a presentation of Dreams & Ideas

         
     
   

इसपका नीतिकथा

छैटौँ भाग

१२६ कछुवा र चिल
एक पल्ट एउटा कछुवालाई चराझैँ उडन मन लाग्यो । उसले चिलसँग उडन सिकाइदिन अनुरोध गर्‍यो । चिलले कछुवालाई उसको पखेटा नभएको हुनाले उडनसक्तैन भनेर धेरै सम्झायो तर कछुवाले जिद्दी गर्न छाडेन । दिक्क भएर चिलले कछुवालाई आफ्नो पंजाले समातेर आकाशमा पुर्‍यायो अनि लौ उड् भन्दै हावामा छाडिदियो । जिद्दी गर्ने मूर्ख कछुवा ढुंगामाथि खसेर त्यसको हाडखोड पनि बाकी रहेन ।

१२७ गधा र घोडा
एक जना मानिसले गधा र घोडा पालेको थियो । एक पल्ट ऊ गधालाई भारी बोकाएर कतै जाँदै थियो । घोडा रित्तै हिँडिरहेको थियो । गधाको भारी निक्कै गह्रुँगो थियो । उसले घोडालाई उसको भारीको केही सामान बोकेर सघाउन अनुरोध गर्‍यो । तर घोडाले उसको कुरा मानेन । गह्रुँगो भारी धान्न नसकेर गधा बाटोमुन्तिर खस्यो र घाइते भयो । त्यो मानिसले गधाको सबै सामान घोडालाई बोकायो । गधाको कुरा नमानेकोमा घोडा पछुतायो ।

१२८ किसान र कुखुरा
एउटा किसानको कुखुराले दिनको एउटा सुनको फुल पार्थ्यो । कुखुरालाई धेरै खानेकुरा ख्वायो भने दिनको दुइटा फुल पार्ला भन्ने आशले उसले कुखरालाई धेरैधरै चारो ख्वाउन थाल्यो । धेरै चारो खाएर कुखुरा दिनदिनै मोटाउन थाली । केही दिनपछि ऊ यति धेरै मोटाई कि उसले फुल पार्नै छाडी ।

१२९ गधा र बाघको छाला
एउटा गधाले बाघको छाला भेटायो । उसले रमाइलो गर्न भनेर त्यो छालाले आफ्नो जिउ छोप्यो । उसलाई देखेर अरु गधाहरू डराएर भाग्न लागे । गधालाई पनि रमाइलो लाग्यो । उसले आफ्नै आफन्त गधाहरूलाई लखेट्न थाल्यो । त्यही बेला बतास चल्यो र बाघको छाला उसको जिउबाट खस्यो । छालाभित्र गधालाई देखेर अरु गधाहरूले उसलाई बेस्सरी लात्तीले भकुरे र घाइते पारे ।

१३० बाबु र छोराहरू
एक जना बाबुका धेरै छोराहरू थिए । छोराहरू आपसमा मिल्दैनथे । बाबुले छोराहरूलाई मिलेर बस्न धेरै सम्झाए तर मानेनन् । एक पल्ट उनले छोराहरूलाई डाकेर कुचो लिन पठाए । उनले एकएक जना छोरालाई कुचोको मुठा भाँच्न लगाए । तर कसैले पनि भाँच्न सकेन ।

त्यसपछि उनले कुचोको मुठा फुकाएर एकएक वटा कुचोको डाँठ भाँच्न लगाए । छोराहरूले कुचोको डाँठ सजिलैसँग भाँचे ।

अनि बाबुले छोराहरूलाई भने, "कुचोका डाँठहरू मिलेर बस्दा तिमीहरूले भाँच्न सकेनौ । त्यस्तै तिमीहरू पनि मिलेर बस्यौ भने कसैले तिमीहरूको कुभलो गर्न सक्तैन । तर आपसमा झगडा गर्‍यौ भने कुचोको एकएक वटा डाँठजस्तै तिमीहरू पनि एक्लाएक्लै मासिन सक्छौ ।"

माथि

१३१ लाम्खुट्टे र सिंह
एउटा लाम्खुट्टेले सिंहसँग फुर्ती लायो, "तिमीले आफूलाई जंगलको राजा ठान्छौ । तिमीलाई सबैभन्दा बलियो छु भन्ने अभिमान छ । तर यो तिम्रो भ्रम हो । तिमीले मेरो केही पनि बिगार गर्न सक्तैनौ । लौ, ताकत छ भने मसँग लड ।"

यति भन्दै लाम्खुट्टेले सिंहको नाख, कान, गालामा टोक्न थाल्यो । सिंहले लाम्खुट्टेलाई मार्न खोज्दा आफ्नै पंजाले आफ्नो नाख मुखमा घाउ पार्‍यो । उसको अनुहार रगतले भिज्यो । ऊ बेस्सरी थाक्यो ।

लाम्खुट्टेले आफ्नो जीतको घोषण गर्‍यो र त्यहाँबाट अर्को सिकार खोज्न उड्यो । उडदाउडदै ऊ माकुराको जालमा फँस्यो । माकुराले उसलाई खान लागेको बेलामा उसले मनमनै भन्यो, "जंगलको राजा सिंहजस्तो बलियो जानवरलाई जितेँ तर यो दुष्ट माकुराले गर्दा मेरो ज्यान जानेभयो ।"

१३२ जरायो र झ्याङ
सिकारीहरूबाट भाग्दै एउटा जरायो बाक्लो झ्याङमा लुक्यो । सिकारीहरूले उसलाई देखेनन् । उनीहरू अगाडि बढे । संकट टरेको चाल पाएर जरायोले आफू लुकेको झयाङका पातहरू खान थाल्यो । यसले गर्दा झ्याङ हल्लियो । झ्याङ हल्लिएको देखेर सिकारीहरूलाई त्यहाँ जरायो लुकेको छ कि भन्ने शंका लाग्यो । उनीहरू फर्केर हेरे र जरायोलाई गोली हाने । मर्ने बेलामा जरायोले मनमनै भन्यो, "आफूलाई शरण दिने झ्याङलाई नै खाने म कस्तो मूर्ख रहेछु । मेरो यो दुर्गति हुनु स्वभाविकै हो ।"

१३३ चुक्ली लाउने ब्वाँसो
एउटा सिंह बिरामी भएर गुफाभित्रै आराम गरिरहको थियो । बिरामी सिंहलाई भेट्न बनका सबै जानवरहरू गए तर स्याल गएन । स्यालसँग इख गर्ने ब्वाँसोले स्यालसँग बदला लिने मौका यही हो भन्ने ठान्यो । उसले सिंहसँग स्यालको बदख्वाई गर्दै भन्यो, "त्यो पाजी स्यालले महाराजलाई टेर्दैटेर्दैन । अहिलेसम्म ऊ हजूरको दर्शन गर्न आएको छैन ।"

ब्वाँसोको कुरा सुनेर सिंहलाई स्यालसँग साह्रै रिस उठ्यो । उसले स्यालालाई मार्ने बिचार गर्‍यो ।

त्यही बेलामा स्याल टुप्लुक्क आइपुग्यो । उसले ब्वाँसोको कुरा सुन्यो र ऊसँग कसरी बदला लिने भन्ने बिचार गर्न थाल्यो ।

स्याललाई देख्ने बित्तिकै सिंह रिसले गर्जँदै भन्यो, "कहाँ गएको थिइस् अहिले सम्म ? सबैले भेट्न आए । तँ आउनु पर्दैन ?"

स्यालले नरम हुँदै भन्यो, "रिसानी माफ होस् महाराज ! फुर्सत नै नपाएर म यहाँ आउन पाइन । महाराजलाई बिसँचो भएको थाहा पाएदेखि म घरमा बसेको छैन । महाराजलाई कसरी निको हुन्छ भन्ने जान्न म दिनरात बनबनमा घुमेर सिपालु डाक्टर वैद्यहरूलाई भेटदै छु । भर्खरै एक जना जान्ने वैद्यलाई भेटेर महाराजको औषधी पत्ता लगाएर आउँदैछु ।"

स्यालको कुरा सुनेर सिंह दंग पर्‍यो । उसले स्याललाई भन्यो, "ए, त्यसो हो । लौ तँलाई माफी दिएँ । अब त्यो औषधी के हो छिट्टो भन ।"

स्यालले दुई हात जोड्दै भन्यो, "महाराजको जय होस् । वैद्यको के भनाइ छ भने ज्युँदो ब्वाँसोलाई मारेर उसको आलो र तातोतातो छाला ओढ्यो भने महाराजको रोग निको हुन्छ रे ।"

स्यालको कुरो टुंगिन नपाउँदै सिंहले ब्वाँसोको घाँटी अँठ्यायो र उसलाई मार्‍यो । मर्न लागेको ब्वाँसोतिर हेर्दै स्यालले हाँस्दै भन्यो, "तँ यही लायकको थिइस् । शासकहरूलाई राम्रो काम गर्न प्रेरित गर्नुको सट्टा खराब काम गर्न उक्साउनेको गति यस्तै हुन्छ ।"

माथि


१३४ स्यालको न्याय
एक पल्ट सिंह, गधा र स्याल सिकार खेल्न गए । गधाले लोभ्याउने, स्यालले घेर्ने अनि सिंहले हमला गर्ने गरेर धेरै जानवर मारे । सिँहले त्यो सिकार बाँडन गधालाई अह्रायो । गधाले बराबर तीन भाग लगाएर बाँड्यो । गधाको बाँड्ने तरिका देखेर सिंह रिसायो । उसले एकै झापटले गधाको काम सिध्याइदियो । त्यसपछि उसले स्याललाई सिकारको भाग लाउन अह्रायो ।

स्यालले सबै सिकारको एउटा थुप्रो लगायो र त्यो भाग सिंहलाई टकार्‍यो । अर्को भागमा एकदुई वटा सिङ र पुच्छर राख्यो र आफूले लियो ।

यो देखेर सिंहले दंग पर्दै स्याललाई भन्यो । तँ त बडो बुद्धिमान रहेछस् । हो यस्तै गरी भाग लाउनु पर्छ । यस्तो राम्रोसँग भाग लाउन तँलाई कसले सिकायो ?"

स्यालले नरम हुँदै भन्यो, "भर्खरै गधाले सिकाएको हो, महाराज !"

१३५ चराहरूको राजा
एक पल्ट चराहरू आफ्नो राजा रोज्न जंगलमा भेला भए । मयुरले आफ्नो सुन्दर पखेटा फैलाएर सबैलाई मोहित गर्‍यो । सबै चराहरूले उसैलाई राजा बनाउने बिचार गरे । तर कोइलीलाई यो कुरा चित्त बुझेन । उसले मयुरसँग सोधी, "मयुर दाइ, तिमी राजा भयौ भने बाजले आक्रमण गर्दा कसरी हामीलाई जोगाउँछौ ?"

मयुरले जवाफ दिन सकेन । अरु चराहरूको मनमा पनि मयुरलाई राजा बनाउनु ठिक होला कि नहोला भन्ने शंका लाग्यो । आखिरमा उनीहरूले चिललाई राजा बनाउने निधो गरे ।

१३६ डाँग्रे र छाउरा
एउटा डाँग्रे कुकुरले हाडको टुक्रा भेट्टायो । ऊ मुखमा हाड च्यापेर जाँदै थियो । बाटामा छाउराहरूले उसलाई देख्यो । ती छाउराहरूले भुक्दै उसलाई लखेट्न थाले । डाँग्रेले एकै झापटमा ती छाउराहरूको काम सिध्याइदिन सक्थ्यो । तर उसलाई मुखको हाड गुम्ला भन्ने डर थियो । यसैले ती फुच्च छाउराहरूले लखेट्दा पनि ऊ भाग्यो ।

१३७ नक्कल गर्ने बोका
एक जना किसानले कुकुर र बोका पालेको थियो । किसान बाहिरबाट आउँदा कुकुरले पुच्छर हल्लाएर उसको स्वागत गर्थ्यो । किसानले उसको जिउ मुसार्थ्यो । अनि कुकुर खुशी भएर किसानको हात चाट्थ्यो । अनि ऊ किसानको काखमा बस्न जान्थ्यो । किसानले आफूले खाँदै गरेको रोटीको टुक्रा उसलाई पनि दिन्थ्यो ।

यो देखेर बोकालाई पनि किसानको माया पाउन मन लाग्यो । भोलि पल्ट किसान बाहिरबाट आउने बित्तिकै बोका पुच्छर हल्लाउँदै किसानको नजिक गयो । किसानले उसलाई वास्ता गरेन । बोकाले उसको हात चाट्यो । अनि किसान घरको पेटीमा बस्ने बित्तिकै बोका उसको काखमा बस्न गयो ।

बोकाको यस्तो चाल देखेर किसानलाई रिस उठ्यो । उसले बोकालाई लौरोले पिटेर गोठतिर धपाइदियो । अनि कुकुरलाई काखमा लिएर रोटी ख्वाउन थाल्यो ।

१३८ बाँदर र चराहरू
जाडो याम थियो । पानी पर्न लागेको थियो । बनमा बस्ने बाँदरहरू जाडोले आत्तिएर यताउता गर्न थाले । बाँदरहरूको दुःख देखेर रुखमा गुँड बनाएर बसेका चराहरूले भने, "हामी चराहरूको हातखुट्टा नभए पनि चुच्चाको भरले गुँड बनाएर न्यानोसँग बसिरहेका छौँ । तिमीहरूको हात खुट्टा छ तैपनि किन आफ्नो घर बनाउँदैनौ ?"

चराहरूको कुरा सुनेर बाँदरहरू रिसाए । चराहरूको सोझो सल्लाहलाई उनीहरूले आफ्नो खिल्ली उडाएको ठाने । अनि ती बाँदरहरूले रुखमा चढेर चराहरूको गुँड भत्काइदिए । कत्ति चराका चल्लाहरू मरे । कति फुल फुटे । बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि बिगारिदिन्छ भनेको यही हो । दुष्टलाई अर्ति दिँदा चराहरूको दुर्गति भयो ।

१३९ कुसंगतको फल
बाटोको छेऊमा चौतारी थियो । चौतारीमा थाकेका बटुवाहरूले आराम गर्थे । चौतारीको माझमा बर र पिपरका अजंगका रुखहरू थिए । ती रुखमा धेरै चराहरू बस्थे । त्यहाँ हाँस र कौवाहरू पनि बस्थे । एक पल्ट हाँस र कौवाबीच मितेरी भयो । उनीहरू दिनभरि मिठामिठा कुरा गर्दै बस्न थाले । चारो खोज्न पनि सँगै जान्थे ।

एक दिन घाम चर्केको बेलामा एक जना बटुवा पसिनाले निथ्रुक्क भिजेर आयो । चौतारीमा बस्यो । उसलाई निँद लाग्यो । त्यहीँ रुखको छाहारीमा पल्टियो । एक छिनपछि उसको मुखमा घाम पर्न थाल्यो । यो देखेर हाँसले रुखको हाँगामाथि बसेर पखेटा फिँजारेर उसको मुखमा छाया पारिदियो ।

यसरी आरामसँग निदाएको बटुवालाई देखेर कौवालाई उटुँग्याइँ गर्न मन लाग्यो । उसले बटुवाको मुखमा पर्ने गरी रुखको हाँगामाथिबाट विष्टा गर्‍यो । बिचरा बटुवा मुखमा चराको विष्टा परेपछि थुक्दै उठ्यो र माथितिर हेर्न थाल्यो । दुष्ट कौवा उडिसको थियो । तर हाँसले पखेटा फैलाएर छाया पार्दै थियो । तर बटुवाले हाँसलाई देखेर पक्कै पनि हाँसले नै उसको मुखमा विष्ट्याएको होला भन्ने ठानेर बाण हानेर दयालु हाँसलाई मारिदियो ।

माथि

१४० घोडा र सइस
एक जना सइसले घोडाको निक्कै चाकरी गर्यो । दिनमा धेरै पल्ट उसले घोडाको आंगमा बुरुस लाउँथ्यो । जिऊ मुसार्थ्यो । घोडाको जिउ टलक्क टल्काएर राख्थ्यो । तर उसले घोडाको दाना चोर्थ्यो । मालिकले घोडाको लागि दिएको सबै अन्न ख्वाउन्नथ्यो । घोडाले यो कुरा धेरै दिनसम्म सह्यो । तर एक दिन नभनी मन मानेन । उसले सइसलाई भन्यो, "मेरो जिउ मालिस गरेर टल्काएर मात्रै के गर्ने ? मलाई राम्रो अवस्थामा हेर्न चाहने भए मलाई मुसार्ने काम गर्नुको सट्टा खाने कुरा देऊ । भोको पेटले मालिकको सेवा कसरी गर्ने ?"

१४१ नक्कले कौवा
एक पल्ट जंगलमा चराहरूको राजा रोज्न सबै प्रकारका चराहरूको भेला भयो । सबैभन्दा राम्रो चरालाई राजा बनाउने भन्ने कुरा थियो । यसैले कौवालाई पिर पर्‍यो । भेला हुने दिन कौवाले जंगलबाट विभिन्न चराहरूको प्वाँख बटुल्यो र आफ्नो जिउमा ती प्वाँखहरू सजाएर राम्रो बन्ने प्रयास गर्‍यो ।

भेलामा सबै खालका चराहरूको प्वाँख बटुलेर सिँगारिएको अनौठो चरालाई देखेर अरु चराहरू छक्क परे । धेरैले त्यसैलाई राजा बनाउने बिचार गरे । तर जब कौवाको बोल्ने पालो आयो तब सबैले उसलाई चिने । उनीहरू कौवामाथि खनिए र कौवाको जिउमा सिँगारिएका प्वाँखहरू झिकिदिए । कौवा फेरि आफ्नै रूपमा आयो ।

१४२ ज्योतिषी
ज्योतिषीले सँधै ग्रहनक्षत्रहरूको बिचार गर्नुपर्थ्यो । यसैले ऊ जहिले पनि आकाशतिर हेरेर हिँड्थ्यो । एक दिन ऊ आकाशतिर हेर्दै हिँडदैथियो । बाटोमा खाल्टो रहेछ । ज्योतिषीले खाल्टो देखेन र त्यसैमा जाक्कियो । उसको जिउमा ठाउँठाउँमा घाउ भयो । उसले खाल्टो भित्रबाट चिच्याउँदै गुहार माग्यो । नजिकै एक जना बूढो किसान बस्थ्यो । किसानले ज्योतिषीले गुहार मागेको सुन्यो र खाल्टोछेऊ आएर हेर्‍यो । उसले आफूले चिनको ज्योतिषी खाल्टोमा खसेको देख्यो र मेहनत गरेर बाहिर झिक्यो ।

केही बेरमा ज्यातिषी होशमा आयो । अनि किसानले उसलाई भन्यो, "आकाशका ग्रहनक्षत्रको कुरा थाहा पाउने ज्योतिषी बाजे ! तपाइँले पृथ्वीको बिचारै गर्नु भएनछ । अनि त खाल्टोमा जाक्किनु भयो । माथिको कुरा मात्रै जानेर के गर्ने ?"

१४३ पाठोको बुद्धि
भेँडाको एउटा पाठो बथानबाट छुट्टिएर बनमा अल्मलियो । अचानक उसले परबाट ब्वाँसोलाई आफूतिर आइरहेको देख्यो । उसले ब्वाँसोबाट जोगिने उपाय सोच्न थाल्यो । उसले कत्ति पनि नआत्तिइकन ब्वाँसोलाई भन्यो, "ब्वाँसो महाशय, तपाईँ अरुभन्दा फरक हुनुहुन्छ भन्ने मलाई लाग्छ । हुन त अब म तपाइँको आहार बन्नुपर्छ भन्ने कुरामा शंका छैन । तर मैले तपाइँसँग एउटा कुराको आशा राख्छु । म मर्नुभन्दा पहिले मेरो घाँटीमा झुण्डिएको घण्टीको स्वर सुन्न चाहन्छु । कृपया यति कष्ट गर्नुहोला ।"

पाठोको कुरा सुनेर ब्वाँसो मख्ख पर्‍यो । उसले पाठोको घाँटीको घण्टी सकेसम्म जोडले बजाउन थाल्यो । हराएको पाठोको घाँटीको घण्टी सुन्ने बित्तिकै भेडा बथानका रक्षक सिकारी कुकुरहरू त्यहाँ आइपुगे । बिचरा ब्वाँसो घण्टी बजाउन तम्सेकोमा पछुताउँदै कुलेलम ठोक्यो ।

माथि

भाग १  भाग २  भाग ३  भाग ४  भाग ५  भाग ६

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of