a presentation of Dreams & Ideas

         
     
   

इसपका नीतिकथा

पाँचौँ भाग

१०१ सिंह र खरायो
एक पल्ट एउटा सिंहको जम्काभेट खरायोसँग भयो । खरायो सुतिरहको थियो । सिंहले खरायोलाई समात्नै लागेको थियो । अचानक उसले एउटा हरिण देख्यो । सिंह खरायोलाई छाडेर हरिणको पछि लाग्यो । यसैबीच खरायो जाग्यो र त्यहाँबाट कुलेलम ठोक्यो ।
धेरै बेरसम्म लखेट्दा पनि सिंहले हरिणलाई समात्न सकेन । ऊ खरायो भएको ठाउँमा फर्क्यो । खरायोलाई पनि नदेखेपछि उसले मनमनै भन्यो, "हातमा परेको खानेकुरा छाडेर ठूलो कुराको लोभ गर्दा फोस्सामा परेँ ।"

१०२ गोठभित्र चितुवा
एउटा भोको चितुवा गोठभित्र पस्यो । किसानले चितुवा समात्ने बिचारले गोठको ढोका थुन्यो । रिसाएको चितुवाले गोठका भेँडाहरू मार्‍यो । त्यसपछि गोरुहरूमाथि हमला गर्‍यो । अब किसान आफैमाथि चितुवाले हमला गर्ने डर भयो । उसले हत्तपत्त गोठको ढोका खोलिदियो र चितुवा भाग्यो ।

अनाहकमा भेँडा र गोरु नोक्सान भएकोमा किसान पछुतायो । तर यो सबै हेरिरहेकी उसकी पत्नीले भनी, "एक कोस पर चितुवा कराउँदा पनि डराउने तिमी डरछेरुवाले चितुवासँग एउटै गोठमा थुनिने आँट कसरी गर्‍यौ ?"

१०३ दुष्ट कुकुर
एउटा कुकुर साह्रै टोकाहा थियो । मानिस देख्ने बित्तिकै ऊ टोक्न दगुरिहाल्थ्यो । धेरै मानिसहरूले उसको गुनासो गरेपछि उसको मालिकले उसको घाँटीमा घण्टी झुण्ड्याइदियो । अब कुकुर कहाँ छ भनेर मानिसहरूले सजिलैसँग थाहा पाउन थाले ।

घाँटीमा घण्टी बाँधिएपछि कुकुर मख्ख पर्‍यो । मालिकले उसलाई माया गरेर इनाम दिएजस्तो लाग्यो । ऊ जहाँ गए पनि घाँटी हल्लाउँदै घण्टी बजाउँदै जानथाल्यो । यो देखेर एउटा बूढो कुकुरले उसलाई भन्यो, "किन यस्तो फुर्ती गरेर हिँडछस् ? तेरो घाँटीमा बाँधिएको घण्टी कुनै बहादुरीको चिनो होइन । न त त्यो कुनै गर्व गर्नुपर्ने बस्तु नै हो । त्यो त मानिसहरूले तँ आएको चाल पाउन् भनेर सूचना दिने साधन हो । त्यो घण्टी त तँ दुष्ट होस् भन्ने जनाउने सार्वजनिक सूचना हो बुझिस् । आफ्नो बेइज्जत हुने कुरालाई यसरी गर्वको रूपमा लिनु हुँदैन ।"


१०४ मुसा, भ्यागुता र चिल
मुसा सँधै जमिनमा बस्थ्यो । तर उसले पानी र जमिन दुबै ठाउँमा बस्ने भ्यागुतासँग मित लायो । एक दिन भ्यागुतालाई उटुँग्याइँ गर्न मन लाग्यो । उसले आफ्नो र मुसाको खुट्टा एकै ठाउँमा बाँध्यो । उनीहरू सँगसँगै उफ्रँदै चौरमा खानेकुरा टिप्न थाले । त्यसपछि भ्यागुताले मुसालाई बिस्तारै आफू बस्ने पँधेरातिर लग्यो । पँधेराको डिलमा पुगेर भ्यागुतो अचानक पानीमा फालहाल्यो । भ्यगुता सँगै मुसा पनि पानीमा पुग्यो । भ्यागुता पानीभित्र पसेर केके नै गरेँ भनेर दंग पर्दै खेल्न थाल्यो । तर मुसा पानीमा निसास्सिएर मर्‍यो ।

मरेको मुसा पानीमा तैरिरहेको देखेर आकाशमा उडिरहेको चिल तल झर्‍यो र मुसालाई पंजाले समातेर आकाशतिर लाग्यो । मुसाको खुट्टा भ्यागुताको खुट्टासँग बाँधिएको हुनाले भ्यागुता पनि मुसासँगसँगै आकाशमा पुग्यो । मुसा खान खोजेको चिलले भ्यागुता पनि खान पाएर दंग पर्‍यो । कुकर्म गर्दा यस्तै फल पाइन्छ ।

माथि

१०५ मयुर र सारस
मयुरको नजिकैबाट एउटा सारस हिँडिरहेको थियो । मयुरले आफ्नो सुन्दर पखेटा र पुच्छर फिँजार्‍यो र जिउमा कुनै बुट्टा र रंग पनि नभएको निख्खुर सेतो सारसलाई होच्याउँदै भन्यो, "हेर म राजाजस्तै गरी सिंगारिएको छु । इन्द्रेणीका सातै रंग र सुनौला रंगको बुट्टाले मेरो शरीर सजिएको छ । तिम्रो जिउमा हेर त रंगको एक थोपा पनि छैन ।"

"हो, तिमीले ठिक भन्यौ । तर म उडेर स्वर्गसम्म पुग्नसक्छु । मेरो स्वर ताराहरूले समेत सुन्न सक्छन् । तर तिमी सँधै यही जमिनमा, गोबरमा खेल्ने कुखुराहरूको बीचमा रमाएर बस्छौ । राम्रो प्वाँख हुँदैमा राम्रो भाग्य हुँदैन ।"

१०६ नुन व्यापारी र गधा
एक जना नुनु व्यापारी नुन किनेर गधामाथि लादेर गाउँतिर जाँदै थियो । बाटोमा खोला पर्थ्यो । खोला तर्दा संयोगले गधाको खुट्टा चिप्लिएर पानीमा बुड्यो । पानीबाट निस्कँदा गधाले आफ्नो भारी हलुँगो भएको चाल पायो । पानीमा भिजेर नुन पग्लेपछि भारी हलुँगो हुने नै भयो ।

व्यापारीले अर्को पटक पनि उसलाई नुनको भारी नै बोकायो । खोला तर्ने बेलामा ऊ आफै पानीमा पस्यो । केही बेर पानीमा बसेर उठ्दा उसको भारी स्वात्तै घट्यो । ऊ दंग परेर पानी बाहिर निस्क्यो । व्यापारीले गधाको चाल बुझयो ।

अर्को पटक व्यापारीले गधालाई काम्लोको भारी बोकायो । यस पल्ट पनि भारी हलुँगो बनाउने विचारले गधा पानीमा पस्यो । तर काम्लोले पानी सोसेर उसको भारी पहिलेभन्दा धेरै गह्रुँगो भयो । गधा आफ्नो चालले आफै फस्यो ।

१०७ मूर्ति व्यापारी
एक जना मूर्तिकारले देवताको मूर्ति बनाएर बजारमा बेच्न लग्यो । तर मूर्ति किन्ने ग्राहक नभेटेपछि ऊ मूर्तिको प्रचार गर्दै ठूलो स्वरले चिच्याउन थाल्यो, "भगवानको मूर्ति किन्नुस् । यो मूर्ति जसले घरमा राख्छ उसलाई फाइदै फाइदा हुन्छ । उसको धन सम्पत्ति बढ्छ । राम्रो जागिर पाउँछ । खेतीपाती सप्रन्छ । लौ किनिहाल्नुस् ।"

उसको नजिकै बसेर उसको कुरा सुनिरहेको एक जना मानिसले भन्यो, "यो मूर्ति यति गुणकारी भए तिमी आफैले घरमा किन राख्दैनौ ? तिम्रै भाग्य सप्रने थियो ।"

उसको कुरा सुनेर मूर्ति व्यापारीले भन्यो, "यो मूर्तिले बिस्तारै फाइदा दिन्छ । मलाई तुरुन्तै पैसाको खाँचो छ ।"

१०८ गोठालो र ब्वाँसो
एक जना गोठालोले ब्वाँसोको पाठो भेटायो र घरमा ल्याएर पाल्न थाल्यो । उसले पाठोलाई छिमेकको कुखुरा र भेडाका पाठा चोर्न सिकायो । उसले पनि चाँडै नै चोर्न जान्यो । एक दिन ब्वाँसोको पाठोले गोठालोसँग भन्यो, "तिमीले मलाई चोर्न सिकाएको हुनाले अब तिमी पनि चनाखो हुनुपर्छ । नत्र तिम्रै भेँडाको पाठो हराउला ।"

१०९ बिरामी हरिण
एउटा हरिण बिरामी भएर चौरको एउटा कुनामा एक्लै बसिरहेको थियो । उसका साथीहरू उसको हालखबर बुझन आए । जोजो आए प्रत्येकले उसको घाँसको केही भाग खाएर गए । भेट्नेहरू यति धेरै आएकि उसको खानेकुरा नै बाकी रहेन । केही दिनपछि हरिण मर्‍यो । तर ऊ बिरामी परेर होइन भोकले मर्‍यो । खराब साथीहरू भयो भने यस्तै हुन्छ ।

११० भाले मारी पछुतो
एउटी महिलाको घरमा दुइटी नोकर्नी थिए । महिलाले नोकर्नीहरूलाई भालेको डाकमा उठाउँथिन् र दिनभरि काममा जोताउँथिन् । बिहान सबेरै भाले बास्ने बित्तिकै उठ्नु पर्दा उनीहरूलाई साह्रै गाह्रो लाग्थ्यो । यसैले उनीहरूले भालेलाई मार्ने निधो गरे । एक रात उनीहरूले भालेको घाँटी निमोठिदिए ।

तर भाले नभएपछि ती महिलालाई समयको अडकल हुन छाड्यो । अब उनले भाले बास्नुभन्दा धेरैपहिले नै उनीहरूलाई उठाएर काममा लगाउन थालिन् ।

माथि

१११ दाउरे र जल देवता
एक जना दाउरे खोलाको छेऊमा रुख काटिरहको थियो । अचानक उसको हातबाट रुख काट्ने बंचरो खोलामा खस्यो । खोला गहिरो थियो । यसैले उसले बंचरो भेट्टाउन सकेन । दाउरा काट्न पाएन भने ऊ भोकै बस्नुपर्थ्यो । यसैले खोलाको छेऊमा बसेर ऊ रुन थाल्यो । उसको दुःख देखेर जल देवता उसको अगाडि आए र किन रोएको भनी सोधे । दाउरेले रुनुको कारण बतायो । त्यसपछि जलदेवता पानीभित्र पसे र सुनको बंचरो हातमा लिएर देखाउँदै दाउरेसँग तिम्रो बंचरो यही हो कि भनी सोधे ।

दाउरेले हातमा सुनको बंचरो लियो र ओल्टईपल्टाई हेरेपछि भन्यो, "यो मेरा बंचरो होइन । मेरो बंचरो त फलामले बनेको थियो ।"

यो सुनेर जल देवता फेरि पानीमा पसे । यस पटक उनले चाँदीको बंचरो हातमा लिएर आए । दाउरेले फेरि त्यो बंचरो लिएर हेर्‍यो र यस पटक पनि त्यो बंचरो मेरो होइन भनेर फर्कायो ।

अनि जल देवता फेरि पानीमा डुबे र फलामको बंचरो लिएर आए । आफ्नो बंचरो देखेर दाउरे दंग पर्‍यो । उसले बंचरो लिँदै जल देवतालाई धन्यवाद दियो ।

दाउरेको इमान्दारीबाट प्रभावित भएर जल देवताले उसलाई सुन र चाँदीको बंचरो पनि उपहार दिए ।
घर फर्केर दाउरेले बनमा भएको घटना साथी र छिमेकीहरूलाई पनि सुनायो । उसको कुरा सुनेर अर्को दाउरेले तुरुन्तै बनमा गएर सुनको बंचरो हात पार्ने बिचार गर्‍यो । उसले जानीजानी खोलामा बंचरो फाल्यो र खोलाको छेऊमा बसेर रुन थाल्यो । जल देवता आएर किन रोएको भनेर सोधे । उसले आफ्नो बंचरो पानीमा खसेको कुरा सुनायो । जल देवता पानीमा पसे र हातमा सुनको बंचरो लिएर बाहिर आए । "तिम्रो बंचरो यही हो ?" जल देवताले सोधे । लोभी दाउरेले हत्तपत्त भन्यो, "हो, मेरो बंचरो यही हो ।"

दाउरेको लोभ र बेइमानी देखेर जल देवता रिसाए । उनी सुनको बंचरो लिएर पानी भित्र पसे र दाउरे जत्ति रोए कराए पनि निस्केनन् । दाउरेले आफ्नो फलामको बंचरो पनि गुमायो ।

११२ गधा र गधाको ग्राहक
एक जना मानिसलाई गधा किन्न मन लाग्यो । गधाको मालिकसँग उसले गधा घर लगेर जाँचेर राम्रो लाग्यो भने किन्छु भन्यो । गधाको मालिकले उसको कुरा मंजुर गर्‍यो ।

मानिसले गधा घर लग्यो र अरु गधाहरूलाई राखेको तबेलामा छाडिदियो । त्यो गधा अरु सबै गधालाई छाडेर तबेलाको सबैभन्दा अल्छी र खंचुवा गधाको छेउमा गयो र भुस खान थाल्यो ।

यो देखेर मानिसले गधा उसको मालिकलाई फर्काइदियो । यति चाँडै गधा कसरी जाँच्यो होला भनेर गधाको मालिक छक्क परेर ऊसँग सोध्यो । उसले जवाफ दियो, "मैले अरु जाँच गर्नै परेन । उसले जस्तो साथी राज्यो ऊ पनि त्यस्तै होला भन्ने मैले अडकल गरिहालेँ । जसले पनि आफूजस्तै साथी रोज्छ भनेको साँच्चै हो ।"

११३ सूर्यको विरुद्ध भ्यागुताको उजुरी
एक पल्ट सूर्यले बिहे गर्ने विचार गरेको कुरा सबैलाई सुनायो । यो कुरा सुनेर भ्यागुताहरूले आकाशलाई गुनासो गरे । भ्यागुताहरूको ट्यारट्यार सुनेर वाक्क भएका देवताले उनीहरूसँग किन सूर्यको विरुद्ध गुनासो गरेको भनेर सोधे । एउटा भ्यागुता अगाडि सरेर भन्यो, "सूर्य एक्लो हुँदा त उसले हाम्रो पोखरी, पँधेरा, ओसिलो जमिन सुकाइदिन्छ र हामी सुख्खा र गर्मीले अकालमा मर्नुपर्छ । अब सूर्यले बिहे गरेर अर्को सूर्य जन्माएपछि हाम्रो हालत के होला ?"

माथि

११४ भेँडाको पाठो र ब्वाँसो
एउटा ब्वाँसोले भेँडाको पाठोलाई पछ्यायो । पाठो भाग्दै एउटा मन्दिरभित्र पस्यो । ब्वाँसोले पाठोलाई बाहिर बोलाउँदै भन्यो, "पुजारीले भेट्टायो भने तँलाई बली दिनेछ । त्यसैले बाहिर आइज ।" त्यसको जवाफमा पाठोले भन्यो, "तेरो आहारा बन्नु भन्दा त मन्दिरमा बली चढ्नु बेस ।"

११५ सिंह र गोठालो
एउटा सिंह जंगलमा घुम्दै थियो । उसको खुट्टामा काँढा बिझ्यो । ऊ खोच्याउँदै हिँडदै थियो । त्यही बेला उसले एक जना गोठालोलाई देख्यो । उसले पुच्छर हल्लाउँदै गोठालोलाई बडो मायालाग्दो स्वरले बोलायो । मानौँ उसले भन्दै थियो, "म दुःखमा परेको छु । मलाई तिम्रो मदत चाहिएको छ ।"

गोठालोले आँट गरेर उसको नजिक गयो र उसको खुट्टा जाँच्यो । उसको पंजामा गडेको काँढा भेट्टायो । उसले सिंहको पंजालाई आफ्नो काखमा राखेर त्यहाँ गडेको काँढा झिकिदियो । त्यसपछि सिंह कृतज्ञ हुँदै जंगलतिर लाग्यो ।

केही समयपछि एक पल्ट त्यही गोठालो झुटो आरोप लागेर पक्रियो । उसलाई उसले गर्दै नगरेको अपराधबापत सिंहको आहार बनाउने सजाय सुनाइयो । तर सिंहको खोरमा उसलाई राख्दा सिंहले उसलाई चिन्यो । त्यो त्यही सिंह थियो जसको खुट्टाबाट गोठालोले काँढा झिकिदिएको थियो । सिंहले उसलाई हमला गर्नुको सट्टा उसको नजिक गएर आफ्नो पंजा उसको काखमा राखिदियो ।

यो कुरा राजाकहाँ पुग्यो । राजाले गोठालोको कुरा सुनेपछि सिंहलाई बनमा लगेर छाडिदियो र गोठालोलाई पनि माफी दियो ।

११६ सिंह र हात्ती
भाले बासेको सुनेर सिंह डराउँथ्यो । यो कुरा उसको बल र स्वाभिमानलाई सुहाउने कुरा थिएन । सिंहले सोच्थ्यो, "म सबैभन्दा बलियो छु । सुन्दर र फुर्तिलो पनि छु । हमला गर्न बेजोड छु । मेरा दाँतहरू र पंजाहरू पनि बलिया छन् । मलाई सबैले बनको राजा मान्छन् । यस्तो हुँदाहुँदै पनि मलाई कुखुराको भालेले तर्साउँछ । यो त साह्रै लाजमर्नु कुरा हो ।" यस्तो बिचार आउँदा उसलाई कहिलेकाहीँ मर्न मन लाग्थ्यो ।

यस्तो पिर लिएर सिंह बनमा घुमिरहेको बेलामा उसको भेट हात्तीसँग भयो । हात्ती र सिंहको बीचमा भलाकुसारी भयो । हात्तीले कुरा गर्दैगर्दा उसले लगातार कान हल्लाइरहेको देखेर सिंहलाई अचम्म लाग्यो । उसले हात्तीसँग किन यसरी एकछिन पनि नबिराइकन कान हल्लाइरहेको भनेर सोध्यो ।

त्यही बेला हात्तीको निधारमा एउटा भुसुना बस्यो । अनि हात्तीले जवाफ दियो, "तिमीले देखेनौ यो सानो भुसुना किरालाई । यो भुसुना मेरो आँखामा पस्यो भने मैले केही पनि देख्दिन अनि म मर्छु ।"

हात्तीको कुरा सुनेर सिंहले भन्यो, "यति विशाल जीव पनि त्यति सानो भुसुनासँग डराउँछ भने मैले कुखुरासँग डराउनुमा दुःख मान्नुपर्ने कारण नै छैन । अब मेरो कुनै गुनासो छैन । म त हात्तीभन्दा धेरै राम्रो अवस्थामा रहेछु ।"

११७ सिकारी र तित्रा
एउटा तित्रा सिकारीको पासोमा पार्‍यो । तित्राले आफूलाई नमार्न बिन्ती गर्दै सिकारीसँग भन्यो, "दया गरेर मलाई नमार्नु होस् । यसको बदलामा मैले अरु धेरै तित्राहरूलाई बोलाएर तपाईँको पासोमा पार्न सघाउनेछु ।"

तित्राको कुरा सुनेर सिकारीले भन्यो, "तैँले आफ्ना दाजुभाइ र आफन्तहरूलाई फँसाएर आफ्नो ज्यान जोगाउन खोज्दैछस् । त्यसैले तेरो ज्यानलाई अब सास्ती दिईदिई मार्नुपर्छ ।"

११८ किसान र स्याउको बोट

किसानको बारीमा स्याउको एउटा बोट थियो । त्यसमा फल फल्न छाडेको थियो । रुखमा चरा र किराफटेंग्रा मात्रै बस्थे । यसैले किसानले त्यो रुख काट्ने निधो गर्‍यो । उसले बंचरोले रुख काट्न खोज्दा चरा र किराहरूले किसानसँग रुख नकाट्न अनुरोध गरे । उनीहरूले किसानलाई मिठो गीत सुनाएर उसको थकाइ मेटिदिने बाचा गरे । तर किसानले उनीहरूको कुरा मानेन । उसले रुख काट्न थाल्यो ।

यसरी दुईतीन चोट हानेपछि रुखको फेँदमा एउटा प्वाल भेट्टियो । त्यो प्वाल रुखको फेँदमा भएको ठूलो टोड्कोको मुख रहेछ । टोडकोमा मौरीको घार रहेछ । अनि घारमा ताजा, बाक्लो सुनौला रंगको मिठो मह रहेछ । मह चाखेर किसान दंग पर्‍यो । उसले बंचरो बिसायो र वपरिपरि ढुंगा र माटो राखेर रुखलाई जोगाउने उपाय गर्न थाल्यो । केही मानिसहरू आफ्नो फाइदाका लागि मात्रै अरुको भलो गर्न तम्सन्छन् ।

माथि

११९ बाख्रीको दाढी
बाख्रीहरूले देउतासँग पुकारा गरेर दाढी पाए । यो कुरा बोकाहरूलाई मन परेन । उनीहरूले पोथी जातीलाई सम्मानको चिन्ह दिएकोमा देउतासँग गुनासो पोखे । बोकाहरूको कुरा सुनेर देउताले भने, "उनीहरूको दाढी भएर के भयो । यो त खोक्रो सम्मान हो । वास्तवमा बलिया र साहसी त तिमीहरू नै छौ । आफूभन्दा कमजोरहरू बाहिर देखावटी रूपमा आफू बराबर देखिएर के भयो र !"

१२० भाले र चोरहरू
केही चोरहरू एउटा घरमा पसे । तिनीहरूले घरमा कुखुराको एउटा भालेबाहेक केही भेटाएनन् । तिनीहरूले त्यही भाले चोरेर लगे । चोरहरूले भालेलाई काट्ने बेलामा भालेले चोरहरूसँग आफूलाई नमार्न बिन्ती गर्दै भन्यो, "मलाई नमार्नुस् । किनकि म मानिसहरूका लागि निक्कै काम लाग्ने चरा हुँ । मैले मानिसहरूलाई सबेरै जगाएर काममा लाग्न प्रेरित गर्छु ।"

चोरहरूले भने, "त्यही कारणले त हामीले तँलाई मार्न लागेको हो । तैँले मानिसहरूलाई जगाइदिँदा हाम्रो काममा बाधा पर्छ । हाम्रो काम नै बिफल हुन्छ ।" राम्रो गुण पनि दुष्टहरूका लागि बैगुन हुन्छ ।

१२१ मानिसका दुइटा झोला
एउटा पुरानो लोककथाको भनाइअनुसार हरेक मानिस जन्मदा आफूसँग दुइटा झोला लिएर जन्मन्छ । एउटा झोला उसको अगाडितिर झुण्डिएको हुन्छ र अर्को झोला पछाडितिर हुन्छ । अगाडिको झोलामा उसको छिमेकीहरूका बैगुनहरू भरिएको हुन्छ भने पछाडिको झोलामा उसका आफ्नै बैगुनहरू भरिएका हुन्छन् । यसै कारण उसले छिमेकीका बैगुनहरू तुरुन्तै देख्छ तर आफ्ना बैगुनहरू दैख्नसक्तैन ।

१२२ घोडा र घोडी
एक जना किसानले एउटा घोडा र एउटी घोडी पालेको थियो । घोडाले दिनभरि खेतमा हलो जोत्थ्यो भने घोडी चौरमा घाँस खाँदै खेलिरहन्थी । घोडा राती मात्रै चौरमा चर्न पाउँथ्यो । एक दिन घोडीले घोडालाई भन्यो, "किन तिमी यति धेरै मेहनत गर्छौ ? तिम्रो ठाउँमा म भएको भए मैले यस्तो मेहनत गर्ने थिइन । किसानले मलाई कार्रा लायो भने मैले लात्तले हान्ने थिएँ ।"

घोडालाई घोडीको सल्लाह चित्त बुझयो । भोलि पल्ट उसले त्यस्तै गर्‍यो । घोडा अटेर भएको देखेर किसानले त्यसको ठाउँमा घोडीलाई हलो जोत्न लगायो ।"

१२३ ब्वाँसो र लोखर्के
एक पल्ट एउटा लोखर्के रुखका हाँगाहरूमा उफ्रँदै खेल्दै गर्दा झुक्किएर सुतेको ब्वाँसोमाथि खस्यो । ब्वाँसोले उसलाई समातेर खान खोज्यो । लोखर्केले उसलाई नमार्न ब्वाँसोसँग बिन्ती गर्‍यो । ब्वाँसोले भन्यो, "हुन्छ । म तिमीलाई छाडिदिउँला तर मलाई एउटा कुरा भन त । हामी ब्वाँसोहरू सँधै यस्तो दुःखी छौँ । तर तिमीहरू भने सँधै दंग परेर खेलि रहन्छौ ।"

लोखर्केले भन्यो, "पहिले मलाई रुखको हाँगामाथि जान देऊ अनि त्यहाँबाट मैले मेरो सुखको रहस्य भनुँला ।"

ब्वाँसोले उसलाई छाडिदियो । लोखर्के रुखको हाँगामाथि पुग्यो र त्यहीँबाट ब्वाँसोलाई भन्यो, "तिमी जहिले पनि अरुको कुभलो चिताइरहन्छौ । खराब विचारले गर्दा तिम्रो मुटु पोलिरहन्छ । यसैले तिमी सँधै दुःखी हुन्छौ । हामी लोखर्केहरू कसैको कुभलो चिताउँदैनौँ । जसलाई पनि सघाउन खोज्छौँ । यसैले हामी सँधै सुखी हुन्छौँ ।"

१२४ मुसा, भाले र बिरालो
एउटा सानो मुसा बाहिर घुम्न निस्केको थियो । घरको वरिपरि घुमेर फर्केपछि उसले आफ्नी आमालाई भन्यो, "आमा, आमा, मैले दुइटा जीवहरू देखेँ । तीमध्ये एउटा डरलाग्दो थियो । अर्को दयालु देखिन्थ्यो ।"

"ती जानवर हेर्दा कस्ता थिए बाबु ?" आमाले सोधी ।
सानो मुसाले जवाफ दियो, "एउटा डरलाग्दो थियो । ऊ छाती तन्काएर हिँडिरहेको थियो । उसको टाउकोमा रातो सिउर थियो । उसका पंजा मसिना र तीखा थिए । उसका आँखा गोलो थिए । नाख तीखो थियो । मलाई देख्ने बित्तिकै उसले एउटा खुट्टा उचालेर बेस्सरी करायो । म त डराएर भागेँ ।"

"ए, त्यो त कुखुराको भाले हो," मुसाकी आमाले भनी, "त्यसले कसैको कुभलो गर्दैन । त्योसँग डराउनु पर्दैन । अर्को जन्तु कस्तो थियो नि ?"

"अर्को सुधो जानवर पल्टेर घाम तापिरहको थियो । उसको घाँटी सेतो थियो । जिउभरि कालो र सेतो टाटेपाटे कमलो भुत्ला थियो । खुट्टा पनि नरम थिए । जिब्रोले जिउ चाटिरहको थियो । मलाई देखेर उसले लामो मसिनो पुच्छर बिस्तारै हाल्लायो ।" सानो मुसाले भन्यो ।

उसको कुरा टुंगिन नभ्याउँदै आमा मुसाले भनी, "ए बाबु, त्यो त बिरालो हो । त्यो त हाम्रो सबैभन्दा ठूलो शत्रु हो । त्यसबाट सँधै टाढा बस्नुपर्छ, नत्र एकै गाँस पार्छ ।"

१२५ बिरालोको घाँटीमा घण्टी
एउटा बिरालोले मुसाहरूलाई सखाप पार्दै थियो । मुसाहरूको वंशै नाश हुने डर थियो । संकट टार्न मुसाहरूको बैठक बस्यो । बिरालोबाट कसरी जोगिने भन्ने विषयमा धेरै बेर छलफल भयो तर कुनै काम लाग्ने उपाय निस्केन ।

आखिरमा एउटा सानो मुसाले उपाय निकाल्यो । उसले भन्यो, "बिरालो चाल मारेर आएको हामीले थाहै पाउँदैनौँ । हामीसँग भाग्ने समय नै हुँदैन । यसैले हामी मारिन्छौँ । यदि बिरालो नजिक आएको थाहा पाउन पाए हामीले भाग्ने समय पाउँने थियौँ । अनि हाम्रो ज्यान जोगिन्थ्यो । यसैले मेरो बिचारमा बिरालोको घाँटीमा घण्टी झुण्ड्याइदिन पाए त आनन्दै हुन्थ्यो । ऊ आएको कुरा घण्टीले थाहा हुन्थ्यो र भाग्न पाइनेथियो ।"

उसको सुझाव सुनेर एउटा बूढो मुसाले भन्यो, "तिम्रो सुझाव अति राम्रो छ । तर बिरालोको घाँटीमा कसले घण्टी बाँध्ने ? तिमी आफै अगाडि सरेर घण्टी बाँध्ने काम पनि गर्‍यौ भने हामीले तिमीलाई स्याबासी दिन्छौँ ।"

माथि

भाग १  भाग २  भाग ३  भाग ४  भाग ५  भाग ६

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of