एउटा दुम्सीलाई दया लाग्यो । उसले फ्याउरोको नजिक गएर भन्यो, "ओ हो ! लाम्खुट्टेले कस्तो दुःख दिएछ तिमीलाई ! तिम्रो रगत चुस्ने लाम्खुट्टेहरूलाई धपाइ दिउँ कि ?"

दुम्सीको कुरा सुनेर फ्याउरोले भन्यो, "तिम्रो सहयोगको लागि धन्यवाद छ । तर यी लाम्खुट्टेलाई धपाउने काम नगर ।"

"किन ? तिमीलाई यसरी दुःख दिइरहेका लाम्खुट्टेलाई धपाउनु पर्दैन ?" दुम्सीले छक्क पर्दै सोध्यो ।

फ्याउरोले जवाफ दियो, "हेर यी लाम्खुट्टेहरूले सकेसम्म मेरो रगत खाइसके । यिनीहरूको पेट भरिइसक्यो । तै पनि लोभले गर्दा यिनीहरूले मलाई छाडन सकेका छैनन् । यदि तिमीले यिनीहरूलाई धपायौ भने अरु भोका लाम्खुट्टेहरू आउने छन् । अनि तिनीहरूले पाए भने मेरो सास पनि बाकी राख्ने छैनन् ।"

३४ फ्याउरो र सारस
फ्याउरो र सारस निक्कै मिल्ने साथी थिए । उनीहरूको एकअर्काको घरमा आवत जावत थियो । एक पल्ट फ्याउरोले सारसलाई घरमा भोज खान डाक्यो । उसलाई सारससँग ठट्टा रमाइलो गर्न मन लाग्यो । यसैले उसले भोज खाने बेलामा उसको अगाडि एउटा पातलो थालमा मासुको सुरुवा राखेर दियो । आफ्नो लागि पनि उसले थालमै सुरुवा राख्यो ।

फ्याउरोले थालको सुरुवा जिब्रोले चाट्दै मजासँग खायो । तर सारसको ठोँड लामो भएको हुनाले उसले थालबाट सुरुवा खान सकेन । बिचरा सारस भोकै फर्कनु पर्‍यो । फर्कने बेलामा फ्याउरोले भन्यो, "तिमीलाई सुरुवा मन परेनछ । मलाई माफ गर ।"
"माफ माग्नु पर्ने कुरै छैन । बरु अर्को पटक मकहाँ भोज खान आऊ न ।" बिदा हुने बेलामा सारले भन्यो ।

केही दिनपछि सारसले फ्याउरोलाई भोज खान डाक्यो । तर त्यो दिनको भोज लामो घाँटी भएको सुराहीमा राखेर दिइएको थियो । सारसले लामो ठोँडले सजिलैसँग सुराहीभित्रको सुरुवा खायो । तर बिचारा फ्याउरोको मुख सुराही भित्र पसेन । उसले सुरुवाको गन्ध सुँघेर अनि सुराहीको बाहिर चाटेर चित्त बुझाउनु पर्‍यो ।

विदा हुने बेलामा सारले भन्यो, "तिमीले भोज खान नसकेकोमा मलाई खुशी नै लागेको छ किनकि जस्तालाई तस्तै भन्ने आहानै छ ।"

माथि

३५ पुच्छर नभएको फ्याउरो
एक पल्ट एउटा फ्याउरोको पुच्छर उसलाई समात्न राखेको धरापमा फँस्यो । उसले पुच्छर फुस्काउन सकेन । ज्यान फाल्नुभन्दा पुच्छर फाल्नु बेस भनेर उसले घरापबाट बल गरेर उम्कन खोज्दा उसको पुच्छर फेँदबाट चुँडियो ।

पुच्छर नभएपछि त्यो फ्याउरोलाई आफ्नो समूहमा जान लाज लाग्यो । ऊ केही दिन ओडारभित्र लुकेर बस्यो । तर यसरी कति दिन काम चल्थ्यो र !

एक दिन ऊ दरिलो मुटु लिएर अनि हँसिलो अनुहार बनाएर ओडारबाट बाहिर निस्क्यो । उसले बनका सबै फ्याउराहरूको भेला डाक्यो । सबै फ्याउरा भेला भए पछि उनीहरूको अगाडि उसले एउटा प्रस्ताव राख्यो, "हामी फ्याउराहरूको लागि हाम्रो पुच्छर साह्रै झंझट रहेछ । वास्तवमा यो एउटा श्रापजस्तै हो । लौ मलाई हेर पुच्छर नभएपछि म कति फुर्तिलो भएको छु । पुच्छरबिनाको जिऊ साह्रै हल्का पनि हुन्छ । दगुर्न, हिँडन, चल्न सजिलो हुने रहेछ । सिकारी कुकुले लखेट्दा पनि भाग्न सजिलो हुन्छ । पुच्छर भएन भने थचक्क बस्न पनि सजिलो । यो पुच्छरको कुनै कामै छैन । यसैले तिमीहरू सबैले आआफ्नो पुच्छर काटेर फ्याँक ।"

पुच्छर नभएको फ्याउरोको कुरा सुनेर एउटा बूढो फ्याउरोले भन्यो, "यी सबै कुरा त ठिक छ । तर आफ्नो पुच्छर नगुमाएको भए तिमीले हामीलाई हाम्रो यो पहिचान, हाम्रो जिउको अभिन्न गहना बनेको यो पुच्छरबाट अलग हुने प्रस्ताव राख्ने थियौ त ? स्वार्थ लुकेको सल्लाह पत्याउनु हुँदैन भन्ने भनाइ पनि छ ।"

३६ फ्याउरो, भाले र कुकुर
जुनेली रातमा एउटा फ्याउरो किसानको कुखुराको खोरमा पुग्यो । त्यहाँ उसले अग्लो ठाउँमा एउटा भाले बसेको देख्यो । उसले भालेलाई भेट्टाउन सक्तैनथ्यो ।
"कस्तो राम्रो खबर, कस्तो राम्रो खबर !" फ्याउरो करायो ।

"के खबर हो त्यस्तो ?" परैबाट भालेले सोध्यो ।

बनका राजा सिंहले बनलाई शान्तिको क्षेत्र घोषणा गरेका छन् । अबदेखि सबै पशुपन्छीहरू बनमा मिलेर बस्नु पर्ने छ । कसैले कसैलाई मार्न, घाइते बनाउन र कुनै प्रकारको हानी पुर्‍याउन पाउने छैन । सबै पशुपन्छी दाजुभाइजस्तै मिलेर बस्नु पर्ने छ ।"

त्यो सुनेर भालेले भन्यो, "यो त साह्रै राम्रो समाचार रहेछ । हेर त त्यहाँ को आउँदै छ । उसलाई पनि यो समाचार सुनाउनु पर्‍यो ।"

"त्यतातिरबाट को आउँदैछ ?" फ्याउरोले सोध्यो ।

"अरु कोही होइन । हाम्रो मालिकले पालेको सिकारी कुकुर हो । उसलाई पनि यो खबर सुनाउ न । बेसै होला ।"

सिकारी कुकुर आउन लागेको सुनेर फ्याउरोको होस उड्यो । ऊ त्यहाँबाट भाग्ने सुरले पछिपछि हट्न थाल्यो । उसको चाल देखेर भालेले सोध्यो, "किन ? कहाँ जान लागेको तिमी ? राम्रो खबर सुनाउने होइन ? शान्ति क्षेत्रको घोषणा भएको उपलक्ष्यमा उसलाई बधाइ दिने होइन ?"

"बधाइ दिन त हुन्थ्यो । तर उसले राजाको घोषणा सुन्नै पाएको छैन कि ? त्यसो भयो भने त उसले मलाई कहाँ बाकी राख्ला र ?" यति भन्दै फ्याउरो बनतिर दौड्यो । कहिलेकाहीँ दुष्टहरू आफ्नै जालमा फँस्छन् ।

३७ भ्यागुतो र साँढे
पँधेरामा भुडी पल्टाएर आराम गरिरहेको जंगी भ्यागुतोलाई फुच्चे भ्यागुतोले भन्यो, "ए बा ! मैले यस्तो डरलाग्दो दैत्य देखेँ । त्यो पहाड जत्रो थियो । त्यसको टाउकामा सिङ थिए । पछाडि लामो पुच्छर थियो । त्यसका खुट्टामा दुइदुवटा खुर थिए ।"

"धत् लाटा ! त्यो त किसानको गोठको साँढे हो । त्यो त्यति ठूलो पनि छैन । ऊ अवश्य पनि मभन्दा केही अग्लो होला । तर म ऊ जत्तिकै मोटो हुनसक्छु । लौ हेर ।" यति भनेर जंगी भ्यागुतोले आफ्नो जिउ सकेसम्म फुलायो र छोरासँग सोध्यो, "त्यो साँढे यति ठूलो थियो ?"

"ओहो ! कहाँ न कहाँको ठूलो थियो त्यो त ।" फुच्चेले जवाफ दियो ।
जंगे भ्यागुताले फेरि आफ्नो जिउ फुलायो । अनि उसले फेरि फुच्चेसँग सोध्यो, "के त्यो यति ठूलो थियो त ?"

"बा, त्यो त तपाईँभन्दा कता हो कता ठूलो थियो ।" फुच्चेले भन्यो ।

फुच्चेको कुरा सुनेर जंगे भ्यागुताले लामो सास तान्यो र फेरि आफ्नो जिउ फुलाउन थाल्यो । ऊ फुलेर भकुण्डोजस्तो भयो । उसले फेरि सोध्यो, "अब त पक्कै पनि त्यो सँढे यति ठूलो थियो होला ...."

यति भन्दाभन्दै जंगे भ्यागुताको जिऊ फुटयो र ऊ मर्‍यो । धेरै घमण्ड गर्दा नासिन्छ भनेको यही हो ।

माथि

३८ राजा खोज्ने भ्यागुताहरू
एउटा पोखरीमा भ्यागुताहरू आनन्दसाथ जीवन विताइरहेका थिए । उनीहरू दिनभरि पानीमा खेल्थे । भोक लागेको बेलामा किरा मारेर खान्थे । पोखरीमा उनीहरूको कुनै शत्रु पनि थिएन । उनीहरूलाई कुनै चिन्ता थिएन । तर उनीहरूमध्ये कसैकसैको के बिचार थियो भने यसरी आफूखुशी भएर बाँच्नु उचित होइन । उनीहरूलाई नियन्त्रण गर्ने कोही न कोही त हुनुपर्छ । एक जना राजा हुनुपर्छ । अनि राज्य चलाउने संविधान पनि हुनुपर्छ ।

यस्तो विचार गरेर उनीहरूले सृष्टिकर्ता ब्रहृमाजीकहाँ निवेदन दिए । उनीहरूले आफूहरूमाथि शासन गर्न एक जना राजा पठाइदिन विन्ती गरे ।

भ्यागुताहरूको कुरा सुनेर ब्रह्माजी हाँसे । उनले पोखरीको पानीमा काठको एउटा मुढा खसालिदिए । मुढा खस्दा पोखरीको पानी निकै छचल्कियो । पानीमा अचानक ठूलो छाल आएको देखेर भ्यागुताहरू डराएर पोखरीको किनारामा गए र पोखरीको माझमा झरेको विशाल जीवलाई हेर्न थाले । केही बेरपछि त्यो मुढा चल्न छाड्यो । यो देखेर केही भ्यागुताहरू मुढाको नजिकै गए । कसैले त्यसलाई छुने आँट पनि गरे । तै पनि त्यो चलेन । त्यसपछि एउटा फुर्तिलो भ्यागुता उफ्रेर मुढामाथि चढ्यो र नाच्न थाल्यो । अनि त सबै भ्यागुताहरू मुढामाथि चढेर उफ्रन, नाच्न र तलमाथि गर्न थाले ।
केही दिन त भ्यागुताहरूको लागि रमाइलै भयो । तर पछि उनीहरूले त्यो मुढाको वास्ता गर्न छाडे । उनीहरूलाई फेरि पनि चित्त बुझेन । उनीहरूले फेरि ब्रह्माजीकहाँ विन्ती गरे, "प्रभु, हामीलाई साँच्चिकै राजा चाहियो । यस्तो राजा जसले हामीमाथि शासन गर्नसक्छ ।"
भ्यागुताहरूको कुरा सुनेर ब्रह्माजीलाई रिस उठ्यो । यसैले उनले पोखरीमा एउटा बकुल्ला पठाइदिए । पोखरीको डिलमा बसेर बकुल्लाले एकएक गर्दै भ्यागुताहरूलाई खान थाल्यो । केही दिनपछि पोखरीका भ्यागुताहरू सिद्धिन थाले । बाकी भ्यागुताहरू पछुताए । निर्दयी राजा हुनु भन्दा राजै नहुनु बेस रहेछ भनेर उनीहरूले बुझे । तर अब पछुताएर के काम !

३९ खरायो र कछुवा
एक पल्ट एउटा खरायोले अरु जानवरहरूको अगाडि कत्तिको दगुर्न सक्छु भन्ने फुर्ती लगायो । उसले भन्यो, "दौड प्रतियोगितामा म कहिल्यै हारेको छैन । लौ यहाँ मसँग दौडन बाजी थाप्ने कोही छ भने अगाडि आऊ"
उसको हाँक सुनेर एउटा कछुवाले कत्ति पनि नआत्तिइकन भन्यो, "म तिम्रो हाँक स्वीकार गर्छु ।"
"यस्तो ठट्टा नगर भाइ । म त बाटोभरि तिम्रो वरिपरि नाच्दैनाच्दै दगुर्न सक्छु । के कुरा गरेको तिमीले ?" खरायोले भन्यो ।
"तिम्रो फुर्ती तिमीसँगै राख । लौ दगुर्ने तयारी गर ।" कछुवाले भन्यो ।
त्यसपछि दौड प्रतियोगिताको तयारी भयो । कहाँदेखि कहाँसम्म दौडने भन्ने निधो गरियो । दौड सुरु भयो । खरायो दगुरेर एकै छिनमा बेपत्ता भयो । केही पर पुगेर उसले पछाडि हेर्‍यो । कछुवा कतै देखिएन । कछुवालाई होच्याउन ऊ बीच बाटोमै आराम गर्न पल्टयो र एकै छिनमा निदायो ।
कछुवा भने बाटोमा कत्ति पनि नअडिइकन बिस्तारै हिँडिरह्यो, हिँडिरह्यो । केही बेरपछि खरायो निँदबाट ब्युँझ्यो । उसले कछुवालाई दौड सकिने लक्षमा पुग्नै लागेको देख्यो । ऊ बेतोडसँग दगुर्न थाल्यो । तर उसले जति कोसस गरे पनि कछुवालाई भेट्टाउन सकेन । अनि कछुवाले भन्यो, "निरन्तर लागि रहृयो भने विस्तारै हिँडे पनि जितिन्छ ।"

४० खरायो र भ्यागुताहरू
बनमा सबैजसो पशुहरूले खरायोहरूलाई नै हेप्थे । उनीहरूको बस्ने, खाने, खेल्ने सबै ठाउँमा अरु जानवरकै मनोमानी हुन्थ्यो । एक्लो जन्तु देख्दा पनि खरायोहरूको भागाभाग हुन्थ्यो । एक पल्ट जंगली घोडाको बथान आएर उनीहरूको घर भएको चौरमा उफ्रे, खेले । उनीहरूको सबै घर भत्के । यो देखेर खरायोहरू साह्रै निराश भए । उनीहरूले नजिकैको पोखरीमा गएर डुबेर मर्ने निधो गरे ।
खरायोको बथान पोखरीको किनारामा पुग्दा त्यहाँ खेलीरहेका भ्यागुताहरू तर्सेर पानीभित्र हामफाले । आफूहरूसँग भ्यागुताहरू डराएको देखेर एउटा खरायोले भन्यो, "ओ हो ! हामी भन्दा कातर, हामीसँग डराउने जन्तु पनि हुने रहेछ । हामी त त्यति धेरै कमजोर रहेन छौँ ।"
यस्तो कुरा थाहा पाएपछि उनीहरूले पोखरीमा डुबेर मर्ने बिचार त्यागे । आफूभन्दा कमजोर जीव जहाँ पनि हुनेरहेछ ।

माथि


४१ जरायो र सिकारी
एउटा जरायोले पोखरीमा पानी खाँदै थियो । उसले पानीमा आफ्नो छाया देख्यो । आफ्नो रूप देखेर ऊ दंग पर्‍यो । उसले मनमनै आफ्ना सिङहरूको तारिफ गर्‍यो । "आहा कति राम्रा मेरा सिङ ! यस्तो राम्रो सिङ भएको जरायो अरु को होला ! कुनै राजाको मुकुटभन्दा मेरो सिङ कम छैन । बरु मेरा यी खुट्टाहरू मेरो सिङसँग सुहाउने खालका छैनन् । यी मसिना खुट्टाहरूको सट्टा मोटा र सिङलाई सुहाउने खुट्टा भए कति बेस हुने थियो ।"

त्यसै बेला एक जना सिकारी आइपुग्यो र उसमाथि बाण हान्न थाल्यो । जरायो बेतोडले भाग्यो । उसका मसिना खुट्टाहरूको मदतले ऊ एकै छिनमा सिकारीबाट उम्क्यो । दगुर्दादगुर्दै ऊ बाक्लो रुखहरूको झ्याङभित्र पस्यो । तर उसको सिङ रुखका होँचा हाँगाहरूमा अल्झ्यो र ऊ त्यहीँ अडिकयो । एकै छिनपछि उसलाई खोज्दै सिकारी त्यहाँ आइपुग्यो ।

मर्ने बेलामा जरायोले भन्यो, "मैले मेरा काम लाग्ने खुट्टाहरूको बदख्वाइँ गरे । तर, मैले तारिफ गरेको मेरै सिङले नै मेरो ज्यान लियो ।"

४२ घोडा, सिकारी र जरायो
घोडा र जरायोबीच झगडा भयो । घोडाले सिकारीको मदत लिन खोज्यो । ऊ सिकारीकहाँ गयो र जरायोसँग बदला लिनको लागि मदत माग्यो । सिकारीले घोडालाई मदत गर्न मंजुर त गर्‍यो, तर उसले एउटा सर्त राख्यो, "यदि तिमीले जरायोलाई जित्ने हो भने तिमीले मेरा केही कुरा मान्नु पर्छ । तिमीले यो फलामको लगाम मुखमा राख्नु पर्छ , अनि तिम्रो पिठयुँमा काठी कसेर मैले चढन पाउनु पर्छ । यसो भयो भने मैले तिमीलाई मेरो सुरमा हिँडालेर जरायोलाई पछ्याउन सजिलो हुन्छ ।"

घोडाले सिकारीको सर्त मंजुर गर्‍यो । सिकारीले घोडाको मुखमा लगाम लगायो र उसमाथि काठी कस्यो । सिकारीको मदतले घोडाले जरायोलाई जित्यो । त्यसपछि उसले सिकारीसँग भन्यो, "अब मेरो पिठयुँबाट ओर्ल र मेरो मुखबाट लगाम पनि झिक ।"
यो सुनेर सिकारीले भन्यो, "किन आत्तिन्छौ ? बल्ल त मैले तिमीमाथि चढ्न थालेको छु । केही दिन यस्तै गरी बसन । के को हतार छ र !"

तिमीले आफ्नो उद्देश्य पूरा गर्नका लागि कसैलाई आफूलाई उपयोग गर्न दिन्छौ भने उसले आफ्नै उद्देश्य पूरा गर्न तिम्रो उपयोग गर्छ ।

४३ ज्यामी र बुलबुल चरी
गर्मीको दिन थियो । एक जना ज्यामीले राती बुलबुल चरीको गीत सुन्यो । उनलाई बुलबुलको स्वर यति मिठो लाग्यो कि उसले बुलबुलको गीत सुनेर रात काट्यो ।

भोलिपल्ट उसले बुलबुललाई समात्न पासो थाप्यो र समात्यो पनि । ज्यामी दंग पर्‍यो । उसले बुलबुललाई भन्यो, "मैले तँलाई समातेर पिँजडामा राखेँ र तँ मेरो कब्जामा छस् । अब तैँले मलाई गीत सुनाइराख्नु पर्छ ।"

"हामी बुलबुल चरीहरूले पिँजडाभित्र बसेर कहिल्यै गाउँदैनौँ । मिठो गीत गाउन त हामीलाई खुला आकाश चाहिन्छ ।" बाठो बुलबुलले भनी ।
"त्यसो भए तँलाई म पोलेर खान्छु । तेरो मासु निक्कै स्वदिलो हुन्छ भन्ने मैले सुनेको थिएँ ।" ज्यामीले भन्यो ।

"होइन । मलाई नमार । मलाई स्वतन्त्र छाडिदियौ भने मैले तिमीलाई तीन वटा राम्रा कुरा सिकाउँछु । ती तीन वटा कुरा मेरो जिउको एक टुक्रा मासुभन्दा धेरै काम लाग्नेछन् ।" चरीले भनी ।

ज्यामीले बुलबुल चरीलाई छाडिदियो । बुलबुल उडेर नजिकको रुखको हाँगामा गएर बसी र भन्न थाली, "बन्धनमा परेका मानिसको कुरा नपत्याऊ । यो भयो पहिलो कुरा । आफूसँग जे छ त्यो नगुमाऊ । अनि तेस्रो कुरा हो, आफूले सँधैका लागि गुमाएको कुराको दुःख मनाउ नगर ।" यति भनेर बुलबुल चरी उडेर गई ।

४४ सिंह र मुसो
निदाएको सिंहको याल (गर्दनमाथिको रौँ ) मा चढेर एउटा फुच्चे मुसा तलमाथि गर्दै खेलिरहेको थियो । उसको खेलले सिंह जाग्यो । सिंहले मुसालाई समात्यो र त्यसलाई खान मुख बायो । कालको मुखमा पस्न लागेको मुसाले सिंहसँग बिन्ती गर्‍यो, "महाराज ! क्षमा पाउँ । अबदेखि यस्तो अपराध गर्ने छैन । बरु म बाँचेँ भने कुनै दिन हजुरलाई मदत गरुँला ।"

एउटा फुच्चे मुसाले सिंहलाई मदत गर्ने ! मुसाको कुरा सुनेर सिंहलाई हाँस्यो । उसले भै हल्यो भनेर त्यो मुसालाई छाडिदियो ।

केही दिनपछि सिंह सिकारीको पासोमा पर्‍यो । सिकारीहरूले उसलाई ज्युँदै राजाकहाँ लैजान चाहन्थे । यसैले उनीहरूले सिंहलाई पासो समेत एउटा रुखमा बाँधे र सिंहलाई बोक्नसक्ने गाडा खोज्न गए ।

त्यही बेला फुच्चे मुसाले सिंहलाई बाँधिएको देख्यो । सिंहलाई गुनको बदला तिर्ने बेला यही हो भन्ने बिचारले उसले सिंहको पासोका धागाहरू दाँतले टोक्दै चुँडाल्न थाल्यो । केही बेरमा सिंह पासोबाट मुक्त भयो । सिंहसँग बिदा हुने बेलामा मुसाले भन्यो, "मैले कुनै दिन मदत गरुँला भनेको थिएँ । गरिन त महाराज ?" यसैले भनिन्छ साथी भनेको सानै भए पनि महान हुन सक्छ ।

माथि

४५ सिंह र मूर्ति
मानिस बलियो कि सिंह बलियो भन्ने विषयमा मानिस र सिंहबीच विवाद चलिरहको थियो । मानिससँग बुद्धि पनि भएकोले ऊ सिंहभन्दा बलियो हुन्छ भनेर मानिसले तर्क गरिरहको थियो । तर सिंहले ऊ नै बलियो छु भनेर जिद्दी गरिरहेको थियो ।
"त्यसो भए मसँग आऊ मैले तिमीलाई मानिस सिंहभन्दा बलियो हुन्छ भन्ने प्रमाण दिन्छु ।" मानिसले भन्यो ।

ती दुबै एउटा बगैँचामा गए । बगैँचामा सुन्दर फूल र रुखहरूको साथै कलात्मक मूूर्तिहरू पनि सजाएर राखिएका थिए । मानिसले सिंहलाई एउटा मूर्तिको अगाडि लग्यो र मूर्ति देखाउँदै भन्यो, "नपत्याए हेर । यो मूर्तिको मानिसले कसरी सिंहलाई पछारेर उसको बंगारा च्यातेको छ हेर ।"

मूर्तिलाई हेरेपछि सिंहले भन्यो, "यो त ठिक छ । तर यसले मानिस बलियो हुन्छ भनेर कसरी साबित गर्छ । किन भने यो मूर्ति त मानिसले नै बनाएको हो । सिंहले मूर्ति बनाएको भए पक्कै पनि मानिसलाई पछारेर खाएको मूर्ति बनाउँथ्यो होला । आफू खुशी प्रमाण बनाएर त भएन नि ।"

४६ प्रेममा फँसेको सिंह
एक पल्ट एउटा सिंह एउटी राम्री तरुनीको प्रेममा फँस्यो । उसले तरुनीका आमाबाकहाँ गएर उनीहरूकी छोरी माग्यो । बिचरा बूढा बाआमा अलमल्लमा परे । बनको राजालाई हुन्न भन्न पनि भएन । तर त्यस्तो हिंसक जन्तुलाई छोरी दिन पटक्कै मन थिएन । अनि बाबु चाहिँले सिंहलाई भन्यो, "हजुरलाई ज्वाइँ बनाउन पाउनु हाम्रो ठूलो सौभाग्य हो । तर हाम्री छोरी साह्रै सानी र कोमल छे । हजुरले माया गर्दा उनको जिउमा घाउ लाग्न सक्छ । यसैले हजुरले आफ्ना तिखा नंग्रा र दांत निकाल्नु भयो भने हजुरको प्रस्तावमाथि खुशीसाथ बिचार गरौँला ।"

सिंह प्रेममा यति पागलजस्तै भएको थियो कि उसले भविष्यको बिचारै नगरी आफ्ना दाँत र नंग्रा झिक्न लगायो र बुचो भयो । अब ऊ मृग त के कुरा चरा मार्न पनि नसक्ने भयो । अनि ऊ आफ्नी प्रेमिकाको आमाबाकहाँ फेरि गयो । सिंहको बुचे अनुहार र लाचार अवस्था देखेर केटीका आमाबा हाँसे र उनीहरूले लाठोले पिटदै सिंहलाई धपाइदिए । प्रेमले जस्तै जंगली र दुष्टलाई पनि कज्याउन र तहलाउन सकिन्छ भनेको यही हो ।

४७ सिंह, फ्याउरो र पशुहरू
एक पल्ट एउटा सिंहले "म साह्रै बिरामी परको छु । मेरो अन्तिम इच्छा सुन्न र भेटन आओ" भनेर बनमा उर्दी लगायो ।

बिरामी राजालाई भेटन सबैभन्दा पहिले एउटा बोका गयो । ऊ सिंहको गुफभित्र पसेको धेरै बेरपछि एउटा भेडा गुफभित्र पस्यो । त्यसको केही बेरपछि एउटा मृग पस्यो । तर चाँडै नै सिंह निको भयो । एक दिन ऊ गुफको मुखमा आएर बाहिर हेर्‍यो । उसले एउटा फ्याउरोलाई देख्यो ।

"तिमी किन भित्र नआएको ? मलाई भेट्न आउनु पर्दैन ?" सिंहले फ्याउरोलाई सोध्यो ।
"क्षमा पाउँ सरकार !" फ्याउरोले भन्यो, "गुफभित्र थुप्रै जानवरहरू गएको देखेँ । तर कोही पनि फर्केको देखिन । भित्र गएका जानवरहरू नफर्केसम्म म बाहिरै बसेर सरकारको सुस्वास्थ्यको कामना गर्छु किनकि भित्र जान त सजिलो छ । बाहिर आउन गाह्रो रहेछ ।"

४८ सिंहको भाग
एक पल्ट एउटा सिंह फ्याउरो र स्याललाई संगै लिएर सिकार खेल्न गयो । धेरै बेर सिकार खोजेपछि आखिरमा उनीहरूले एउटा जरायो मारे । जरायोको मासु कसरी भाग लाउने भन्ने सवाल उठयो । सिंहले भन्यो, "जरायोलाई चार भाग लगाऊ ।"
फ्याउरो र स्यालले जरायोको छाला काढे र मासुलाई चार भागमा छुटयाए । अनि सिंह भाग लाएको मासु अगाडि उभियो र मासु कसरी भाग लाउने भन्ने निर्णय सुनाउन थाल्यो :

"म बनको राजा भएको हुनाले पहिलो भाग मेरो हुन्छ । भाग कसरी लाउने भन्ने निर्णयकर्ताको हैसियतले दोस्रो भाग पनि मैरै हुन्छ । यो सिकार मार्न मेहनत गरेको हुनाले तेस्रो भाग स्वतः मेरो भयो । बाकी रह्यो चौथो भाग । लौ यो भाग छुने कस्को हिम्मत छ अगाडि आऊ त ?"

फ्याउरो र स्याल टांगमुनि पुच्छर लुकाएर भागे । भाग्दाभाग्दै फ्याउरोले भन्यो, "ठूलाबडासँग मिलेर काम गर्दा मेहनत त खुब गर्नुपर्छ, तर भाग खाने बेलामा हिस्स परिन्छ ।"

४९ मानिस र बन
एक जना मानिस बंचरो लिएर बनमा गयो । बंचरोको बिँड थिएन । उसले रुखहरूसँग कुनै विशेषकामका लागि एउटा हाँगा माग्यो । रुखहरू उदार थिए । उनीहरूले मानिसलाई एउटा हाँगा दिए । मानिसले त्यो हाँगालाई ताछेर बंचरोको बिँड बनायो । त्यसपछि उसले धमाधम रुखहरू काट्न थाल्यो । आफ्नो शत्रुलाई आफैले औजार दिएर आफ्नो विनाश निम्त्याएकोमा रुखहरूले आफ्नो मूर्खता थाहापाए ।

५० मानिस र काठको मूर्ति
प्राचिन काल‌मा मानिसह‍रूले ढुंगा, माटो, रुख, मूर्ति आदिलाई पूजा गर्थे । तिनीहरूसँग सुखी जीवनका लागि बरदान माग्थे । एक जना मानिसले आफ्नो बाबुबाट एउटा काठको मूर्ति पाएको थियो । उसले सँधै त्यो मूर्तिको पूजा गर्थ्यो र आफ्नो जीवन सुखी बनाइ दिन प्रार्थना गर्थ्यो । तैपनि उसको जीवन सुखी हुनसकेन । उसलाई काठको मूर्ति देखेर रिस उठ्यो । एक दिन उसले त्यो मूर्तिलाई भुइँमा बजारेर फुटाल्यो । त्यस भित्रबाट थुप्रै सुनका सिक्का निस्केर भुइँभरि छरिए ।

भाग १  भाग २  भाग ३  भाग ४  भाग ५  भाग ६

माथि


मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of